नेपाली कविता लेखनमा लेखक बिसुकुमार केशी एक स्थापित नाम हो । उहाँको कविताहरुमा लोकतन्त्र र जवाफदेहिता मुख्य रुपमा पाईन्छ यसका साथै मानवीय बिचारको आरोह अबरोह उहाँको कविताको अर्को महत्त्वपूर्ण पक्ष हो । प्रस्तुत छ साताको तीन कविता ।
म केवल एउटा नम्बर हुँ
म यो देशको
एक नागरिकता नम्बर हुँ
मतदाता-करदाता नम्बर हुँ
कामदार-कर्मचारी – बेरोजगारी नम्बर हुँ
राष्टृय परिचयपत्र नम्बर हुँ
सवारी चालक अनुमती पत्र नम्बर हुँ
घर नम्बर -टोल नम्बर – सडक नम्बर हुँ
यो दुनियाँ संख्या हो
म पनि एक जनसंख्या हुँ ।
म जन्मेको दिन र समय अंकमा अभिलेखित छ
म मरेको दिन र समय पनि अंकमा नै भनिन्छ
म जन्मदा एक संख्या थपिएको थियो
मरे पछि एक संख्या घटने छ ।
यो दुनियाँ हिसाबमा चलेको रहेछ
तर म भावनामा बगे
अनुभुतिमा रमाएँ/ रोएँ /हाँसे/ कहिले मौन रहेँ
चेतनामा ब्यूझिएँ चेतना मै निदाएँ
भाषामा व्यवहार गरे
इसारालाई पछ्याएँ
आखिर जिन्दगीको हिसाब अंकमा पो हुँदो रहेछ
यो दुनियाँ अंकगणित रहेछ ।
मेरो वजनको भार
वहन गर्दैनन कसैले
तौलेर कुनै तराजुमा
लेखिन्छ अंकमा,
मेरो लम्बाई, चौडाइ, उचाई र आयतनले
ओगडदैन कुनै स्थान,
नापिन्छ कुनै अंकको नापोमा
रेकर्ड गरिन्छ कुनै कागजको पानामा
या कुनै चिप्सभित्र अदृश्य तरङ्गमा,
मेरो नाम जो अक्षरमा कुँदने कोसिस गरिरहे
मेरो आवाज स्वरमा गुञ्जाउने यत्न गरिरहे
मेरो रुप चित्रमा कोर्ने प्रयासरत रहे
तर यो प्रविधिको दुनियाँ,
सबै कुरा बायोनरी अंकमा कोडिङ्ग गर्दोरहेछ
के म साच्चै अंक हुँ
अंकमात्र हुँ ?
मेरो नाम विर्सदै जाने छन
मेरा आफ्ना र आफन्तहरूले पनि
भेटिने छैन कुनै कथामा, पुराणमा, इतिहाँसमा
मेरो आवाज विलाउनेछ
भुमण्डलमा, बायुमण्डलमा, अन्तरिक्षमा
मेरो रुप खुइलिने छ, धमिलिने छ मेटिने छ
म हराउने छु
समयको गर्तमा
सायद मलाई अलि लामो समयसम्म
गुगलले खोज्ने छ
गुगलले भेट्टाउने छ अंकमा
एआइले सम्झने छ
नाम खोजेर डेटा भण्डारमा,
सुनाउने छ आवाज
कोर्न सक्ने छ रुप
विधिले स्थुलमा साच्न सकेन
प्रविधिले अंकमा समाहित गर्ने छ
यो हिसावको दुनियाँमा
मान्छे केवल अंक हो
यो प्रविधिको युगमा
मान्छे केवल डेटा हो
मान्छे अब एउटा डिजिटल प्राणी हो
म केवल एउटा नम्बर हुँ ।
……………………..
रुमाल
सम्झ म एउटा रुमाल
मैलो लाग्यो भने
पानीमा चोपल
साबुन दल
वेस्सरी मिच
दुई हातले समातेर बटार / निचोर
तरर… चुहिने छ
मेरो माया
तिमिमा समर्पित
तिमी मै आसृत ।
सम्झ म एउटा रुमाल
तिम्रो श्रम, परिश्रम र पौरखको पाहाड
पोको पर्न त नसकुँला
तर निधारका पसिनासम्म पुछ्न सक्छु ।
तिम्रा दु:ख /पीडा/चोट/ व्यथा
पुरै सम्हाल्न नसकुँला
अपमान/ उपेक्षा /धोका/ अनेकौ प्रहारहरू रोक्न नसकुँला
तर मन दुखेर तिमी रुँदा
आँसुका थोपाहरूसम्म पुछिदिन सक्छु ।
सम्झ म एउटा रुमाल
सानो/ टुक्रो/ मात्र टालो
पुरै शरीर छोप्न नसकुँला
सारा शीत ताप रोक्न नसँकुला
सर्वाङ्ग तिम्रो इज्जत ढाक्न पनि नसकुँला
तर अभर परेको वेला
अलिकती लाजसम्म छोप्न सक्छु।
सम्झ म एउटा रुमाल
म त भन्छु
दिलभित्र राख
मन लाग्दैन भने
कम्तिमा हैण्ड व्यागभित्र
जतन गरेर राख
कहिले काहीँ काम लाग्छ
विन्ती डस्टविनमा चै नफाल
तिमिलाई पाप लाग्छ ।
……………………..
पसल
यति धेरै पसलहरू थापेको छु
आफै बिक्रेता आफै ग्राहक भएको छु
मेरो मन पनि मैले बजार बनाएको छु
आफैलाई मोलमोलाई गर्छु
आफैसंग उधारो माग्छु
एकातिर बिक्री नभएको चिन्ता छ
अर्कोतिर किन्न नसकेको पीडा छ
कहिले काँहि
विन विन डिल गरेको छु
मेरो मन पनि मैले बजार बनाएको छु ।
भाउ घटेको पनि चिन्ता छ
भाउ बढेको पनि पिर छ
सम्बन्धहरूको आयात निर्यात असन्तुलन हुँदाका पीडा छ
माग र आपुर्ती घटबढ भैरहन्छ मायाको
झुटा विग्यापन र प्रचार पनि गरेको छु भए नभएको
रहरको कालो बजारी पनि गरेको छु
यसरी जिन्दगी बजार बनाएको छु।





