नेपाली साहित्यमा एक दशक भन्दा लामो समयदेखि निरन्तर रुपमा कविता लेखीरहेकी कवि अन्जना इछमफूलका कविताहरुले  मानिसको अन्तरआत्माको भावना र मानवीय बिचार र संवेदनशीलतालाई निक्कै सशक्त रुपमा  उजागर गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

हरियो पछ्यौरी

माघे तुसारोले
तिम्रो केशको रङ्ग बदल्दै होला दिनदिनै
त्यो ऊनीको हरियो पछ्यौरी छ नि तलामाथि बाकसमा
सपक्कै बाँधिराख्नु है शिरमा !
नुनको भारी बोक्न जाँदा
आप्पाले ल्याइदिएको कटारी बजारबाट हगि ?

नुनको भारीसँगै
आप्पालाई झन्डै बादुरा खोलाले बगाएको कथा
खिपिएको छ त्यो पछ्यौरीमा
तोक्मा भाँच्चिएर मजमलाल को ढाड सल्किएको पीडा
बाटिएको छ पछ्यौरी छेउछेउको फुर्काभरि

आप्पाले उपहार दिएको पछ्यौरी लिँदा
खुसीले मरियाफूल जस्तै फुरुङ्ग उडेर
बादलको छेउसम्मै पुगेर फर्किएकी थियौ तिमी, हगि आमा ?

मलाई याद छ अझै
तिम्रो मायालु मुस्कानले चन्द्रमालालाई चुनौती दिइरहेथ्यो त्यो साँझ
तिम्रो सीमाहीन खुसी देखेर
घुस्यानको सूर्यमुखी पनि घोसेमुन्टो लाइरहेथ्यो डाहाले

एउटा कालो दिन
कालै बाज उडेर आयो कालो आकाशबाट
चुँडेर लग्यो एउटा पखेटा तिमीबाट
त्यो पखेटासँगै आकाशतिर उडिगएको आप्पा
फेरि कहिल्यै फर्केनन् धरतीमा

खस्न थाल्यो तुसारो आप्पाको यादसँगै
बाँधिहाल आमा पछ्यौरी शिरमा ।

सहरमा घाम

हिमालको टुप्पोबाट पोखिँदै-पोखिँदै आएर
छताछुल्ल हुन्छ गाउँको ओठभरि घाम
र,
अजम्बरी मुस्कान मुस्कुराउँछ गाउँ।

सहरमा भने
ब्वाँसोको मुखबाट
फुत्केको पाठोझैँ
घरहरूका चेपबाट चेपिँदै / निसासिँदै
बल्लबल्ल उक्लिएर आउँछ आकाशमा घाम।

सेम्योरी – उपहार राजधानीलाई

मेरो नछुङ्ले ढ्याङ्ग्रो बजाएर
चिन्ता बस्दै गर्दा
तिम्रो मनमा किन ढ्याङ्ग्रो ठोकिन्छ र कम्पन छुट्छ ?

हर्षबढाइँ गर्न मैले बन्दुक पड्काउँदा
धूवाँ भरिएछ तिम्रो फोक्सोमा
आजकल तिमीलाई श्वास फेर्न कठिन भइरहेको देख्छु
अचेल सधैँ तिमीलाई सकसमा देख्छु

खोलानाला, हावापानी, वनजङ्गल, भीरपाखाहुँदै
देउतासँग बात मार्ने म त
हाटबजारमा अलिकति सख्वा पिएर
साकेला सिली नाच्नै मग्न हुन्छु
र गाह्रोसाह्रो पर्दा पितृहरूलाई गुहार्छु
बहिरो तिमी !
न मैले बजाएको ढ्याङ्ग्रो सुन्न सक्छौ
न मेरो ढुकढुकी ।

विद्रोहको यो कविता पढेर
बिग्रिरहेको होला तिम्रो सपना
ने… वो… !! यो सेम्योरी, मेरो आदिवासी गहना
र मुक्त होऊ ऐठनबाट !

नोट :
सेम्योरी किराँत राईहरूको प्राचीन गहना हो जसलाई सेम्योरीको बुट्यानबाट त्यान्द्रो निकालेर बुनिन्छ । सेम्योरी खालिङ राई भाषा हो । सेम्योरी दुई शब्द मिलेर बनेको छ । ‘सेम्यो’ भन्नाले सपना र ‘री’ भन्नाले डोरी बुझिन्छ । अर्थात् सेम्योरीको शाब्दिक अर्थ सपनाको तरङ्ग, डोरी वा लहरा भन्ने हुन्छ । बिग्रिएको सपना सपार्ने किराँती गहना नै सेम्योरी हो ।
धामी बस्ने काम ।
लेऊ । लिनुहोस् ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया