न्युयोर्क। नेपाली उत्पादन,भेषभुषा,कला र संस्कृति आदिलाई समेटेर एकै थलोमा जुन २९ आईतवार साँझ एक वृहत प्रदर्शनी सम्पन्न भएको छ। अमेरिकी नेपालीहरुद्वारा विश्व कै फेसन हब मानिने न्युयोर्कमा पहिलो पटक यस्तो ऐतिहासिक वृहत नेपाली फेसन मेलाको आयोजना गरिएको हो ।
न्युयोर्कको ज्याक्सनहाईट्स उड्साईडस, ६३-०१ रुजवेल्ट एभिन्युमा अवस्थित “द प्यालेस” को हलमा सो कार्यक्रम आयोजना भएको थियो। करीब २०० दर्शक माझ साँझ ७ बजेदेखी शुरुभै मध्यरात १२ बजेसम्म भरपुर मनोरंजन सहित संचालित सो कार्यक्रमले नेपाल पुरै झल्काएको प्रतीत हुन्थ्यो। विविध जातजाती र भाषाभाषीका समुदायले पहिरिने २७ प्रकारका पारम्परिक देखी आधुनिक पहिरनका साथ मोडलहरु र्याम्पमा संगीतको तालमा हिंडदा पुरै हल ताली र ह्विसेल बजाउँदै गुन्जायमान भएको थियो।
सो कार्यक्रमका ईभेन्ट प्रीसीडेन्ट चिरपरिचित फेसन कोरियोग्राफर,नेपालका चर्चित नायक, मोडल तथा निर्देशनको क्षेत्रमा ख्यातीप्राप्त प्रशान्त ताम्राकारले एउटै मंच मार्फत नेपालको समस्त फेसनलाई उजागर गर्दै विश्वभर फैलाउने र नेपाल र नेपालीलाई चिनाउने आफ्नो उद्देश्य रहेको बताए । सोचेभन्दा धेरै राम्रो कार्यक्रम भएकोमा आफु अत्यन्त खुशी भएको कुरा उनले व्यक्त गरे ।
” विभिन्न बिधामा प्रदर्शन गरीएको यो कार्यक्रम अमेरिकामै ऐतिहासिक एवं भव्यरुपमा सफल गर्न पाउँदा म र सिंगों आयोजक टीम अत्यन्त हर्षित छौं।” कार्यक्रम संयोजक सुर्य सिंखडा भन्छन् ।
कार्यक्रममा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु सहित सोचेभन्दा बढी दर्शक माझ नेपालको मेचीदेखी महाकाली र हिमालदेखी तराईसम्म छरीएर रहेका सबैजसो जातजातीको भेषभुसा झल्काउने पहिरनको प्रदर्शनी भएको थियो जसमा २७ जनाभन्दा बढी पुरुष र महिला मोडलहरुको सहभागिता रहेको थियोे ।कार्यक्रमको अन्त्यमा कायक्रमलाई सफल पार्न योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिनुका साथै बिबिध नृत्य र गाना एवं रात्रीभोजको समेत व्यवस्था गरीएको थियो।