शेखर राई, न्युह्याम्पसायर, अमेरिका। युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) ले प्रेसिडेन्ट डेको अवसर पारेर आफ्नो आधिकारिक वेबसाइट www.ukroa.org भर्चुअल कार्यक्रममार्फत औपचारिक रूपमा सार्वजनिक गरेको छ। संस्थाका गतिविधि, योजना तथा अद्यावधिक विवरण समेटिने उक्त वेबसाइट यस अवसरमा उदघाटन गरिएको हो।

भर्चुअल कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष श्रीमती समिता राईले गर्नुभएको थियो। उहाँले संस्थाको नयाँ वेबसाइटको लोगो तथा फ्लायर अनावरण गर्दै वेबसाइट सार्वजनिक गर्नुभयो। सो अवसरमा अध्यक्ष राईले वेबसाइट निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने बिओडी सदस्य प्रेरणा राई, वेब डिजाइनर जमिन राई, समन्वयकर्ता तथा पूर्वअध्यक्ष जयकुमार राई तथा केन्द्रीय उपाध्यक्ष मुक्तिनारायण राईलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै, उहाँले प्रेसिडेन्ट डेको अवसरमा सम्पूर्ण उपस्थित महानुभावहरूलाई शुभकामना व्यक्त गर्नुभयो।

वेबसाइट निर्माण संयोजक तथा बिओडी सदस्य प्रेरणा राईले संस्थाको स्थापना कालदेखि हालसम्मको यात्रालाई समेट्दै नयाँ वेबसाइटको विस्तृत प्रस्तुति दिनुभयो। उहाँका अनुसार वेबसाइटमा संस्थाका गतिविधि, संगठनात्मक संरचना, आगामी कार्यक्रम, उद्देश्य, डोनेसन बक्स लगायत सम्पूर्ण अद्यावधिक विवरण समावेश गरिएको छ। त्यसैगरी, वेब डिजाइनर जमिन राईले वेबसाइट निर्माण प्रक्रियासम्बन्धी अनुभव तथा प्राविधिक पक्षहरू प्रस्तुत गर्दै सन् २०१९ देखि संस्थासँग सहकार्य गर्दै आएको सुखद् यात्राको स्मरण गर्नुभयो।

कार्यक्रममा प्रेरणा राई र जमिन राईलाई किराती परम्पराअनुसार फेटा, सम्मानपत्र, तिम्साम (तिनपाने) र दामराखी सायरेम (सम्मान) गरिएको थियो। वेब डिजाइनर जमिन राईलाई यूकेआरओएको न्यु इङ्गल्यान्ड च्याप्टरका अध्यक्ष कर्ण राई, डीएमबीपी च्याप्टरका अध्यक्ष डा. भवीराज राई, न्युयोर्क च्याप्टरका अध्यक्ष अरुण राई , ट्याफ च्याप्टर अध्यक्ष दमकाजी राई (ईवन) तथा क्यालिफोर्निया च्याप्टरका अध्यक्ष टिकाराम राईले च्याप्टरहरूको तर्फबाट सायबुङ (रकम) राखी सायरेम गर्नुभएको थियो।

संस्थालाई वेब डिजाइनर राईले दिँदै आउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै केन्द्रीय अध्यक्ष समिता राई, उपाध्यक्ष केशव राम राई, उपाध्यक्ष मुक्तिनारायण राई, न्यु इङ्गल्यान्ड च्याप्टरका कोषाध्यक्ष राकेश राई तथा पूर्वअध्यक्ष एवं संरक्षक सदस्य विष्णु राईले व्यक्तिगत रूपमा पनि सायबुङ (रकम) राखी सायरेम गर्नुभएको थियो।

कार्यक्रममा यूकेआरओएका पूर्वअध्यक्षहरू—चुना ग्रेस नेल्सन राई, शिवकुमार राई, मिलन राई, प्रभाकर राई, विष्णु राई, मुना राई, जयकुमार राई तथा केन्द्रीय कोषाध्यक्ष राजन कुथुमी राई र संस्थापक सदस्य धौलबीर राईले पनि शुभकामना तथा धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन केन्द्रीय उपाध्यक्ष मुक्तिनारायण राईले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया