नेपाली कविता लेखनमा सुधा मैनाली एक शशक्त कवि हुनुहुन्छ । शिक्षण पेशामा आवद्व उहाँको  लेखनी महिलाको सरोकारका सवालहरु केन्द्रीत छ । उहाँको अर्को बिधा भनेको अनुसन्धान , अनुवाद र समालोचना पनि हो । उहाँ अङ्ग्रेजी भाषामा दर्शणाचार्य हुनुहुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

आशा

भोका र  उदास आँखाहरूमा एउटा सुन्दर क्षितिजको

छुट्टै तस्बिर कोरेर सुनौलो बिहानीको नयाँ गोरेटोमा

नवयुवाहरूले

आशा र भरोसाको सपनाको महल मनभरी खोपेर

मस्तिष्कमा नयाँ इतिहासको नक्सा कुँदेर

तिम्रो आगमनसँगै इन्द्रेणीको रङ्ग ओढेर

 सदियौँदेखिका जीर्ण ती भित्ताहरू रङ्ग्याउन

नवयुवाहरूले

आफ्नै रगतले माटोमा प्राण भरे

तर –

समय बित्दै जाँदा

क्षितिज फेरि उही धमिलो कुहिरोमा बदलियो

मुटु निचोरेर थोपा थोपा रगतले

कुँदेका ती आफूभन्दा प्यारा सपनाहरू

धुलो बनेर उडिरहेछन्

बस्ती – बस्तीमा निराशासँगै चिच्याइरहेछन्

जता हेर्यो, उस्तै उस्तै दृश्य

पुरानै छाँयामा लपेटिएको  शक्ति सत्तामा केन्द्रीत

म त्यसैले –

मभित्र प्रश्नै प्रश्नका आँधीले उकुसमुकुस एउटा बिद्रोह

​ती युवाका रगतका मूल्यहरू खोज्दै

रगतले पुकारिरहेका परिवर्तनका प्रतिज्ञासँगै

तिम्रै बाटो कुरिरहेकी छु तिमीलाई नै पर्खिरहेकी छु ।

हामी एउटै हौँ

तिमी र म

नेपाल आमाका सन्तती एकै देशकाे मानवजाती

हामी एउटै त हौँ

यो देश तिम्रो मात्र होइन मेरो पनि हो

यही माटोमा पाइला टेक्ने हामी बराबरी साझेदारी बन्धु हौँ।

 म पनि तिमी जस्तै एक अंशियार हुँ

त्यसैले भागबण्डा गर्दा

सम्पूर्ण देशवासी सरह  सानो टुक्रा जमिनमा

तिमीलाई जस्तै मलाई पनि पेटभरी खाना

निर्धक्कले श्वास फेर्ने हावा, नाना र ओत लाग्ने छानो

मेरो पनि हुनुपर्छ

तिमीलाई जस्तै जलाउन यही जमिनमाथि  मेरो पनि चिता हुनेछ ।

मेरो यात्रा

बर्षौदेखिको उत्पिडन

दासता अनि अन्यौलताको खाडलमा

तिम्रै इतिहासको चट्टान बनाउँदै

आफू सेतीझैँ भासिएर पनि त म उभिएकै छु यश धर्तीमा ।

एक्काइसौँ शताब्दीको बिकास र समानताको

यो अग्लो  सगरमाथामा म यति थिचिएकी छु कि

म मान्छे भएर बाच्न गाह्राे छ यो पितृसत्तात्मक  समाजमा ।

यो कलङ्कित संंसार

यो  सभ्यता , परम्पराहरुले केवल मलाई  दास मात्रै  बनाए

जस्ताेकी  फलाम  आरनमा तताएर अनि गलाएर

फरक  स्वरुप  बन्छ ।

म शताब्दीको दासताले पिसिदा पिसिदा त्यही फलाम भएको छु ।

म –

आफ्नै मिठो सपना बोकेर

आफ्नै संसार बनाउन ,आफू आफै भएर बाँच्न

बन्द गरिएका बोलीहरुलाई  फुटाउन

चट्टान जस्तै अडिग भएर  निरन्तर  यात्रामा छु ।

ओ पुरुष ……

तिम्रा कुरुपतालाई सिम्सारको वारुदले

ध्वस्त बनाएर , म माथि बिछ्याइएको   फोहरको श्रृङखला

सदा- सदाका लागि हटाउन

तिम्राे साम्राज्यको बिरोधमा उभिएको छु

त्यसैले खबरदार,

मेरो रगत, पसिना र त्यागले लतपतिएको

यो संरचना

मात्र मेरा लागि र मेरै यात्राको सुरुवातका लागि हो ।

तपाईको प्रतिक्रिया