रमेश केसी

डे वानमा साम्पाङले के गरे ? माथिको भिडियो हेर्नुस

 गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा आएको परिणामले नेपालमा वैकल्पिक शक्ति  उदयको संकेत दिएको छ । धरान उप-महानगरपालिकादेखि काठमाडौँ हुदै धनगढी सम्म स्वतन्त्र उमेद्वारहरुको विजयले जनता परम्परागत दलको राजनीतिबाट निराश र दिक्क भएको संदेश दिएको छ। 

धरान उप-महानगर पालिकामा स्वतन्त्र उमेद्वार हर्क साम्पाङको विजयले संस्थापन नेपाली कांग्रेस र नेकपा ( एमाले ) को राजनीतिलाई अस्विकार गरेको संदेश दिएको छ।  साम्पाङ सामाजिक अभियन्ता हुन। उनी  धरानको खानेपानी समस्याका लागि समाधान खोज्न लागि परेका व्यक्ति  हुन। उनी  बिपी कोइराला स्वस्थ बिज्ञान प्रतिष्ठानको भ्रष्टाचार र बेथिति विरुद्ध लडेका व्यक्ति हुन । यस अघिको उप निर्वाचनमा उनि उमेदवार भएका थिए तर पराजित हुनुपरेको थियो उनले । अघिल्लो चुनावमा तिलक राईसंग पराजित भएका थिए उनी।

बामपन्थीको जिल्ला मानिएको धरानले अब संस्थापन दलहरु भन्दा इमान्दार र विकासप्रेमी व्यक्ति चाहेको छ । ४० बर्षीय साम्पाङ सडकबाट उठेका अभियन्ता हुन । प्रजातन्त्रमा जनादेशको महत्वपुर्ण भूमिका हुन्छ तर त्यो जनादेश ब्यबहारमा परिवर्तन भएन भने जनताले मतदान मार्फत विद्रोह गर्छन।  यहि विद्रोह अहिले देखिएको हो। धरानका समस्याहरुको समाधानका लागि दलहरुको स्थानीय  सत्तालाई साम्पाङले चुनौती दिए । एमालेका मेयर तारा सुब्बा, उपमेयर मंजु भण्डारी र नेपाली काँग्रेसका तिलक राई सम्मलाई उनले दबाब दिए । स्थानीय साधन श्रोतको रक्षाका लागि  लडने क्रममा साम्पाङले नेपालको दुइ दलीय प्रजातान्त्रिक राजनीतिलाई  चुनौती नै दिएको देखिन्छ ।

रमेश केसी

यस पटकको निर्वाचनले वैकल्पिक उपाय खोजेको स्पष्ट छ। हुन त पंचायत कालमा धरानमा पंचायतको खिल्ली उडाउन थरेंद्र ढकाललाई विपक्षीहरुले उठाएका थिए, काठमाडौँमा नानी मैया दाहाललाई उमेद्वार बनाएका थिए । दाहालले चुनाव जितिन। तर हर्क साम्पाङदेखि वालेन शाहको विजय गणतन्त्रको खिल्ली भन्दा पनि वैकल्पिक विवेकशील जनकेन्द्रित राजनीतिको विजय हो ।
दल तन्त्रमा रुपान्तरित नेपालको समकालीन राजनीतिको बेथिति विरुद्धको मत हो। दलहरुको लुटतन्त्र , नातावाद, शक्तिको दलालीमा रुपान्तरित नेपालको राजनीतिलाई सिद्धान्त  र नाराको वकालत भन्दा काम गर्ने जनमुखी राजनीति चाहिएको हो।  वालेन शाह देखि हर्क साम्पाङ लाई दिएको मतले त्यहि संकेत गर्दछ।  कम्तिमा जनप्रतिनिधिहरुले धेरै ठुला काम नगरिदिए पनि  असल र इमान्दार राजनीति होस भन्ने जनताको चाहना हो।  त्यहि चाहनालाई पुरा गर्न जनताले व्यवहार मुखी राजनीतिको चयन गरेका छन।

विश्व प्रजातन्त्रको सुचिमा नेपालको हैसियत त्यति राम्रो छैन । नेपाल आंशिक स्वतन्त्रता उपयोग गर्ने राष्ट्र हो। धरानको मेयरले फोहोर मैला सफा गरेर आफ्नो पहिलो कर्म गरे र भ्रष्टाचार  नगर्ने वाचा गरेका छन । स्थानीय साधन श्रोतको संरक्षण र विकासका लागि लडेका हुनाले उनीबाट धरानबासीले धेरै सुकर्महरुको अपेक्षा गरेका छ्न। सामाजिक संजालको प्रयोगबाट प्रचारित उनीहरुको उमेद्वार विजयी हुँदा जनता आफुले सहि व्यक्ति  छनोट गरेको अनुभव गरेका छ्न । 

हर्क साम्पाङलाई नै भोट किन दिए ? माथिको भिडियो हेर्नुस

अहिले नवनिर्वाचित जनप्रतिनिधिहरुका सामुन्ने विशाल चुनौतीहरु छन । स्थापित दलहरुको भन्दा राम्रो कार्य प्रदर्शन गर्नुपर्ने चुनौती छ। संघीयताको आधारमा स्थानीय क्षेत्रमा आफ्नो कार्य कौशलता देखाउनु पर्ने चुनौती छ।  काठमाडौँ र धरान नेपालमा राजनीतिक रुपले सचेत नगरहरु मानिन्छ । यहाँका जनताले आफ्नो मतको सदुपयोग भएको हेर्न चाहन्छन। धरानमा जहिले पनि वामपन्थी उम्मेदवारहरुले जित्दै आएको र ती वामपन्थी पनि संस्थापन पक्ष जस्तै यथास्थितिवादी भएकाले हर्क साम्पाङले मत पाएका छन। 

स्थानीय निर्वाचन जनताको अभिमत प्रकट हुने पहिलो खुडकिला हो। यस पटकको निर्वाचनले जनताको समस्यामा केन्द्रित स्थानीयहरुलाई चयन गरेको छ । सिद्धान्तहरुको नारा भन्दा ब्यबहारिक विकासमुखी राजनीतिलाई चयन गरेको छ। संघीय  गणतान्त्रिक नेपालको घोषणापछि नेपालको राजनीतिले जना अपेक्षा पुरा गर्नु पर्ने थियो तर पुरा गरेन । वैकल्पिक रुपमा चिनिएका विवेकशील र साझा पार्टीले पनि जनतालाई आकर्षित  गर्नुपर्ने थियो, त्यसो पनि  भएन। तब जनता स्वतः  दलहरुभन्दा व्यक्तिलाई हेर्न प्रवृत भए। विकासका एजेन्डा बोक्नेलाई चुन्ने हो  भन्न थाले । यहि बैकल्पिक शक्तिको संकेत हर्क साम्पाङ र वालेन शाहको बिजयले दिएको छ।

जितेपछिको पहिलो पत्रकार भेटमा साम्पाङले के भने? माथिको भिडियो हेर्नुहोस।

नेपालमा स्थानीय तहको पहिलो निर्वाचन २००३ सालमा राणा शासनको बेला भएको हो।  त्यसपछि प्रजातन्त्र स्थापना भएपछी २०१० सालमा भयो।  २०१५ सालको आम निर्वाचनदेखि आहिले सम्मको नतिजा हेर्दा नेपालमा निर्वाचित हुनेमा खस आर्य जातिकै बाहुल्यता छ। तर धरानको हकमा आफ्नो जाति र संस्कृति प्रभाव भएको क्षेत्र भएकोले धरानबाट साम्पाङ विजयी हुनुमा यहाँ राई लिम्बु मतदाताको बाहुल्य हुनुले पनि  हो ।
वालेन शाहले भने त्यो नियमलाई तोडेका छन । वालेन शाहले विकासको नारा र शुशासनको वचनले जितेका हुन । यी वैकल्पिक उमेदवारहरुको विजयले अहिले नै ठुलो राजनीतिक घटनाको रुप नलिए पनि भविष्यको लागि यो एउटा  संकेत हो। हर्क साम्पाङ भूतपूर्व लाहुरे परिवारको सदस्य हुन । धरानमा उनको समुदायको बाहुल्यता छ।  उनको जीतको कारक तत्व उनको समुदाय भए पनि सबै जाति र सम्प्रदायको मत उनले पाएका छन। अब आउने दिनमा शुसासन,भ्रष्टाचार शुन्यता,विकास र इमान्दारिता प्रति उनले जारी गरेको प्रतिबद्धताको परिक्षण हुनेछ।

तपाईको प्रतिक्रिया