न्युयोर्क ,अमेरिका । “अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिता उदाँउदो मगर पुस्तालाई मगर भाषा , संस्कार , संस्कृति पुस्तान्तरण आजको आवश्यकता ’’ भन्ने मूल नाराको साथ मगर संघ अमेरिका केन्द्रीय समितिको १०औं बार्षिक साधारण सभा अगस्ट ०८, २०२६ मा म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा हुने भएको छ । साधरण सभाको अन्तिम तयारीमा रहेको अध्यक्ष दिप सागर बुढा मगरले बताउनु भयो ।

मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टरको मुख्य ब्यबस्थापनमा हुन लागेको साधारण सभामा प्रमुख अतिथिको रुपमा बिश्वप्रसिद्व पर्वतारोही तथा प्रेरक बक्ता (Motivational Speaker) हरि बुढा मगर बेलायतबाट आउने भएका छन । अफगानिस्तानको युद्वभूमिमा भएको बिस्फोटनमा दुवै खुट्टा गुमाएका बुढा मगर कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले विश्वका सातै महाद्वीपका अग्ला हिमाल आरोहण पूरा गर्ने पहिलो ‘डबल एभब नी’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) आरोहीका रूपमा कीर्तिमान कायम गरेका व्यक्ति हुन् । रोल्पाको विकट गाउँदेखि ब्रिटिस गोर्खा सैनिक बन्ने सपना, त्यसपछि युद्वमा भोगेको चोट, अनि अन्ततः सातै महादेशका सर्वोच्च शिखरमा पुगेर संसारलाई देखाइएको साहस—हरिको जीवन कथा भावी पुस्ता, विशेषगरी अपांगता भएकाहरूका लागि थप प्रेरणा दिने एउटा जीवित पाठशाला हो ।

नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मान बहादुर राना मगर अलबानीबाट आदिवासी समुदायको अधिकार र अन्तर्राष्ट्रिय महासंघका सवाल बारे बिशेष सम्बोधन गर्न , अन्तर्राष्ट्रिय मगर महासंघका महासचिब बिरभान घर्ति मगर बेल्जियमबाट अन्तर्राष्ट्रिय मगर महासंघको आवश्यकता र महत्व बारे प्रकाश पार्न र त्रिभुवन विश्वविधालयका प्रोफेसर झकेन्द्र घर्ति मगर नेपालबाट “मगरात सभ्यता, मगर जातिको इतिहास र पहिचान” बारे कार्यपत्र प्रस्तुत गर्न र कार्यक्रमको सफलताको शुभकामना दिन विशिष्ट अतिथिको रुपमा आउदै हुनुहुन्छ । मगर संघ अमेरिका केन्द्रीय समितिका पुर्व अध्यक्ष महेन्द्र थापा मगर, रुद्र आले मगर, कुलदिप राना मगर र निवर्तमान अध्यक्ष याम पुन मगरको बिशेष उपस्थिति रहनेछ ।

संस्थाको इतिहासमै पहिलो पटक बोस्टन शहरबाट “बोस्टन घोषणा पत्र २०२६” पारित हुने र मगर संघ अमेरिका, अमेरिका भर फैलिएको, अमेरिका भर रहेका मगरहरुको एकताको सन्देश दिने अध्यक्ष दिप सागर बुढा मगरले बताउनु भयो । अध्यक्ष बुढा मगरको अनुसार कार्यक्रमलाई “मगर सांस्कृतिक परेड (Magar Cultural Parade 2026”) , “समुदघाटन समारोह” , “बन्द सत्र” र “शुभकामना सांस्कृतिक साँझ 2026” गरि चार चरणमा बिभाजन गरिएको छ । करिब दुई माइलको लामो मगर सांस्कृतिक झाँकी सहितको “मगर सांस्कृतिक परेड (Magar Cultural Parade 2026”) पदयात्रा गरिनेछ । प्रमुख अतिथि बुढा मगरलाई बिशेष अभिनन्दन गरिने छ र बिबिध विधामा संस्थाका धरोहरहरुलाई सम्मान गरिनेछ । “मगर छात्रवृति २०२६” अमेरिकामा अध्यनरत १० जना उत्कृष्ट बिधार्थीहरुलाई प्रदान गरिनेछ । संस्थाका नयाँ आजीवन सदस्यहरुलाई सदस्यता प्रदान गरिनेछ। बन्द सत्रको समापन पछि “शुभकामना सांस्कृतिक साँझ 2026” मा चर्चित कलाकारहरुको साथमा बिभिन्न च्याप्टरहरुको बेजोड सांगेतिक प्रस्तुति रहनेछ ।

यसैगरी सभाको मुख्य व्यवस्थापनको हैसियतले म्यसचुसेट्स च्याप्टरले बिभिन्न उप-समितिहरु गठन गरेर कार्यक्रमलाई चुस्त बनाउन लागि परेको म्यसचुसेट्स च्याप्टरका अध्यक्ष देबराज पुन मगरले बताउनु भयो ।

अमेरिका भर छरिएर रहेका नेपाली र नेपाली मुलका सम्पुर्ण मगरहरुलाई मगर संघ अमेरिकको एउटै छातामुनी गोलबद्व गरेर आपसी भेटघाट सहयोग आदानप्रदान लगायत बिबिधतामा एकता रहेका हामी मगरहरुको भाषा, भेष, संस्कार, संस्कृति र रितिरिवाज तथा परम्पराहरुलाई अमेरिकामा संरक्षण र सम्बर्द्वन गर्दै अमेरिका मै रहेका अन्य नेपाली समुदायहरुसंग समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ मगर संघ अमेरिकाको स्थापना सन २००४ मार्च २८ को दिन न्युयोर्कमा गरिएको हो ।

 

तपाईको प्रतिक्रिया