पचासको दशकको प्रखर कवि जगत नवोदित हाल बेलायतमा बसोबास गर्नुहुन्छ । बेलायती सेनामा अफिसर तहमा कार्यरत उहाँको लेखनले मानवीय मनोवज्ञान र सामाजिक मुद्दाहरूलाई निक्कै मिहिनरुपमा उजागर गरेको हुन्छ । हालसम्म उहाँको प्रकाशित कृतिहरु: जीवन अनुभूति (कविता संग्रह), अक्षय आकृति (मुक्तक संग्रह), काँचो मुद्दा (कविता संग्रह) प्रकाशित छ । विभिन्न राष्ट्रिय पुरस्कारहरुबाट सममानित आजको साताको तीन कवितामा उहाँको कवितालाई समावेश गरिएको छ ।
लाहुरेफूल ! कसले बदल्छ तिम्रो नाम ?
फूल चोरीको दोष छ तिमीमा
आँफै तिमी फूल
आँफै तिमी माली
के जरुरी छ फूल चोर्न?
लाहुरेफूल!
गहिरो राजनीति छ यो आरोपमा
अस्ती
नालापानीमा शत्रुको गर्धन गिडेर तिमीले
सिमानाको रखबारी गर्नु के भुल थियो ?
र
बर्माको सिताङमा रगत बगाउन पुग्यौ
मलायाको जङलमा आसुँ पुछन पुग्यौ
हिजो
तिमीले रोप्यौ बीरताको बिरुवा- फक्ल्यान्डमा
फहर्यायौ बहादुरीको झन्डा- सद्दामको बंकरमा
र
फक्रायौ इमान्दारिताको फुल – अफगानिस्तानमा
पुग्यौ तिमी मानवताको ओखती बोकेर
अफ्रिकाको अध्यारो कुनामा
शायद जहाँ पुगेको थिएन
सगरमाथाको उचाइ र बुद्धको सन्देश
तर देश किन तिम्रो कथा पढ्न अंकनाइरहेछ?
आज
जताततै देख्छु -फुलिरहेको लाहुरेफूलहरु!
कोही देख्छु रोपिरहेको जागर- कोरियाको बगानमा
देख्छु कोही उमारिरहेको श्रम – मरुभुमीको घाममा
भेट्छु कोही बाँचिरहेको मिहिनेत – युरोप र अमेरिकामा
तर अचम्म यो छ-
केही छलीहरु गाइरहेछन स्वाभिमानको गीत देशमा
लाहुरेफूल !
अब तिमी आँफै भन
देशले तिमीलाई किन दोस्रो तहको मानिस देखिरहेछ?
के अर्जाप्नै पर्ने हो?
बुद्धीको खुकुरी
के तिखार्नै पर्ने हो?
ज्ञानको धनुषबाण
लाहुरेफूल! तिमी बाहेक कसैले फेर्ने छैन तिम्रो नाम।
आँशुको जीवन
आँसु रोयो
रोयो,
धुरुधुरु रोयो
कहिले रन्थनिँदै रोयो
कहिले भक्कानिएर रोयो
रोयो,
आँसु साँच्चै रोयो
विह्वल बन्दै विवश आँसु रोयो
रोएर बाँच्ने
आँसुलाई पनि इच्छा थिएन
वेदना सहेर जिउने
आँसुलाई पनि रहर थिएन
ऊ पनि हाँसोजस्तै बाँच्न चाहन्थ्यो
ऊ पनि खुसी भएर जिउन चाहन्थ्यो
तर
जब मुस्कान नजिक हुन खोज्यो ऊ
त्यो टाढा—टाढा भाग्दै गयो
जब खुसी नजिक पुग्न खोज्यो ऊ
त्यो झन्झन् दूर हुँदै गयो
आँसुले नित्य कर्ममा व्यस्त
घामलाई नियालेर हेरयो
जूनलाई गहिरिएर हेरयो
र आफ्नो कर्तव्यलाई सम्झ्यो
हो,
आँसु रुनलाई नै थियो
ऊ चेहरा भिजाउनलाई नै थियो
र फेरि यसरी आँसु
दुःखको भेलसँगै भक्कानिएर रोयो
धुरीलाई घोडा चढ्नेहरुको भीडमा भुइँमै बसेर गर्व गरिरह्यो
र
बगिरह्यो आँसु
प्रातमा
साँझमा
मध्यदिनमा
र प्रत्येक घाउमा निरन्तर
आज पनि
थुप्रै आँसुहरु
दुखेर माटोभरि बाँचिरहेछन् ।
वुद्व जन्मेको देशमा आजका स्वर-लहरीहरु
जड्याहा छिमेकीले
रातभर मलाई गाली गरिरह्यो
बुद्ध सम्झेर
चूपचाप कच्पल्टिएको निन्द्रा निदाइरहे
ऊट्पट्याङ केटाहरूले
मेरो घरको धुरीमा ढुङ्गा हानिरहे
बुद्ध सम्झेर
चुपचाप भत्कदै गरेको धुरी हेरिरहेँं
छलीहरूले हेर्दाहेर्दै
मलाई छल्नै नहुने कुरामा छले
बुद्ध सम्झेर
जानीजानी छल्न दिएँ
मेरो छोराले
मेरै कोटको गोजी काटेर हिड्यो
बुद्ध सम्झेर
ऊसलाई पनि केही गरिन
अचम्म! आफ्सेआफ
यतिबेला सबै जना उभिएका छन् मेरो अघि – माफि माग्न
थाहा छैन – के सम्झेर यिनीहरु आएका हुन्?
म भने बुद्ध सम्झेर
सबैलाई दिइरहेको छु- क्षमा
निश्छल यिनीहरुका आँखा पढेर
देखिरहेछु मेरो शान्तिमय आकास
कि अब
छिमेकीले ब्यर्थ गाली गर्ने छैन केटाहरूले अनाहक् ढुङ्गा हान्ने छैनन् ढाट्नेकाट्नेहरूले पनि त्यसै ढाट्ने काट्ने छैनन्
सोंचिरहेछु, सबैले बुद्ध सम्झेर बाँच्न सके त
आहा ! कति सुन्दर हुन्थ्यो होला हाम्रो धर्ती ?





