जुन समयमा नेपाली गीतसंगीतमा महिलाहरुको उपस्थिति निकै न्यून थियो । उहाँ त्यही समय गायिका बन्ने सपना बोकेर काठमाडौं आउनुभयो तर त्यो सपना विभिन्न कारणले पूरा हुन सकेन , यहाँ  आफै चुपचाप बस्नुभयो । तर करिब तीन दशकपछि उहाँ  फेरि नयाँ गीतको साथ आउनु भएको छ ।  निकै फरक किसिमको अवाजको धनी लिलाले ” मलाई  खुशी दिने मेरो मायालु ” गीत सहित फेरि यो क्षेत्रमा फर्कनु भएको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी ।

तपाईंलाई “लिला सुब्बा” वा “गायिका लिला सुब्बा” भनेर बोलाउँदा राम्रो लाग्छ, कि अरू कुनै नामले ?

मेरो नाम लिला लिम्बु हो। मेरो जन्मघर सुनसरीमा पर्छ। मलाई “लिला लिम्बु” भनेर बोलाउँदा नै राम्रो लाग्छ। करिब ३३–३४ वर्षअघि गायिका बन्ने ठूलो सपना बोकेर म काठमाडौं छिरेकी थिएँ। तर विभिन्न कारणले त्यो सपना पूरा हुन सकेन। त्यसैले अहिलेका लागि “लिला लिम्बु” भनेर चिनिनु नै मलाई ठीक लाग्छ।

तपाईं करिब २० वर्षपछि आफ्नो गीत लिएर आउनुभएको छ। यति लामो अन्तरालपछि फेरि गीत–संगीतमा फर्किनु कस्तो अनुभव रह्यो?

यसपटक चुपचाप तीनवटा गीत रेकर्ड गरेर आउँदा मलाई कस्तो अनुभूति भयो भने, म गायिका भएर गीत गाएको भन्दा पनि जीवनको एउटा अधुरो काम र पुरानो रहर पूरा गरेजस्तो लाग्यो। साँच्चै भन्नुपर्दा, ३३–३४ वर्षपछि कसैलाई खासै थाहा नदिई, कुनै हल्ला नगरी नेपाल गएको बेला एउटा धेरै पुरानो गीत कभर गरेँ, जुन मेरो बाल्यकालदेखिको रहरको गीत थियो। बाँकी दुईवटा गीत भने आफ्नै हुन्। तीमध्ये एउटा गीत त ३३–३४ वर्ष अघिदेखि अधुरो रहेको गीत थियो, त्यसलाई अहिले रेकर्ड गरेर ल्याएकी छु। अर्को भने नयाँ गीत हो। कहिलेकाहीँ जीवनमा यस्तै परिस्थितिहरु आई लाग्दोरहेछ ।

यसबीचमा नेपाली गीत–संगीतमा धेरै गायक–गायिकाहरू आए र हराए पनि। यसलाई तपाईंले कसरी लिनुहुन्छ?

यस बीचमा धेरै गायक–गायिकाहरू आए र केही समयपछि हराए पनि। तर कम्तीमा पनि उहाँहरूको गीत भने कतै न कतै बाँचेको छ। मेरो व्यक्तिगत अनुभव भने अलि फरक छ। त्यतिबेला म हुर्रिएर गायिका बन्ने सपना बोकेर आएकी थिएँ, तर न गीत गाउन पाएँ, न त गायिका बन्ने अवसर नै मिल्यो। यो बीचमा जति महिलाहरु गीतसंगीत क्षेत्रमा स्थापित हुनुहुन्छ उहाँहरुप्रति मेरो सधै सम्मान छ ।

तपाईं त बेलायतमा बस्नुहुन्छ । नेपाललाई कसरी अनुभूत गर्नुहुन्छ ?

मेरो युके बसाइँ ठीकै छ भन्नुपर्छ। तर यहाँ काम नगरी बस्न गाह्रो छ नेपाल जस्तो होईन । युके अर्काको देश हो, हामी केही समयका लागि कर्म गरेर जीवन चलाउन आएका हौँ। शरीर यहाँ भए पनि मन भने सधैं नेपाली नै छ। अहिले करिब ४० वर्षपछि नयाँ पुस्ताको नेतृत्वले जितेको खबरले धेरै आशा पलाएको छ। नेपाल आमा फेरि मुस्कुराएको देख्न पाइयोस् भन्ने चाहना छ।

भावी योजना के छ? विदेशबाट नेपाललाई हेर्दा कस्तो लाग्छ?

आगामी दिनमा गीत–संगीतमा थप केही गर्ने योजना छ। विदेशमा बसेर नेपाललाई हेर्दा मन सधैं देशतिरै तानिन्छ। देशको अवस्था राम्रो होस् भन्ने चाहना सधैं रहिरहन्छ।

 अन्त्यमा केही भन्नु छ?

अन्त्यमा, मेरो मनभित्र लामो समयदेखि पोको पारेर बसेका कुरा राख्ने अवसर दिनुभएकोमा हङकङ खबरलाई धन्यवाद।

 

तपाईको प्रतिक्रिया