काठमाडौं । हङकङमा कवि रोशन यक्सोको कवितासङ्ग्रह ‘सम्झनाको चोमोलुङ्मा’ लोकार्पण भएको छ । आइतबार जोर्डनस्थित याक एण्ड यति रेस्टुरेन्टको सभाहलमा सम्पन्न हङकङ साहित्यिक साझा शृङ्खलाको १४५औँ संस्करणको कार्यक्रममा शृङ्खलाका सहसंयोजक यक्सोको सङग्रह लोकार्पण भयो ।
जेठ १० गते नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न भव्य समारोबीच काठमाडौंमा लोकार्पण गरिएको सङ्ग्रहलाई डा। पुरण राईको प्रमुख आतिथ्यमा हङकङमा लोकार्पण गरिएको शृङ्खलाकी संयोजक जूनु रानाले जानकारी दिईन् । ‘सम्झनाको चोमोलुङ्मा’ माथि बोल्दै साहित्यकार बज्रकुमार थुलुङले रोशन कविताका पौराणिक परिभाषाभन्दा फरक देखिएको टिप्पणी गरे । सङ्ग्रहभित्रको पहिलो कविता ‘आमा रक’स् आफ्नालाई पर्खनेहरू १ शीर्षकको कविताको अंश वाचन गर्दै भने, ‘ अप्ठ्यारो कुनाको भिरमा सदियौंदेखि आफ्नो आडमा आफैं अडिएर उभिरहेको चट्टानको मिथक सुनेर आमाको प्रतीकात्मक र बिम्बात्मक कविता लेख्ने रोशन कविताका पौराणिक परिभाषाभन्दा फरक देखिन्छन् ।’
यस्तै, साहित्यकार तथा गीतकार जानु काम्बाङले ‘सम्झनाको चोमोलुङमा’ले पाठकलाई सोच्न बाध्य बनाउने बताईन् । समसामयिक विषयवस्तु र गहिरा भावनात्मक अभिव्यक्तिहरूले भरिएको टिप्पणी गरिन् । ‘सम्झनाको चोमोलुङमा प्रखर युवा कवि रोशन यक्सोद्वारा लिखित कवितासंग्रह हो, जुन समसामयिक विषयवस्तु र गहिरा भावनात्मक अभिव्यक्तिहरूले भरिएको छ । यस संग्रहमा उनका कविताहरूले जीवनको सुक्ष्म र जटिल तत्त्वहरूलाई उजागर गरेका छन्, यस संग्रहमा उनका कविताहरूले जीवनको सुक्ष्म र जटिल तत्त्वहरूलाई उजागर गरेका छन्’, उनले भनिन्’, ‘जसले पाठकलाई सोच्न बाध्य बनाउँछ ।’ यस्तै, यक्सोको लेखन शैली सहज र प्रवाहमय भएको पनि काम्बाङले बताईन् । उनले भनिन्, ‘कविताका प्रवाहलाई प्राकृतिक र सामाजिक दुवै तरिकाबाट समेट्नमा सक्षम छन् । कविताहरूमा मानवीय भावनाहरूको समृद्ध चित्रण रहेको छ, जसले पाठकलाई स्निग्धता र गहिराइमा ठूलो–ठूलो रोल खेल्छ । सिधै भन्नु पर्दा कविले सरल भाषामा गहिरा भावनाहरू व्यक्त गरेर अचुक सफलता हाँसिल गरिसकेका छन् ।’
कार्यक्रमको अध्यक्षता गरेकी हङकङ साहित्यिक साझा शृङ्खलाकी संयोजक जूनु रानाले पहिलोपटक आफूले अध्यक्षता गरेको कार्यक्रममा सहसंयोजक यक्सोको कवितासङ्ग्रह विमोचन गर्न पाउँदा खुशी लागेको बताईन् । उक्त कार्यक्रममा डा।पुरण राईको पाँचवटा विभिन्न विधाका कृति माथी परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा हङकङ साहित्यिक साझा श्रृङ्खलाका संरक्षकहरू, सल्लाहकारहरू, सदस्यहरू, कवि, लेखक, पत्रकार, गैरआवसीय नेपाली सङ्घका अध्यक्ष गोकर्ण ढकाल, नेपाली महासङ्घकी अध्यक्ष रिता गुरुङ विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, शिक्षा तथा सञ्चारकर्मी डाक्टर चुरा थापा, स्वास्थ्य क्षेत्रकी विशिष्ट व्यक्तित्व डा। टिका राना, इलाम समाजका अध्यक्ष वसन्त राई, खोटाङ समाजका सल्लाहकार जजिन चाम्लिङ, कवि सन्देश सुब्बा लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।