काठमाडौं । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’ (निबन्ध सिद्धान्त र निबन्धहरू) सार्वजनिक गरिएको छ । सिरिजङ्गा लिपिमा प्रकाशित यो कृति २०८२ पुस ५ गते संघीय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो ।

मुन्धुम बुटिक एण्ड मेक्ख्ली हाउसद्वारा प्रकाशित उक्त कृतिको लोकार्पण किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, मुन्धुमविद यहाङ लाओती, साहित्यकार राधिका हुक्पा चोङबाङ, नेपाल प्रहरीका पूर्व प्रमुख चन्द्रकुबेर खापुङ, प्रकाशक मुन्धुम मिभक, कवि बिमला तुम्खेवा र लेखक निशेष आङदेम्बेले संयुक्त रूपमा गर्नुभएकाे थियाे ।

कार्यक्रममा कृतिमाथि प्राज्ञ अमर तुम्याहाङ, भिमा खजुम र डिबी आङबुङले समीक्षात्मक धारणा राख्नुभएकाे थियाे । समीक्षकहरूले लिम्बू साहित्यमा निबन्ध विधाको विकास र दस्तावेजीकरणका दृष्टिले कृतिलाई महत्वपूर्ण उपलब्धि भएकाे बताउनुभयाे ।

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ साहित्यकार आङदेम्बेको चौथो कृति हो । यसअघि उहाँले लिम्बू भाषामा ‘थाङबेन’ गजल सङ्ग्रह (२०६२), ‘हाङयुक्ना पाङयक’ निबन्ध सङ्ग्रह (२०६८) र ‘थिकनिसेन’ निबन्ध सङ्ग्रह (२०७७) प्रकाशित गरिसक्नुभएकाे छ  । साथै उहाँले आदिवासी जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र र आदिवासी जनजाति महासन्धि–१६९ (२०२०) लाई लिम्बू भाषामा अनुवाद गर्नुभएकाे छ ।

यस कृतिमा पश्चिमी, पूर्वीय, नेपाली तथा याक्थुङ (लिम्बू) साहित्यमा निबन्ध विधाको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ । लिम्बू साहित्यमा निबन्धको आरम्भदेखि वर्तमानसम्मको विकासक्रम, निबन्धकारहरू र प्रकाशित निबन्धहरूको विवरण समेटिएको छ । साथै निबन्धलाई ‘सुम्जो’, ‘सुम्’, ‘तङ्हुप्ला’ वा ‘थक्सुम्भो’ मध्ये कुन शब्द उपयुक्त हुन्छ भन्ने विषयमा लेखकले आफ्ना तर्क प्रस्तुत गर्नुभएकाे छ ।

पुस्तकको पहिलो अध्यायमा निबन्धको सैद्धान्तिक अध्ययन गरिएको छ भने दोस्रो अध्यायमा १६ जना स्रष्टाका विभिन्न निबन्धहरू सम्पादन गरी समावेश गरिएको छ । समेटिएका निबन्धकारहरूमा अमर तुम्याहाङ, आश मुरिङ्ला, डा. क्षितिज सुब्बा, दिलेन्द्र कुरुम्बाङ, निशेष आङदेम्बे, पूर्णकुमारी लिङ्देन, भीम कुरुम्बाङ, भीमा खजुम ‘मुसुम’, योगी एल. बी. नेम्बाङ, यहाङ लाओती, रूपलाल खाम्धाक, लछामी सेर्मा ‘पापो’, लेकाली कान्छा ‘मुक्कुम’, सन्तोष तेराप्पे, सुजुहाङ्मा याक्थुङ र सुहाङ्मा यङ्वागो रहेकाे छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले कृतिको भूमिकामा लेखक आङदेम्बेको निबन्धकारितामाथि विस्तृत विवेचना गर्नुभएकाे छ । उहाँले लिम्बू भाषाको निबन्ध लेखनलाई सन् १९२८–१९८० प्राथमिक काल, १९८१–२०१० माध्यमिक काल र २०११ देखि हालसम्मलाई आधुनिक कालका रूपमा वर्गीकरण गरिएको उल्लेख गर्नुभएकाे छ ।

लिम्बू साहित्यमा निबन्ध विधाको सैद्धान्तिक आधार र ऐतिहासिक विकासलाई समेट्ने यो कृति अध्ययन, अनुसन्धान र पाठकका लागि महत्वपूर्ण सन्दर्भग्रन्थ बन्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया