डा. विप्लव ढकाल नेपाली साहित्यमा स्थापित  कवि हुनुहुन्छ  । पेशाले लामो  समयदेखि त्रिचन्द्र कलेजमा प्राध्यपन गर्दै आउनु भएको उहाँ आधुनिक  नेपाली  कविता लेखनको क्षेत्रमा   प्रभावशाली  कविमध्ये एक हुनुहुन्छ । हाल  नेपाली वाङ्मय  फाउन्डेसनको अध्यक्ष  समेत रहनु भएको ढकाल  वि. सं. २०२४ वैशाख १ गते  भोजपुर जिल्ला, अरुण गाउँपालिका, वडा नं. ५, याकु, मारिङमा जन्मीनु भएकाे  भएको हाे । उहाँ  लोकप्रिय कवि उहाँको  लेखनीमा समकालीन  नेपाली समाजको  विसंगति माथि प्रश्न ,  मानवतावादी  चेतनाको स्वार पाईन्छ । विभिन्न बिधामा झण्डै  दर्जन किताब  लेखीसक्नु भएको उहाँ विभिन्न राष्ट्रिय  सम्मानहरुबाट सम्मानित हुनुहुन्छ ।  प्रस्तुत छ साताको तीन कविता ।

 ईश्वरको कथा

उहिले एक दिन

नीलो आकाशको

विराट शून्यतालाई

शब्दको तरबारले चिरेर

सर्वशक्तिमान् ईश्वर

मानिसको धरतीमा आयो !

पहिलो दिन–

ईश्वरको दर्शन गर्न

अरिङ्गाल बनेर उडे

मानिसहरु !

बहुलायो धरतीको आत्मा

भुँमरी उठ्यो सपनाहरुको !

र मानिसको लास कुल्चिएर

ईश्वरलाई भेटे

मानिसहरुले !

दोस्रो दिन–

कफीसपमा भेटियो ईश्वर !

सपना हराएका

मानिसहरुले

शिर झुकाएर अभिवादन गरे–

‘हे परम प्रभु !

दुःखको पीपले

भरिएको समुद्रमा

पौडिँदा पौडिँदै थाक्यौँ हामी !

मुक्ति दिनुहोस् हामीलाई !’

तेस्रो दिन–

सडकमा मानिसहरुसँगै

हिँडिरहेको थियो ईश्वर !

मानिसहरुले

हात पक्रिएर गुनासो गरे–

‘हेलो ईश्वरजी !

यति धेरै रोइसक्यौँ हामी

तर तिमी त अझै

खोलाको ढुङ्गो झँै मौन छौ

हामीले कसरी विश्वास गर्ने ?’

चौथो दिन–

भट्टी पसलको

पुरानो सटर खोलेर

भित्र पस्यो ईश्वर !

‘साला ईश्वरे !

के तँ निहु खोज्न

आएको होस् हामीसँग ?’

मानिसहरु फेरि

अरिङ्गाल बनेर उडे

र पृथ्वीबाटै लखेटे

ईश्वरलाई !

त्यही दिनदेखि

हराएको ईश्वर

आजसम्म–

कतै देखिएको छैन !

कलधारामा पानी आयो 

मध्यरातमा

अनौठो हाहाकार सुनिन्छ

सहरमा !

ए जोगिन्दर !

ए मिस्रीमाया !

ए लोप्साङ !

ए धौलेका बाउ !

सपनाहरुलाई

ओछ्यानमै छाडेर

ब्यूँझ अब यो

कालनदीको निद्राबाट !

बोक बाल्टिनहरु !

गाग्रीहरु, जर्किनहरु !

प्लास्टिकका बाटा,

बोतल र गिलासहरु !

जीवनका

सबै रित्ता भाँडाहरु बोक !

र चाँडो निस्क बाहिर !

आज यत्तिका दिनपछि

तिम्रो सहरले

आफ्नै सक्कली लोकगीत गायो–

कलधारामा पानी आयो !

इतिहासका

चिसा आँसुले भिजेका

फोहोर लुगाहरु

बाहिर निकाल !

श्रमको

अमिलो गन्ध आउने

भोटो र कछाडहरु

बाहिर निकाल !

श्रीमतीका

सुत्केरी थाङ्नाहरु निकाल !

विचारझैँ गनाइरहेका

मोजाहरु निकाल !

घरबेटीको आँगनमा

काकाकुलझैँ

रुन थालिसके

पानीका मोटरहरु !

आज यत्तिका दिनपछि

तिम्रो सहरले

अधूरो क्रान्तिको हथौडी पायो–

कलधारामा पानी आयो !

ए सगरका

श्रापित सन्तानहरु !

बिउँझ आफ्नो

खरानीको तापबाट !

तिमीले थोपाथोपा

बचाउनु छ जिन्दगीलाई !

यही पानी पिएर

गाउनु छ राष्ट्रिय गान !

निदाएका नानीहरुलाई

उठाऊ चाँडो !

नत्र भोलि स्कुलमा

तिनका मैला हातहरुले

कसरी पल्टाउँछन्

इतिहासको पुस्तक ?

र कसरी खप्छन्

मास्टरको छडी ?

आज यत्तिका दिनपछि

तिम्रो सहरले

जिउँदो सपनाको उत्सव मनायो–

कलधारामा पानी आयो !

ठूला सपनाहरु

देख्दा देख्दै

साना दुःखहरुसँगै

हारेछौँ हामी !

ए जोगिन्दर !

ए मिस्रीमाया !

ए लोप्साङ !

ए धौलेका बाउ !

यो मध्यरातमा

आज फेरि

अनौठो हाहाकार सुनिन्छ

सहरमा !

गँगटाकी आमा  

छोरो

बाङ्गो हिँडेको देखेर

चिन्तित छिन्

गँगटाकी आमा !

एक दिन

छोरालाई उनले

सम्झाउँदै भनिन्–

‘बाबु !

अब तँ ठूलो भइस्

राम्ररी हिँड्न जान्नुपर्छ,

सोझो हिँड्,

सोझो !’

‘कसरी हिँड्ने आमा ?’

छोराले प्रश्न ग¥यो ।

‘यी, यसरी हिँड्नुपर्छ’

आमाले हिँडेरै देखाइन् ।

तर छोरालाई

सोझो हिँड्न सिकाउने

आमा पनि

बाङ्गै हिँडिन् !

सायद–

संसारभरि नै

सबै गुरुहरु

बाङ्गो हिँड्छन् !

तपाईको प्रतिक्रिया