न्यूयोर्क, अमेरिका। युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) न्युयोर्क च्यप्टरको आयोजनामा न्यूयोर्कको ज्याक्सन हाइट्स स्थित नेपाली भान्साघरमा बलिहाङ चाड तथा देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका तथा न्यूयोर्क स्थित नेपाली डायस्पोराका विभिन्न समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको अध्यक्ष पासाङ दोर्जि शेर्पा ( एपि लामा ) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष ,प्रतिनिधि ,समाजसेवी, बुद्धिजीवी तथा संस्कृतिप्रेमी,वरिष्ठ कलाकारहरुको उपस्थिति रहेको थियो।
विदेशमा रहेर पनि आफ्नो मौलिक चाडपर्व, संस्कार र सांस्कृतिक पहिचानलाई निरन्तरता दिने उद्देश्यले आयोजित कार्यक्रमले नेपाली समुदायबीच आपसी एकता र सद्भावको सन्देश प्रवाह गरेको थियो।

कार्यक्रमको अध्यक्षता युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाकी अध्यक्ष बसन्ती राईले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका कोषाध्यक्ष विनोद राई र महासचिव सृजना राई ले गरेका थिए ।
कार्यक्रममा नेपाली मौलिक नृत्य, देउसी–भैलो तथा विभिन्न सांगीतिक प्रस्तुतिहरूले विशेष रौनक थपेका थिए। कलाकार सपना श्री ,विमल डांगी, वरिष्ठ नृत्य निर्देशक गोविन्द राई लगायत संस्थाकै लोकल भाईबहीनी कलाकारहरुको गायन तथा नृत्य प्रस्तुतिले कार्यक्रमको शोभा बढाउनुका साथै दर्शकहरूमा जोसजागर भर्दिने र उच्च मनोरञ्जन प्रदान गरेको थियो।
देउसी–भैलो कार्यक्रममा विभिन्न सहयोगी तथा शुभेच्छुकहरूले स्वेच्छिक रूपमा दक्षिणा तथा अर्थ दान गरेका थिए। सहभागीहरूको उत्साह जनक उपस्थिति र सहयोगले कार्यक्रमलाई थप सफल र स्मरणीय बनाएको थियो।
समग्रमा, उक्त कार्यक्रमले नेपाली डायस्पोराबीच सांस्कृतिक एकता, आपसी सद्भाव र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नयाँ पुस्तामा मौलिक भाषा, संस्कृति र पहिचान हस्तान्तरण गर्ने महत्वपूर्ण सन्देश दिएको छ।





