समकालीन नेपाली साहित्यमा लेखक  हेम प्रभास एक स्थापित नाम हो ।  बहुआयामिक व्यक्तित्वको धनी उहाँको  कविताहरुले सधैं  समाज र सत्ताको बेथितिको बिरोधमा प्रश्न गरिरहेको हुन्छ भने बिचारको आरोह अवरोहहरु निक्कै शुक्ष्मरुपमा उहाँको लेखनीमा आईरहेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता ।

आँसु नसुहाउने आँखा
संसारका कुनै चित्रकारले पनि
निर्माण गर्न नसक्ने
चम्किला आँखा छन् तिमीसँग
र, ती आँखामा आँसु सुहाउँदैन ।

रङहरूको अङ्कमाल
पहाडमा हिँडिरहेको गुराँस
पैयूँ मुस्कुराएको बैंस
छालहरूको मौनता
कुहिरोको च्यादरले ढाकेको पर्वत
सबै सुहाउँछन् ती आँखामा
तर, आँसु सुहाउँदैन ।

म त उनिउँ हुँ, फुल्न सक्दिनँ
कतै म फुलेँ भने
तिमीले हाँगा भाँचेर लैजानू
फुलेको तिमीलाई सुहाउँछ
मलाई सुहाउँदैन ।

आँगनडिलमा ओइलिन लागेको
जुहीजस्तो तिमी मलिन नहूनू
हृदयको दराजभित्र थुनिएका
बैजनी सपनाहरूलाई
आँखामा ल्याएर नपोख्नू
ती आँखामा आँसु सुहाउँदैन ।

तिम्रो आँखा त
चङ्गाचङ्गा उडेको
निलो आकाश बास बस्ने ठाउँ हो
रमझमको झोला बोकेर
पर्वहरू आइपुग्ने ठाउँ हो
लाजले रातैपहेँलै भएका
फूलहरू समेट्ने ठाउँ हो
यसरी नभिज्नू तिमी आँसुको झरीले
बाहिर जाडो छ
मनको बाक्लो डसनामा पल्टिनू ।

अर्चनाको थालीमा
चुहिन नदेऊ आफ्ना आँखाहरू
समयले कोरेको मौनताको बाटोमा
कति हिँडिरहन्छौ एक्लै ?
मेटिदेऊ- छालाका पातहरूमा लेखिएको
समर्पणको नाम
बिर्सिदेऊ- छुटिसकेका पुराना यादहरू
ती आँखामा आँसु सुहाउँदैन ।

मन्दिर अगाडि तमसुक पढ्दै
देखेकै छौ-
यो बाटो मन्दिरदेखि
सिधै महलतिर गएको छ
झुपडीतिर गएको छैन ।

म उभिएको छु-
मन्दिर अगाडि
तमसुक समाएका
हातहरू काँपिरहेछन्
जो, बोल्न खोज्छु ओठबाट
खडेरी परेका छन् शब्दहरूमा !

दुःखको भिरजस्तो निधार हेर !
भिरबाट रसाएका
पसिनाको खोल्सी हेर !
म उभिएको छु जमिनमा
कि उभ्याइएको छ मलाई ?
कसले लेखेको हो यो तमसुक ?
र, को को थिए साक्षीहरू ?

“के लेखिएको छ त्यहाँ ?” भनेर
प्रश्न नसोध मलाई
बरु, मेरा आँखा फोडिदेऊ
म यो प्रश्नको उत्तर दिन सक्दिन
बरु, चढाइदेऊ मेरो बली
यही मन्दिरमा
र, बनाइदेऊ मलाई लास
एकदिन त
तिमी पनि लासै हुने हो !
तिमीलाई जलाउन पनि
मान्छे नै चाहिएला
मान्छे विरुद्धको तमसुक
म पढ्न सक्दिन ।

अब म पनि घर जान्छु
म एउटा रङहीन मान्छे
यो अत्याधुनिक संसारको
इन्द्रधनुष हेर्न सक्दिन ।

बिरानो ठाउँमा गुलाब रोप्दारोप्दै
काँडाले घोचेर हत्केलामा
बनेको छ गुलाबको चित्र
यही लिएर फर्कन्छु
अब म पनि घर जान्छु ।

मैले कति बगाएँ
यो माटोमा पसिनाको अत्तर !
मेरो जिन्दगीलाई
यहाँको माटोमा दर्ता गर्दिन
घरै जान्छु
आज रुन देऊ मलाई
जमेका आँसु पग्लन देऊ
घर पुगेपछि म रुने छैन ।

पर्खिरहेका छन् मलाई
सुकिला जामाजस्ता हिमालहरूले
ताराहरूको अर्गानिक टुकी बालेर बसेको
मेरो देशको अलिकति आकाश उतै छ
उही इँटा, उही आयतन
तर, फरक हुँदोरहेछ
देवालय र शौचालयमा ।

म आफ्नै पहाडमा पाइला बजाएर
जीवनको धुन खोज्छु
भेट्छु बालकहरूलाई
जो कोरिरहेका छन् गोठालो जाँदा
हरिया पातहरूमा देशको नक्सा ।

सामुद्रिक छालहरूको आतङ्कले
खण्डित सपनाहरूलाई
आफ्नै घरमा पुगेर सिलाउँछु
उनिउँको ढाँठको चस्मा लगाउँछु
गाउँले सुसेलीमा मन बिसाउँछु
आफ्नै पखेटाले आकाश बनाउँछु
र, पाइलाले धर्तीको सिर्जना गर्छु ।

आज पाएँ मैले
विदेशी साथीबाट उपहारमा
आफ्नै देशको झन्डा
यही झन्डा छातीमा टाँसेर
अब म घर जान्छु ।

तपाईको प्रतिक्रिया