गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको स्वरले गीत ओजिलो बनाएको छ।
सन्तोष प्रगाढ राईको संगीत संयोजन रहेको गीतमा वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन तथा गोविन्द सोनीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमप्रतिको शुभेच्छा प्रस्तुत गरेको छ। सार्वजनिक भएलगत्तै गीतले श्रोतामाझ चर्चा पाउन थालेको छ। यसअघि २०७५ मा शिला खनालले राईकै ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन्।

त्यस्तै, २०७९ मा मनमा बि राई र २०८१ म नवराज पराजुलीले राईकै ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।
गीतकार राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा हुन्। दश वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आएका उनी साहित्य र पत्रकारितामा सक्रिय छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन्।

राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्। ‘लघुकथा सौन्दर्य’ मार्फत उनी लघुकथाको उन्नयनमा लागेका छन्। उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन्। गीतकार राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ। यसअघि उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ मार्फत पनि सम्पादन अनुभव बटुलेका छन्।

तपाईको प्रतिक्रिया