नेपाली बाल साहित्य लेखनमा रन्जुश्री पराजुलीको नाम अग्रस्थानमा आउछ तर साहित्यको सबै बिधामा उहाँ समानरुपमा कलम चलाउनुहुन्छ । शिक्षण पेशासँग आवद्व उहाँले लामो समयसम्म पद्मकन्या कलेज,त्रिभुवन विश्व विध्यालयमा लामो समय अध्यापन गरेको अनुभव छ । दर्जन भन्दा धेरै साहित्यको विभिन्न बिधामा लेखिएका उहाँको पुस्तक प्रकाशित हुनुको साथै कयौं सम्मान र पुरस्कारबाट सम्मानित हुनुहुन्छ । प्रस्तुत छ पाँच प्रश्नमा उहाँसँग गरिएका कुराकानी ।
१, नेपाली साहित्यमा तपाईंको प्रवेश कसरी भयो ?
म नेपाली साहित्यमा कसरी प्रवेश गरें भन्ने कुरामा म आफैं ताजुप भएकी छु । मेरो परिवारमा साहित्यकार कोहि पनि थिएन । मेरो बुबा त्यस बेला कलकत्ता मेडिकल कलेजमा चिकित्सा शास्त्र पढ्दै हुनु हुन्थ्यो । घरको वातावरण शैक्षिक थियो । आमा काकीहरुले स्कुले शिक्षा प्राप्त नगरे पनि एकोहोरो पुस्तक पढ्न सक्नु हुन्थ्यो । उहाँहरुले मुनामदन,दन्तेकथा,गुलबकाबलीको कथा, वीर सिक्का आदिको कुराकानी गरेको सुनेर सायद मलाई त्यसको प्रभाव पर्यो कि ? अनि मैले उच्च शिक्षा अर्थात् एम ए नेपाली विषयमा गरें ।त्यसपछी मेरो साहित्य पढ्ने र लेख्ने काम द्रुत गतिले लम्कियो । आज नेपाली वाङ्ग्मयको क्षेत्रमा जसरी स्थापित छु त्यो त्यसैको प्रतिफल हो ।
२ तपाईंलाई मनपर्ने लेखक को र किन ?
मलाई मनपर्ने लेखकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर धेरै छन् । सर्वप्रथम त आदिकवी भानुभक्त जसले गोर्खे भाषालाई नेपाली भाषाको रुप दिए अनि रामायणलाई नेपाली भाषामा अनुवाद गरे । त्यसपछि शास्त्रीय कवि लेखनाथ पौडेल, लक्ष्मी प्रसाद देवकोटा माधव प्रसाद घिमिरे,बालकृष्ण सम ,भुपी शेरचन आदि आदि र पश्चिमी साहित्यकारहरुमा वड्स्वर्थ, शेली ,किथ, लियो टल्स्ट्वाय आदि मन पर्छ । तिनका रचनाहरु पढेको पनि छु । हाल आएर आजको साहित्यको आधुनीक कालमा धेरै अन्तर्राष्ट्रिय स्तरका नेपाली साहित्यकारहरु पनि देखिदै छन् । यो साहित्यको क्षेत्रमा गौरव गर्ने कुरा भएको छ ।
३ बालसाहित्यको अवस्था र सुधार्न गर्नु पर्ने पक्षहरु के के छन् ?
वर्तमान अवस्थामा बाल साहित्यको लेखन द्रुत गतिले हुँदै गएको छ । तर यो क्षेत्रमा गर्नु पर्ने कुराहरु धेरै बाँकी छन् । नामले मात्र बाल साहित्य नभै बाल मानसिकताको अध्ययन गरेर शिक्षामुलक ,मनोरञ्जनात्मक ,चित्रात्मक, बालकको उमेर सुहाउँदो शब्द शैली र चित्र समावेश भएको बाल साहित्यको सृजना हुनु पर्छ । आज यो चेतना बाल साहित्यकारहरुमा आईसकेको छ । आजका बाल साहित्यकारहरु संख्यात्मक नभई गुणात्मक अन्तर्राष्ट्रिय स्तरको लेख्नु पर्छ भन्ने सोच राखेर अगाडी बढिरहेका छन् । धेरै हद सम्म उनीहरु सफल पनि भएका छन् ।
४ नेपाली साहित्यमा महिला लेखकहरुको अवस्था कस्तो छ ?
नेपाली साहित्यमा महिलाहरुको अवस्था विकासोन्मुख नै छ। उनीहरुमा पनि साहित्य तर्फ अगाडि बढ्ने चाहना जगृत भएको छ । महिलाहरु यसरी साहित्य लेखन तर्फ उन्मुख हुनु राम्रो हो । यस कार्यमा उनीहरुले घर भित्र सहयोग र प्रेरणा पाउनु पर्छ । हामीहरुद्वारा लेखिएका साहित्यले प्रकाशित हुने मौका पनि पाँउनु पर्छ । यो बिषयमा नेपाली महिलाहरु अलि अन्यायमा परेका छन् ।म आफैं यो पक्षको अनुभवी छु ।
५. पछिला बर्ष तपाईं के मा व्यस्त हुनुहुन्छ?
अलिकता विस्तृतमै भनुम । नेपाली साहित्यको क्षेत्रमा करिब तीन दर्जन जति बाल साहित्यका कृतिहरुका साथै प्रौढ सहित्यतर्फ कथा, लघुकथा, समालोचना, खोज मुलक बाल साहित्यको कृति र नियात्रा संग्रह प्रकाशित गरिसकेको छु । २०४१ सालमा प्रकाशित मेरो नियात्रा संग्रह ” बिदेशमा बिताएका केही बर्ष” प्रकाशित भएको छ। यो नियात्रा संग्रह नेपाली साहित्यमा नै महिलाद्वारा रचित पहिलो नियात्रा संग्रहको रुपमा इतिहास रच्न सफल छ । मेरो दोश्रो नियात्रा संग्रह ” फनन फन्को” प्रकाशोन्मुख छ । म आफुले घुमेर बटुलेका अनुभवहरु पाठकहरु सङ्ग बाड्न रमाउँछु । त्यसैले म नियात्रा लेख्दैछु । हाल नियात्रा लेख्ने क्रम जारी रहने छ । मलाई यसरी केही प्रश्न सोधेर आफ्नो बिचार यहाँहरु समक्ष राख्ने मौका दिनु भएकोमा हङकङ खबर टिमलाई हार्दिक धन्यवाद छ ।