लेखक डा. सृजना उप्रेती शर्मा विद्यावारिधि काशी हिन्दू विश्वविद्यालयबाट ‘नारी विमर्शका दृष्टिले पारिजातका कथाहरूको विश्लेषणात्मक अध्ययन’ विषयमा पिएचडी गर्नुको साथै भाषा, शिक्षण तथा भाषा अनुवादहरुमा उहाँ सकृय हुनुहुन्छ । विभिन्न बिधामा दर्जन जति कृति लेखी सकेकी शर्मा , पारिजात सम्मान २०७५ लगायतबाट सम्मानित हुनुहुन्छ प्रस्तुत छ साताको तीन कविता ।
हाँक
एकातिर तिमी स्वतन्त्रताको नारामा
भुल्याउँछौ भेडो बनाइ।
अर्कातिर वस्तुकरणको बजारमा
बिस्कुन बनाएर फैलाउँछौ बजारभरि।
एकातिर समानता, अधिकार र समताको चर्को नारामा
मुठ्ठी बनाएर हात उज्याउन लगाउँछौ।
अर्कातिर त्यही उजिएका हात मुन्तिरबाट
मेरा अधुरा कार्य खोसेर तिमीले
आफैलाई सर्वोत्कृष्ट घोषणा गर्दै
मेरै बुद्धिको धरातलमा आफ्ना तलो अझ चुल्याइरहेका छौ।
तिमीले मलाई “यो गर्”, “यो नगर्” भनेर निदेश दिइरहँदा
म सोचिरहेको छु-
‘तिम्रो निदेश मान्न के म साँच्चिकै बाध्य नै छु त?’
उसो भए
मलाई बन्देज र निषेध मात्रै होइन
तिम्रो निदेश पनि उत्तिकै घातक छ।
मेरो स्वतन्त्रताको शङ्खघोषका लागि
रोजाइ मेरै हुनुपर्छ।
खोजाई मेरै हुनुपर्छ।
भोगाई मेरै हुनुपर्छ।
नत्र…
तिम्रो निदेशमा निर्देशित मेरो स्वतन्त्रताको कुनै अर्थ छैन।
म मेरै स्वविवेकमा उसरी नै चल्न सक्षम छु।
ठीक त्यसरी नै
जसरी तिमी चलिरहेका छौ।
तिमी को हौ र मलाई स्वतन्त्रता दिने?
तिमी के हौ र मलाई निदेश दिने?
म पनि मानवी हुँ उसरी नै
जसरी तिमी आफूलाई मानव घोषणा गर्छौ।
आधी आकाशको कुरा होइन यहाँ
उड्नलाई मकहाँ सम्पूर्ण क्षितिज
उसरी नै उपलब्ध हुनुपर्छ अब
जसरी यसको आयतन आजसम्म तिमीले नापिरहेका छौ एकलौटी।
धरणीको फैलावटमा उसरी नै मेरा पनि
पैतालाका छाप अमेट हुनुपर्छ अब
जसरी तिमीले पाइला पाइलामा
छापेका छौ आफ्ना डोबहरू।
अब बागमतीको पानीमा मेरो पनि उत्तिकै
छवि प्रतिबिम्बित हुनुपर्छ
जसरी तिम्रा छविले निर्मल बागमतिलाई जीवन दिन्छ।
हो!
अब यो धरती मात्रै होइन,
नभ, नक्षत्रको नवउन्मेषमा
मेरो पनि उत्तिकै सहभागिता रहने छ,
जसमा तिम्रो एकलौटी शासन रह्यो युग युगान्तर।
म निदेशमा चल्न कुनै रोबोट होइनँ तिम्रो
म तिमीद्वारा दिइने केही “कोड अब् कन्डक्ट” मा चल्न
तिम्रा सुपर कम्प्युटरका कुनै तिमीद्वारा लेखिएका प्रोग्राम होइनँ
मलाई मेरो अस्तित्व कायम गर्न तिमीद्वारा सञ्चालित भइबस्नु पर्दैन अब।
किनभने…
आधा आकाश मात्रै होइन,
पुरै नभमण्डल र ग्यालेक्सी ठीक उसरी नै मेरै हो
जसरी यो तिमीले आफ्नो ठानिरहेका छौ।
यसलाई आफ्नै मानी राखेका छौ।
अब तिमी र म एकार्काका परिपुरक होइनौँ भनेर बुझ तिमीले
म स्वयंमा सम्पूर्ण छु,
जसरी तिमी स्वयं सम्पूर्ण!
बरु आऊ!
हामी एकार्कालाई आ-आफ्नै सम्पूर्णतामा स्वीकारौँ
र
सुखी बनौँ।
के सम्भव छ त यो?
सन्धान गर्ने पालो अब तिम्रै हो
आफ्नै आत्मा नियालेर
किनभने…
यो मेरो बोध हो -जीवनसत्वको।
यो मेरो घोषणा हो – स्वअस्तित्वको।
अब स्वीकार गर या नगर तिमीले
यो मेरो स्वीकारोक्ति हो -आफ्नै चेतनाको।
यो मेरो स्वीकारोक्ति हो -आफ्नै चेतनाको ।
प्रेरणा
नखसे पात,
कसरी पलाउला नयाँ पालुवा?
नचले हुरी
कसरी हुर्केला पालुवा?
हुँदैन समाप्त कथा जीवनको
खस्दैमा एउटा पात,
झर्दैमा एउटा पात
असङ्ख्य पातले लेख्नेछन्
हुरीमा लड्ने पातको कथा
गर्नेछन् अझ सङ्घर्ष जीवनको
लेख्नेछन् नयाँ गीत
पीडाको,
सङ्घर्षको,
अनि
अनि एउटा विजयको।
हार्दैनन् पात, पतझडमा झर्नै परे पनि
थाक्दैनन् पात, हुरीसित लड्नै परे पनि
हो!
यसैले त
मुस्काउँछन् बसन्तमा
लेख्छन् नयाँ पालुवाले नयाँ कथा
पुरानै पटभूमिमा पूर्खाको
सङ्घर्ष अनि बलिदानको
लेख्दै जान्छन् नयाँ इतिहास
बनाउँछन् नयाँ जीवनको आभास
दिन्छन् प्रेरणा
पुनः उठ्न, र लक्ष्यमा लाग्न निरन्तर
लक्ष्यमा लाग्न निरन्तर ।
प्रकृति र मान्छे
जब मान्छे नदीमा पस्छ, नदी सहरमा बग्छ।
नदीको धर्म बग्नु।
तर के मान्छेको स्वभाव नै हो त अवरोधी हुनु?
किन बारम्बार बाँध बाँध्छ मान्छे?
किन बारम्बार बार लाउँछ मान्छे??
नदी पहाड, कन्दरा
र
ढुङ्गाका कापबाट पनि
सुनाखरी फुलाउँदै बग्छ ।
तर मानिस !
नदी, सुनाखरी र पहाडकै
विनाशमा उद्दत छ ।
उसलाई आरोहणको असीमित प्यास छ ।
उसलाई प्राप्तिको अनन्त भोक छ ।
उसलाई जीतको युगौँदेखिको उन्माद छ ।
यसैले त शक्ति-सम्पन्न भएर पनि
बारम्बार प्रकृति जित्ने होडमा
आफ्नै अहङ्कारको दास बन्न पुग्छ मान्छे।
यसैले त प्रकृतिको संरक्षणमा आफ्नो संरक्षण नबुझेरै
दोहनतर्फ उन्मुख भएपछि
प्रकृति बौलाउँछे ।
अनि
अनि त बस् त्राहि.. त्राहि …त्राहि
त्रिजटाको त्राटक देखाउँदै
त्रिनेत्र खोलेर त्रासद अन्तमा
ताण्डव नाँच नाँच्छे प्रकृति
नवीन सृष्टिका निम्ति उद्यत बन्दै ।
अनि ….
…अनि
निरीह निष्णात निःशब्द भई मान्छेले
प्रकृतिप्रति समर्पण गर्नै पर्छ घुँडा टेकेर
आफ्नै अहङ्कारलाई विसर्जन गर्दै
सृजनाका निम्ति हातेमालो गर्दै गर्दै
प्रकृतिलाई आत्मसात् गर्नै पर्छ ….. गर्नै पर्छ ।





