व्यक्तीत्व –  विमला तुम्खेवा
तीसको दशकको शक्तीशाली लेखक कवि,कथाकार, निबन्धकार, नियात्राकार भुवन ढुङ्गानाको जन्म बिक्रम सम्बत २००३ साल जेठ २ गते गहेलीटोल, विराटनगरमा भएको हो । माइती कोइराला त्यसकारण लेखनको सुरुवाती समयमा उहाँलाई भुवन कोइरालाको नामले चिनिन्थ्यो तर राजनितिज्ञ मानव अधिकारकर्मी दमननाथ ढुङ्गानासँग विवाह भएपश्चात भुवन ढुङ्गानाका रुपमा नेपाली साहित्यको क्षेत्रमा स्थापित हुनुभयो ।

उहाँको लेखनले विशेष गरी नेपाली समाजको यथार्थ परिदृश्य, महिला चेतना र जीवनका विविध पक्षहरू प्रस्टसँग चित्रण गरेको हुन्छ । जुन समयमा उहाँ लेखनमा आउनुभयो त्यो समय महिलाहरुको निम्ति प्रतिकुल थियो । धेरै कम महिलाहरु लेखनमा थिए, जति थिए तीनले गर्नु परेको संघर्ष निकै कष्टपुर्ण थियो । ढुङ्गानाको लेखन भने २०२६ सालमा मधुपर्क साहित्यिक मासिकमा कविता प्रकाशन भएपछि हस्ताक्षपकारी रुपमा स्थापित भयो । हुन त सत्ता र शक्तिकै दृष्टिकोणले हेर्ने हो भनेपनि उहाँ सिधै कोइराला परिवारसँग नजिकको सम्बन्धको सन्दर्भ नेपाली साहित्यवृतमा सधैँ चर्चाको बिषय बन्ने गरेको छ ।

लेखनमा राम्रो दखल त थियो नै साथै नृत्यमा पनि उहाँको उतिक्कै रहर थियो यही कारणले पनि भुवनलाई वीपी कोइरालाकी पत्नी शुसीला भाउजु कहाँ पुर्यायो । त्यो बेला शुसीला भाउजुले बिराटनगरमा नृत्य प्रशिक्षण स्कुल खोल्नु भएको थियो । जुन स्कुलमा नृत्य सिक्न जानु एक सुखद सन्जोग नै भयो उहाँको जीवनको। यो २०१५–१६ सालतिरको कुरा हो । उहाँ भन्नुहुन्छ `हामी दस बाह्र जना विद्यार्थी थियौँ । नृत्य सिक्न गएका ति दिनहरु सम्झदा लाग्छ म पढाइमा राम्रै विद्यार्थी थिएँ ।´
एकदिन स्कुलमा अंग्रेजी बिषय पढाउने शिक्षीकाले घरमा आएर नृत्य सिक्न गएर पढाइ बर्बाद हुने भयो भनेर परिवारसँग गुनासो गरेपछि उहाँको नृत्य सिक्ने रहर अधुरै रह्यो । तर धेरै दिन नगएपछि शुसिला भाउजु घरमै आएर तिमीलाई म अंग्रेजी पढाइदिन्छु भोलीदेखि नियामित कक्षामा आउनुपर्छ भनेपछि फेरि नृत्य सिक्ने सिलसिला निरन्तर रह्यो। त्यो मोडको परिमाण स्वारुप पछि भुवन कोलोम्बो प्लान अंर्तगत नृत्य शिक्षा सम्बन्धी उच्च अध्ययनका लागि बिदेश जानुभयो। तर त्यो कला र रहर बीच बाटो मै अधुरै छुट्यो । मात्र लेखन आजसम्म छ । उहाँ भन्नुहुन्छ `यही अवसरका कारण मैले साहित्य संगीत नृत्य कलाको त्रिवेणी देखें, रविन्द्रनाथ ठाकुरको बहु आयमिक व्यक्तित्वलाई चिने ।´

नेपाली साहित्यमा उहाँ आउनु र महिलाका मुद्दाहरू उजागर हुनु एकै समय जस्तो छ। त्यसो त महिला साहित्यकारहरूको उदय विशेषत २००७ सालको प्रजातन्त्र प्राप्ति र त्यसपछिको तीसको दशकमा भएको स्पष्ट देखिन्छ । यो समयमा नेपाली महिलाहरूले सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा आवाज उठाउन थाल्नुका साथै आफ्नो साहित्यिक यात्रा प्रारम्भ गरेका थिए । नेपाली समाजको संरचनाकै कारण महिलाले भोग्नु परेको जीवन अनुभव,पीडा, असमानता र अन्यायलाई लेखनको माध्यमबाट दह्रो रुपमा प्रतिकार गरे। यो नेपाली साहित्यको बैचारिक तहमा देखिएको एक रहरलाग्दो परिवर्तनको सुरुवात थियो ।
भुवन यही बिद्रोहको एक दह्रो व्यक्तित्व हुनुहुन्थ्यो । साहित्यीक कार्यक्रमको सबै जसो स्थलहरुमा उहाँ कविता लिएर पुग्नुहुन्थ्यो । बैचारिक बहसहरुमा उहाँको दह्रो उपस्थीति रह्यो। यो पंक्तिको अघि पारिजात जस्तो शक्तीशाली लेखक थियो भने पछि तोया गुरुङ, कुन्ता शर्मा , हिरण्यकुमारी पाठक, माया ठकुरी, वानीरा गिरी लगायत धेरै शक्तीशाली लेखक थिए । सायद यही कारणले तीसको दशकलाई नेपाली साहित्यको उर्भर समय हो भनेर चिनिन्छ । राणा शासनको अन्त्य र प्रजातन्त्रको आगमनले शिक्षामा पहुँच र अभिव्यक्तिको स्वतन्त्रताप्रति यो समय महिला लेखकहरु रचेत रहे । यही समयमा लेखनको माध्यामबाट महिलाहरूले लैंगिक असमानता र पुरुषप्रधान समाजको संरचनालाई चुनौती दिने प्रयास गरे । सायद यही कारण हुनसक्छ भुवनका लेखनले महिलाका पीडा, संघर्ष, र सामाजिक असमानतालाई स्पष्ट चित्रण गरेको हुन्छ । भुवनको विवाह नेपालको प्रख्यात नेता, संविधानसभा सदस्य र लेखक दमननाथ ढुङ्गानासँग हुनु आफैमा थप चुनौती थियो। ढुङ्गाना नेपालको प्रजातान्त्रिक आन्दोलनका सक्रिय व्यक्तित्व हुनुहुन्छ ।

तीसकै दशकमा नेपाली साहित्यको मुलधारमा महिला लेखकहरुले चेतना र सशक्तीकरणको दृष्टिकोणले बिद्रोह गरे । र प्रतिकार स्वरुप उनीहरूको लेखनमा महिला अधिकार, स्वतन्त्रता, र आत्मनिर्भरता झल्कियो आफ्नो लेखनमा लैंगिक विभेदका कारणले भोगेका अन्याय र संघर्षलाई समेटे । आफ्नो जीवनको अनुभव र भोगाइलाई लेखनमा आत्मपरक ढंगले प्रस्तुत गरे । समाजमा महिलाले भोग्नुपरेका यथार्थतालाई प्रस्टरुपले लेख्ने हिम्मत गरे । यसले नेपाली साहित्य शक्तीशाली बन्दै गयो । यो योगदानले नेपाली साहित्यमा विविधता, मौलिकता र सामाजिक परिवर्तनको स्वर थप्यो । साच्चै भन्ने हो लेखनमै स्थापित हुन चाहने महिलाहरुको निम्ति यो दह्रो जग थियो । नेपाली साहित्यलाई नयाँ दृष्टिकोण र संवेदनशीलता प्रदान गर्ने शैली निर्माण भयो । यो मालामा भुवन एक जबरजस्त फुलको थुङगा हुनुहुन्छ ।

उबेला ‘जनमञ्च’ साप्ताहिक पत्रिकामा ‘हक-बेहक’ स्तम्भमा आफ्ना सोचहरु साहित्यिक भाषामा संवेदनशील ढङ्गले राख्न सफल त्यो बेलाको राजनितिक प्रतिकुलताको बीच देखि अहिलेसम्म निरन्तर भुवनले लेखिरहनु भएको छ । नेपाली साहित्यमा गुञ्जनको आफ्नै गरिमा छ । उबेला भुवन ढुङ्गानाले १२ जना लेखिकाहरुसँग सहमति गरी नयाँ किसिमको साहित्यिक सक्रियता,जागरण ल्याउन र स्तरीयता विकास गर्न गुञ्जन समूहको स्थापना गरी पुर्याउनु भएको योगदान नेपाली साहित्यमा सधैँ प्रशनसनीय छ ।
उहाँको लेखनमा प्रेम, प्रकृति, र सामाजिक न्याय सांस्कृतिक र समकालीन मुद्दाहरूको आलोचनात्मक विश्लेषण पाइन्छ । लेखन शैली सरल हुदै गर्दा प्रष्ट र सशक्त हुनु उहाँको लेखनको अर्को शक्ती हो ।

हाल वी पी आत्मवृतान्तमा लेख्न थालिएको धारावाहिक निबन्ध पूरा गर्ने तर्फ सक्रिय यसका केही अध्यायहरु कान्तिपुर २०५५ मा प्रकाशित भईसकेका छन् । पछिल्लो पुस्ताको लेखनलाई नजिकबाट नियालीरहेकी भुवनको युवा पुस्तालाई खास ठुलो सल्लाह केही छैन तर बर्तमान समयमा तुलानात्मक दुष्टिकोणले हेर्दा संख्यात्मक रुपमा महिला लेखनको सहभागिता बढेको तर गुणात्मक प्रतिस्प्रर्धामा आउन अझ केही समय पर्खिनु पर्ने हो कि भनेझैँ लाग्छ कीनकी साहित्य लेखनमा सहभागी नै ठुलो कुरा होइन लेखकको लेखकीय दुष्टिकोण ठुलो कुरा हो । भारतका चन्द्रधर शर्मा गुलेरी भने एऊटै कथा “उसने कहा था“ लेखेर साहित्यमा स्थापित भए । म पनि संख्यात्मक होईन गुणात्मक लेखको खोजीमा छु, पयत्नरत छु ।
नेपालमा के हो लेखनको महत्व ? को हो यो समाजमा लेखक ? यो देशको हरेक परिवर्तनको मोडहरुमा साहित्यकारले पुर्याएको योगदान महत्वपुर्ण छ । त्यसो त भारतमा महाश्वेता देवि र अरुन्धती रायले समाज सुधार र साहित्यलाई सँगसँगै लगेका छन् । मान्यता पनि पाएका छन् गर्दा नहुने के छ ।
श्रीमानको लेखनमा कती सहयोग रह्यो भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ दमननाथ ढुङ्गाना साहित्यको गम्भीर पाठक मात्र होईन , स्वयम् पनि बिसको दशकतिर चिनिएका कलमजिवी हुनुहुन्थ्थो । तीसको दशकमा ‘संचय’ (बासु शशीको सम्पादन) पत्रिकाका लागि वीपीसँग लिएको अन्तवार्ता निकै चर्चित छ । मेरो लेखनको प्रारम्भिक चरणमा सुन्ने सुनाउने धेरै हुन्थ्यो । तर पछिल्लो समय बिधा बेग्लाबेग्लै भयो । अब त सम्झना बाकी मात्र छ ।
देशमा लोकतन्त्रको उदयसँगै लेखकीय धारहरु फराकिलो हुँदै आएको छ र साहित्यवृतमा लेखनमा आएको विभिन्न बिचारहरुले नेपाली साहित्यको भविष्य उज्वल छ । बिचारको दृष्टिले नेपाली साहित्य अब अन्तराष्ट्रिय स्तरमा जान सक्ने भैसक्यो खासगरि भारत बंगलादेश पाकिस्तान  प्रतिस्पर्धामा आउन सक्दछ । उहाँ भन्नुहुन्छ महिला लेखनको उपस्थिति पहिले भन्दा धेरैनै बढेको छ । अहिले प्रकाशन गर्ने, महिला लेखकले स्पेस पाउने कुरा सजीलै छ । मानवीय चरित्र र गुणहरु त सबैजसो मुलुकमा उस्तै उस्तै हुन्छन् खासगरी दक्षिण एसीयली मुलुकहरुमा । तर एउटा लेखकले बिषयबस्तुको प्रस्तुती आफ्ना लेखनमा कसरी गर्दछ त्यो महत्वपूर्ण कुरा हो । हाम्रा लेखकहरु रोजीरोटीको निम्ति दोहोरो पेशा गर्न वाध्य छन् । यो अवस्था र चुनौतीबीच लेखकहरुले लेखिनै रहेका छन् त्यो नै सराहनीय छ ।

तपाईको लेखनमा वीपीको लेखनशैली र बिचारको गहिरो प्रभाव छ भन्ने चर्चा छ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ `मुलुकमा प्रधानमन्त्रीहरु ,राजनीतिज्ञहरु त धेरै भए । तर वीपीको मात्रै सधैं कालजयी रुपमा नाम लिनुपर्ने कारण के हो भने उहाँको साहित्यीक देन नै प्रमुख हो । त्यो बेलाको समाजमा उहाँको महिलालाई हेर्ने अग्रवादी दृष्टिकोणको म सधैँ प्रशंसक हुँ उहाँले जेलमा लेख्नु भएको उपन्यास “तीन घुम्ती”को पात्रलाई बुझे पुग्छ । २०२६ सालतिरको कुरा हो वीपी बनारसमा निर्वासित जीवन बिताईरहनु भएको थियो । संयोगले मलाई पनि बनारस जाने मौका मिल्यो । म र पुरुत्तोम बस्नेत साहित्यीक पत्रिका “ सिउडी “ सम्पादन गर्दथ्थौँ । वीपीसँग केही कविता छन् कि भनेर मागे । उहाँले खाटमाथि बसेर चार ओटा कविता सुनाउनु भयो। ती कविताहरु पछि सिँउडीमा छापियो त्यो घटना मेरा लागि चिरस्मरणीय छ । कुराकानीको अन्त्यमा उहाँले नयाँ पुस्ताका लेखक, लेखिकाहरुले पुरानाहरुलाई पनि पढ्नु पर्दछ । उनीहरुले समयमा कसरी लेखेका रहेछन् । उनिहरुको लेखकीय धारणा कस्तो रहेछ भनेर बुझ्न जरुरी छ । कीनकी हामी अझै सामाजिक रुपान्तणको लडाईमा छौं ।

तपाईको प्रतिक्रिया