विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गर्दै नीतिगत बहस, सामाजिक रूपान्तरण र प्राविधिक एजेन्डालाई सडकदेखि सदनसम्म उठाउँदै आएका मोरङका युवा नेता सुविन पराजुली नेपाली कांग्रेसको आगामी केन्द्रीय नेतृत्वमा पुग्ने तयारीमा जुट्नुभएको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिका युवा क्लस्टरतर्फ मोरङ क्षेत्र नं. ३ बाट ५०६ मतसहित सर्वाधिक मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएका पराजुली अब पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ। पथरीशनिश्चरे नगरपालिका–१ निवासी पराजुलीको यो राजनीतिक छलाङले मोरङ मात्र नभई समग्र नेपाली कांग्रेसको युवा पंक्तिमा विशेष चर्चा पाएको छ।
“युवाका मुद्दा अब सडकमा मात्र होइन, नीति निर्माणमै पुग्नुपर्छ”

पार्टीभित्र पुस्तान्तरण र युवा सहभागिताको बहस जोडले उठिरहेका बेला पराजुली स्पष्ट दृढता व्यक्त गर्नुहुन्छ, “युवाका मुद्दा सडक र बहसमा मात्रै सीमित हुनु हुँदैन। पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामै युवाको अर्थपूर्ण सहभागिता आवश्यक छ। त्यसका लागि पार्टीको केन्द्रीय तहमा युवाको आवाजलाई बलियो रूपमा स्थापित गर्ने मेरो मुख्य उद्देश्य हो।”

विद्यार्थी आन्दोलनदेखि बौद्धिक बहसम्मको सक्रिय यात्रा
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट कांग्रेसको प्रचार–प्रसारमा सक्रिय हुँदै राजनीतिक यात्रा थाल्नुभएका पराजुलीले २०७२ को विनाशकारी भूकम्पपश्चात राहत तथा सामाजिक सेवामा अग्रसर भएर काम गर्नुभयो। २०७३ सालको नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११औँ महाधिवेशनमार्फत काठमाडौं केन्द्रित विद्यार्थी राजनीतिमा होमिनुभएका उहाँले संगठन विस्तारमा अहम् भूमिका खेल्नुभयो।

विभिन्न चुनौतीपूर्ण राजनीतिक परिस्थितिहरूमा समेत पछि नहटी उहाँले गरेका संघर्षहरू प्रेरणादायी छन्:
जिपी अध्ययन केन्द्रको नेतृत्व: १८ वर्षको कलिलो उमेरमै २०७५ सालमा जिपी अध्ययन केन्द्र मोरङको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै कांग्रेसका शीर्ष नेताहरूलाई एकै मञ्चमा उभ्याएर भूगोलमा राजनीतिक गतिविधि चलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

सङ्घर्ष र बलिदान: नेविसंघको आन्दोलनका क्रममा आरआर क्याम्पस अगाडि प्रहरी दमनबाट हात भाँचिए पनि उहाँको राजनीतिक अठोट र सक्रियतामा कुनै कमी आएन।
वैचारिक गोष्ठी तथा नेतृत्व दबाब: २०८१ सालमा नेविसंघ केन्द्रीय समितिको आयोजनामा राष्ट्रिय सभागृहमा ⁠संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्वको अपरिहार्यता⁠ विषयक विचार गोष्ठी सफलतापूर्वक सम्पन्न गर्नुभयो।

आधुनिक सोच, सामाजिक उत्तरदायित्व र प्राविधिक चेत
राजनीतिलाई केवल नारा र भिडमा मात्र सीमित नराखी यसलाई विज्ञान, प्रविधि र समयानुकूल नीतिसँग जोड्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ पराजुली। उहाँ सामाजिक जवाफदेहिता, लैंगिक समानता, दिगो विकास, समावेशिताका साथै कृत्रिम बुद्धिमत्ता (AI) र आधुनिक प्रविधिलाई सार्वजनिक नीति तथा राजनीतिक बहसको हिस्सा बनाउनुपर्ने पक्षमा हुनुहुन्छ।

“हामी सामाजिक र राजनीतिक चेत भएका जेनजी हौं”
पार्टीले केन्द्रीय समितिमा तपाईं जस्तो युवालाई स्थान देला त भन्ने प्रश्नमा पराजुलीको निकै सटिक र दरो जवाफ छ:
“हामी सामाजिक, राजनीतिक ज्ञान र अनुभव प्राप्त गरेका जेन्जी (Gen-Z) हौं। आजको समाजले केवल तोडफोड र आगजनी गर्नेलाई मात्र नभई वैचारिक र साङ्गठनिक चेत भएका हामी जस्ता जेन्जीलाई पनि कांग्रेसजनले नेतृत्वमा स्वीकार गर्नेमा म पूर्ण विश्वस्त छु।”

विद्यार्थी राजनीतिबाट खारिएर, महाधिवेशन प्रतिनिधिमा अपार जनसमर्थन पाएर आएका सुविन पराजुलीको यो केन्द्रीय सदस्यको उम्मेदवारी यात्राले नेपाली कांग्रेसमा नयाँ ऊर्जा र गतिशील नेतृत्वको आशा जगाएको छ।

तपाईको प्रतिक्रिया