नेपाली रङ्गमञ्च र साहित्यको क्षेत्रमा एक कालजयी नाम हो अशेष मल्ल । झण्डै  आधा दशक भन्दा लामो समयदेखि नेपाली कला र साहित्यमा क्रियाशील  मल्ल  आधुनिक  नेपाली नाटकको एक महत्त्वपूर्ण  नाम हो । कवितामा पनि आफ्नो  विशिष्ट पहिचान रहेको मल्लका कवि आजको शनिवारमा हामीले समावेश गरेका छौ  प्रस्तुत छ साताको तीन कविता ।

देउता र मानिस

साेचे जति सबै पुग्ने भए
मानिस स्वयम् देउता हुन्थे
बन्द हुन्थे सायद
मन्दिरका ढाेकाहरु ।

अधुरा हुन्छन् इच्छाहरु
र त धाउछन्
देउता खाेज्दै
मन्दिर मन्दिर।

हैरान हाेलान् देउता सायद
मागहरुकाेेे लामाे
जुलुस देखेर ।

के हाेला
सँधैका लागि बन्द भए
मन्दिरका ढाेकाहरु ।

कहाँ जाँदा हुन्
अधुरा सपनाहरुकाे
मागपत्र बाेकेर ।

कहाँ पाेख्दा हुन्
दृश्य अदृश्य
गुनासाहरु

भाैतारिँदै कहाँ जाँदा हुन्
दुखीहरु देउता खाेज्न

खुला छन् ढाेकाहरु मन्दिरका
मुर्तिवत् माैन छन् देउता
भक्तहरुसँग
पापकर्मका प्रतिप्रश्न गर्दैनन् देउता

यसैले लामबद्द छन्
ईच्छापत्रसहितका भक्तजनहरु

जुन दिन बाेल्न थाल्नेछन् देउता
शून्य हुनेछन्
त्यस दिनदेखि मन्दिर ।

मुक्तिकाे कल्पना

चराका पखेटा काटिदिनुस्
र भन्नुस्
जा उड् आकाशमा
र भन्नुस्
तँ स्वतन्त्र छस्
बादलसँग बादल भएर
उड्न आकाशमा
चराका प्वाँखहरू उखेलिदिनुस्
र भन्नुस्
तेराे छातीमा
कहिल्यै हिर्काउनेछैन
धनुका वाणहरू
र कहिल्य‌ै सिकार
गर्नेछैन एकान्तमा
चराका पखेटा काटिदिनुस्
र कल्पना गर्नुस्
मुक्त आकाशमा
अकाशिदै उडेका
स्वतन्त्र उडानहरू
चराका प्वाँखहरू उखेलिदिनुस्
र गर्नुस् कल्पना
मुक्तिकाे !!

धरहरा

तपाईँलाई थाहा छ
धरहराकाे उचाइ
हर साल घट्दैछ
काठमाडौंमा
अलिअलि

जङ्ग बहादुरले हाम फालेकाे
धरहरा
पुड्काे हुँदैछ अलिअलि

आकाश छुन्छ कि छुन्छ
कहाँ छुन्छ र आकाश
छुने भए
टिपेर ल्याउँथे उहिल्यै
ताराहरू
र सिउरिदिन्थे
काठमाडौंवासीका शिर शिरमा

जति जति शहरमा
उम्रन थालेका छन्
सिमेन्टका अग्ला अग्ला रूखहरू
उतिउति घट्दैछ
धरहराकाे उचाइ

जुलूस नारा र आक्राेश
काेलाहल र काेलाहल
शहरकाे काेलाहल
तर माैन छ धरहरा

के तपाईँलाई थाहा छ
धरहराकाे माैनताकाे अर्थ ?

 

 

 

 

तपाईको प्रतिक्रिया