नेपाली साहित्यको क्षेत्रमा परिचित तथा सम्मानित नाम हो एस्पी कोइराला , पुर्व अर्थमन्त्री तथा नेपाल सरकारको पुर्व सचिव उहाँका कविताहरुले नेपाली समाजको मनोदशा र भुगोललाई निक्कै नजिकबाट चित्रण गरेको हुन्छ । मानविय संवेदनाको प्रतिविम्ब बोकेका यी कविताहरु कवि आफ्रनै भोगाईको एक शसक्त उदाहरण पनि हो । प्रस्तुत छ साताको तीन कविता ।
खाल्डो
खाल्डो यहाँ—
कत्ति खनियो
र कत्ति पुरियो ?
इतिहास आफैँ अलमल्ल छ;
कसले, कहिले, किन र कसरी खन्यो ?
हिसाब स्वयं रनभूल्ल छ;
खाल्डै–खाल्डाहरूको बिस्कुन बरू यहाँ
बेहिसाब छताछुल्ल छ !
खाल्डाहरू बनिन्छन्पनि
खाल्डाहरू खनिन्छन्पनि
बनेका खाल्डाभन्दा
खनेका खाल्डासित डर लाग्छ मलाई
किनकि
खाल्डोसितै अतीतहरू उधिनिएका पनि छन्
खाल्डोभित्रै भविष्यहरू पुरिएका पनि छन्!
मानौँ, खाल्डो खन्नु हाम्रो नियत हो
र खाल्डोमा पर्नु हाम्रो नियति हो
खाल्डोमा पार्नु र खाल्डोबाट बच्नुबीचको
रौँ–दूरीमा लुकेको छ हाम्रो साँचो वीरता !
खाल्डोमा पुरिनु र खाल्डोबाट जोगिनुबीचको
तरबारको धारमा अडेको छ हाम्रो धीरता !
मेरो खाल्डे संस्कृति
कसैको प्राप्तिमा किन रमाउँछ ?
र मेरो खाल्डे आकृति
कसैको समाप्तिमा सहमति किन जनाउँछ ?
खाल्डो अरूलाई सिध्याउन हो
कि आफूलाई उभ्याउन हो ?
खाल्डो लड्नलाई हो कि लडेर उठ्नलाई हो
खाल्डो – षडयन्त्रको गहिरो खानी हो
कि प्रतिशोधको सुन्दर बिहानी हो ?
इतिहास खाल्डो खन्नेहरूको हो
कि खाल्डोमा पर्नेहरूको हो?
इतिहासको टुहुरो वारेश — म
मेरो प्रिय काठमाण्डौ खाल्डोमाथि उभिएर
अर्को एउटा खाल्डो खनिरहेको छु
थाहा छैन—
अरूलाई ताकेर खनेको यो खाल्डोमा
म आफ्नै इतिहास रचिरहेको छु
कि अर्काको भविष्य पुरिरहेको छु !
व्यापारिक विश्राम !
एउटा चिल जस्तो चरो
पर क्षितिजबाट ह्वात्तै हुत्तिँदै आउँछ
अचानक अग्लो रूखमा आसन जमाउँछ
हाङ्गा–बिङ्गाभरि हङ्गामा मच्चाउँछ
र वरिपरि एकैछिन
त्राहिमाम्त्राहिमाम्गराउँछ !
बस्दै आएको चरो
केही बेरपछि एक्कासि
स्वाट्टै उडेर क्षितिजकै बाटो तताउँछ
र आउँदा जस्तै जाँदा पनि
रूखभरि कोलाहल मच्चाउँछ !
रुख न हो आखिर
चरो बस्ता पनि हलचल
चरो उड्दा पनि खलबल !
जसरी हुत्तिन्छ मान्छे
कि त बिजुलीको करेण्ट लाग्दा
कि त करेण्टले झ्वाट्टै छाड्दा !
जसरी उम्लिन्छ प्रेमी
या त माया–तालभित्र पौडिँदा
या त माया–जालबाहिर दौडिँदा !
जसरी झललल्ल बल्छ दीयो
कि त सल्किने बेलामा
कि त निभ्ने बेलामा !
जसरी थर्काउँछ हवाइजहाजले
कि त उडान भर्दा खेरी
कि त अवतरण गर्दा खेरी !
जसरी गर्जिन्छ बेस्सरी मेघ
कि त बिजुली चम्केपछि
कि त चट्याङ परेपछि !
जसरी बढी हल्ला गर्छ मान्छेले
कि त आगमनको सुखमा
कि त गमनको दुःखमा !
मान्छेको जीवन न हो आखिर
पाउँदा पनि हलचल
गुमाउँदा पनि खलबल !
बीचमा त हो केबल
एउटा छोटो ब्रेक
अर्थात्
व्यापारिक विश्राम !
घरको तापक्रम
लामो कहाँ छ र जिन्दगी
बितिजान्छ फासफुसमै
मौसम अनुसार
मनको सपना सिलाउँदैमा
र घरको तापक्रम मिलाउँदैमा !
जाडोहुँदी हिटर बाल्नै प¥यो
घर तताउनलाई
उखरमाउलो गर्मी हुँदा पङ्खा खोल्नै प¥यो
घर चिस्याउनलाई
तताउनु र चिस्याउनुको बीचमा च्यापिएको छ
बिचरो एक थान जिन्दगी !
आदत यसरी बसेको छ नराम्ररी हामीलाई
मौसम मुताबिक मिलाउने
घरको तापक्रम
बानी बसेको छैन तर राम्ररी हामीलाई
समय सापेक्ष तुल्याउने
मनको तापक्रम !
घर तताउन
हिटर होइन
न्यानो मन चाहिन्छ,
घर चिस्याउन
पङ्खा कुलर एसी होइन
ठण्डा दिमाग चाहिन्छ !
सजिलो कहाँ छ र देश बनाउन ?
देशको तापक्रम मिलाउन त
चिसो माटो होइन
तातो मुटु चाहिन्छ,
देशको रोलक्रम मिलाउन त
जोशिलो भाषण होइन
चहकिलो शासन चाहिन्छ !





