नेपाली साहित्यमा चार दशकदेखि निरन्तररुप क्रियाशिल गोविन्द गिरी प्रेरणा एक स्थापित नाम हो । साहित्यको बिबिध बिधामा उत्तिकै शक्तिशाली उहाँका दर्जनौं कृतिहरु प्रकाशित  छ । उहाँको लेखनीले मानविय संवेदनाको शुष्म चेतनालाई निक्कै गहिरोगरि अभिव्यक्त गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

म गएपछि

म गएपछि
रित्तो हुनेछ
मैले ओगटेको ठाउॅं !

मैले वस्ने गरेको मेच
सुत्ने गरेको ओछ्यान
खाली हुनेछ !

मान्छेहरूको दृश्यमा होइन
मनमा पुग्नेछु
अभौतिक !

तर सडक हुनेछैन
सुनसान
जगत हुनेछैन
रित्तो !

केही समयको अन्तरालमा
म वसेको ठाउॅं
मैले सुत्ने ओछ्यान
केही पनि
रित्तो रहनेछैन ।

भित्तामा झुण्डिएको
तस्वीर झैं
खुईलिंदै जानेछु
मान्छेहरूको
मनवाट पनि !

संसार चलिरहनेछ
यथावत्
आफ्नै
सुर ताल र गतिमा !

ऐना फुटेपछि

ऐना फुट्यो
र भित्तावाट झर्यो
टुक्रा टुक्रा भएर ।

भित्ता छ
ऐनाको फ्रेम पनि छ सावुत
फगत ऐना छैन !

ऐना नभएपछि
मेरो अनुहार पनि हरायो
कतै देखिएन !

वटुल वाटुल पारें
फूटेको ऐनाका टुक्राहरू
र हेरें ऐनामा !

अहो मेरो अनुहार पनि
चकनाचुर भएछ
ऐनाका टुक्राहरूसॅंगै !

अव म नयाँ ऐनाको खोजिमा छु
ता कि म आफ्नो
सग्लो अनुहार फेरि हेर्न पाउॅं !

मृत्यको अंगालोमा

मृत्युको अँगालोमा
हाँसिरह्यो जिन्दगी !

आश्चर्यचकित मृत्यु
जिन्दगीलाई हेर्न थाल्यो-
किन हाँस्दैछ यो जिन्दगी
जब कि रोइरहेछन् आफन्त
नाता गोता
चिने जानेका
गाउँले सबै सबै !

जिन्दगीले हाँस्दै भन्यो-
म जन्मिएँ
र मर्दैछु
फेरि जन्मिनेछु
फेरि मर्नेछु
पुरानो खोलमा
सधैं रमाउन सक्दिन !

जिन्दगीले अझै भन्यो-
तिमी त केवल दर्श
न जिन्दगी भोग्छौ
न मृत्यु
तिमी त उही खोलमा
उस्तै एकरसतामा छौ
उराठ लाग्दैन तिमीलाई ?

मृत्युको जवाफ आउनु अघि नै
जिन्दगी मरिसकेको थियो !

 

तपाईको प्रतिक्रिया