पछिल्लो पुस्तामा मिहिन रुपमा  बिषयबस्तु माथि सचेत भएर कविता लेख्ने मध्ये एक राम्रो  सम्भावना बोकेको कवि साङ्केन बान्तावाको कविताहरुले शालिन बिद्रोह प्रस्तुत गरेका हुन्छन् ,  एक कविको रुपमा उहाँले आफ्ना कवितामार्फत मानविय संवेदनालाई निक्कै मिहिन रुपमा कविताहरुमा प्रस्तुत भएको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

तिमी नै भनिदेऊ

इन्द्रेणी सपनाको पुलमा

पिङ खेलिरहन्छ जिन्दगी

कति पटक खस्न दिऊँ ?

आफ्नै आँखाको तप्केनीहरुमा !

विद्रोही पाइला टेकेर

बेतोड दौडिन्छ जिन्दगी

कति पटक ठोक्किन दिऊँ ?

आफ्नै मनको परिधिहरुमा !

म जन्मिदा यस धर्तीमा

प्रश्न सोधियो–

छोरा कि छोरी ?

जवाफ दियो कसैले–

‘लौ छोरी जन्मेछ हारेको जात फुटेको कर्म !’

मेरो जन्मलाई

मिथ्या अभियोग लगाइयो

के गर्भमै छोरी हुनुको अपराध गरेर

आएकी हुँ म ?

त्यही समयदेखि हिँडिरहेछु

निर्लज्ज पितृसत्ताको

मजबुद आलिङ्गन भत्काएर

खोज्नु छ

विभेदको ब्ल्याकहोलभित्र

युगौँदेखि हराइरहेको सखीहरु

सार्वजनिक गर्नु छ

बाह्र हाते साडी र डेढबित्ते स्कर्टका डिजाइनरहरु

जसले–

बजारीकरण गर्दैछ मेरो शरीर

टाङ्दैछ मलाई

बहुराष्ट्रिय कम्पनीका होर्डिङ बोर्डमा

सार्वजनिक गर्नुछ–

जसले बनाएका छन् यति बिघ्न

विभेदका पिरामिडहरु

यस्तो बेला मेरो अगाडि

रातो गुलाव बोकेर उभिरहेछौ–

स्वघोषित स्वाधीन पुरुष !

यही गुलाब सिउरी दियौ भने चुल्ठोमा

गुलाब र चुल्ठो दुबै मेरो हो भन्न थाल्नेछौ

जुन कुरा मेरो चेतनाले

कदापि स्वीकार्दैन

 

त्यसैले तिमी नै भनिदेऊ

निशन्देह कसरी छाम्न सक्छु म

कति न्यानो छ तिम्रो छाती ?

वर्षौंदेखि स्वतन्त्र सपनाको चिहान खनेर

म तिम्रो प्रेममा कसरी मरुँ ?

तिमी नै भनिदेऊ…

उज्यालोको सहिद

मैले भनेँ–

हेर, रात उज्यालो छ !

तिमीले भन्यौ–

यो उज्यालो उहिल्यै सहिद भइसकेको

ताराहरुको हो ।

मैले भनेँ–

तर चम्किरहेकै छ…

तिमीले भन्यौ–

अँध्यारोमा चम्किएको देख्नु भ्रम हो,

उज्यालोमा तिनीहरु सहिद हुन्छन् ।

झस्किदै तिम्रो आँखामा हेरेँ–

म त्यहाँ चम्किरहेकी थिएँ,

भन–

के यो भ्रम हो !

कि म सहिद भइसकेँ ?

सम्बन्ध

न्यानो घामभन्दा धेरै न्यानो छ

चिसो हिउँभन्दा पनि चिसो छ

तिम्रो मुहारमा

कोमल मुस्कान होस्

या कठोर घृणा

तिम्रो हृदयमा

तरल भावहरुको लहर होस्

या कपटको गहिरो चिरा

यद्यपि म तिमीलार्ई माया गर्छु ।

मलार्ई लाग्दैन

तिमी र म जोखिने त्यस्तो

तराजु पनि छ

जसले विश्वसनीय परिणाम देओस्

अस्तित्वको तराजुमा

तिमी आफू मात्र

गह्रौ भएर ढल्किन चाहन्छौ

म निस्पन्ध वस्तु मात्र हुन सक्दिन

तिमी साह्रै सचेत भएर

पीडाबोधको अभिनय गर्दछौ

आफू पुगेर माथि भर्याङ झिकी

मलार्ई तान्ने अभिनय गरिरहन्छौ

तिमी डराउँछौ !

र त,

मलार्ई लडाएर एक कदम

अगाडि उभिन चाहन्छौ

तर म तिमीलार्ई माया गर्छु !

मेट्न चाहन्न ।

एउटै टाउकाको दुई भाग

मस्तिष्क जस्ता हामी

एउटै शरीर बोकेर

अनन्त यात्रारत

दुई खुट्टाजस्ता हामी

हिँड्न अघि बराबर उभेथ्यौ

पुगेर कतै बराबर उभिनेछौँ

कस्तो भ्रम यो तिम्रो ?

ठान्दछौ कि, तिमी अगाडि छौ !

हो, सँगै थियौँ हामी

सदीयौँदेखि

तर सधैँ सँगै भएर पनि

कहिल्यै हुन सकेनौँ बराबर !

तिमीलार्ई थाहा छ ?

के हुनेछ ?

यदि मैले पनि तिमीलार्ई

घृणा गर्न थाले भने !

यद्यपि म तिमीलार्ई माया गर्छु

तपाईको प्रतिक्रिया