नेपाली कविता लेखनको क्षेत्रमा एक प्रशस्त सम्भावना ,आशा र भविष्य बोकेको शक्तिशाली नाम हुन सक्छ सागर साम्बा आउने दिनमा। मोरङको पथरीमा बसोबास गर्नुहुने साम्बाको कविता हाल लेखी रहेको नेपाली कविताहरुमाझ हिमालको चिसो बतासको बीचमा न्यानो घाम जस्तो चेतनाको त्यो झिल्का हो । जसलाई बढिसकेपछि पाठकलाई सोच्न वाध्य बनाउछ । प्रस्तुत छ साताको तीन कविता।
झरीसँग प्रेम
माथि
नीलो आकाशमा
उत्साहको बिस्कुन फिजाउदै फिजाउदै
मस्त खेलीरहेछ कालो बादल।
जीवन उमार्ने महान यात्रामा
उधोतिर रमिता हेर्दै हेर्दै
धरतीमा खस्छ झरी बनेर।
बादललाई झरी बन्न,
त्यति सजिलो कहाँ छ र?
विशाल खाडीहरुसँग सम्बन्ध तोड्दै
माथि उड्न
आकार बदल्नुपर्छ उस्ले।
छितिजसँग अनुमति लिएर
सुचनाको झिल्का फ्याक्दै-फ्याक्दै
खस्नुपर्छ भुईतिर।
स्वेच्छाले झरी, झरी बनेको होईन,
यहाँ, प्रकृतिको एउटा मधुर मिलान छ।
धरती र बादलको प्रेमको बन्धन हो झरी,
उबेला
ब्राह्मण्डको मृत्यु रोक्न
धरती र बादलले सि:लामसाक्मा साटफेर गर्दै
जन्माएको सन्तान हो झरी।
मानिसहरु रिसाउछन झरीसँग
अनि फेरि खुसी हुन्छन झरीसँगै।
क्रोधको रागले बेस्सरी/हप्हपी पोलेको पल,
झ्यालको प्वालबाट प्रेमको चिठ्ठी बोकेर
हुलाकी भई
गालामा स्पर्श गर्दा,
झरीमा कति प्यार हुन्छ
झरीमा कति यार हुन्छ।
झरीको स्पर्श मायालुको जस्तै मीठो हुन्छ।
झरी नहुनु हो त,
यहाँ
फुलहरु फुल्दैन थिए,
रङ्गहरु इन्द्रेणीमा भरिदैन थिए,
ब्रह्मण्डको चक्काहरु गुड्दैन थिए।
आफु चालक,
सारथी भएर
आज
झरीलेनै गुडाईदिएको छ
सृष्टिका सारा साईकलहरु
अनि
जीबनका चर्खाहरु।
यसैले त रुझ्न मनलाग्छ
झरी तिमिसँग
भन्न मनलाग्छ :
ओ झरी-
“I love you.”
मेरो प्रेमको बाछिटा उपहार छ तिमिलाई
युग युग ब्राह्मण्ड रुझाई रहनु
मनका मरुभूमि छिटाई रहनु
म बाँचेर प्रेम गरिरहन्छु
प्रेमका बाछिटाहरु उपहार पठाइरहन्छु
ओ झरी
मेरो प्रेम तिमिलाई, सधैभरी।।
हराई गएकी मेरी आमा
मानिसहरुको भिडमा
आफ्नै चिनारी बताउन
अलमल-अलमल हुने म
दोधार – दोधार हुने म
आफ्नो नामको परिभाषा बुझ्दै नबुझेको म
म को हुँ? म के हुँ ?
केही नजानेको म
हुनसक्छ
यसको जवाफ
मेरी आमासँग होला भनेर
उहिले, मध्यरातमा हराइगएकी मेरी आमालाई
खोजी हिडेको छु ।
मलाई त केही मतलब थिएन , गुनासो पनि छैन
म को हुँ भन्ने था नहुदा पनि
मलाई कुनै फिक्कर थिएन
म के हुँ भन्ने था नभएपनि
म त एसै दुनियाँमा खेलीरहेकै छु, बाँचीरहेकै छु।
तर यहाँ मलाई
गिज्याउँछन, जिस्क्याउँछन्,
खिसी गर्छन्
र हेप्छन मानिसहरुले
तँ को होस ? भन्छन
यसरी
यहाँ मेरो परिचय चाहिएको छ।
यहाँ मेरो अस्तित्व चाहिएको छ।
यहाँ उत्तर चाहिएको छ म को हु भन्ने?
त्यसैले
मेरै परिचय बुझाईदिन
खोजीहिडेको छु
बर्षौअघि, मध्यरातमा हराईगएकी मेरी आमालाई।
मध्यरातमा बर्बराउदै बाटो लागेकी मेरी आमालाई
गाउँहरुमा खोजे
बस्तीहरुमा खोजे
शहरहरुमा खोजे
अनकन्टार घनाजङ्गलहरुमा खोजे
कहि केही भेटिएन।
म
चिन्न सक्थे मेरी आमाका पैतलाका डोबहरु –
सायद
कसैले मेटिदिए होलान्
कसैले टेकिदिए होलान
तर
मेरो आँखाबाट कहिल्यै मेटिने छैन
मेरी आमाका पैतलाका डोबहरु।
युद्दहरुमा पर्यौ कि आमा ?
सहिद पो भयौ कि?
कि अपहरणमा पर्यौ?
तर
तिम्रो नाम कुनै अखबारमा छापिएन
तिम्रो फोटोमा फुल चढाको
कहीं कतै भेटिएन।
पल्टाई – पल्टाई हेरे
बेपत्ताको सुचि
त्यहाँ ,
उहिले मुग्लान छिरेको
छिमेकी काका बेपत्ता भनी भेटें
तल चोकमा क्यारेम बोर्ड खेलीरहेको
जिउँदो मानिसलाई मरेको भनी भेटें।
तर के चएर कुन्नि!
तिमिलाई भेटिन आमा।
मलाई थाहा छ आमा-
तिमिले लहडमा घर छोडेकी होइनौ
कहिल्यै नफर्कने गरि गएकी थिएनौं ।
निधारमा धर्तीको टीका लगाउँदा
नियालेर हेरेको छु-
तिम्रो आखामा एउटा स्वप्न देखेको थिएँ
तिमीसँग एउटा उदेश्य थियो।
त्यहीँ
उदेश्यको मफलर निधारमा बेरेर
तिमि बाटो लागेको
त्यो रात,
बारुदको गन्ध मिसिएको
ठुलो आँधी आएथ्यो घरमा।
त्यो
आँधीले घर तहस-नहस बनाएथ्यो,
हामी पुरै रात निदाउन सकेनौ,
त्यो कहालीलाग्दो रात सम्झदा
आज पनि
मुटु कामीरहन्छ
शरीर थर्थराइरहन्छ।
यसरी
बिहानी ल्याउछु भनि
मध्यरातमा बर्बराउदै उहिले हिडेकी आमा
बिहानसँगै फर्किन्छे होला भनेर
हरेक बिहान बाटो हेरीबसेको छु।
“तुईनमा झुन्डिएको नेपाल”
बर्खा लागेको छ।
दिनहुँ आकाश रोइरन्छ
खोलाहरु,
रिसाएर ओरालो झरिरहेका छन्
मानौं कि
उनीहरुलाई पनि
पहाडसँग छुट्टिनु मनै नभए जस्तो।
एउटी सानो नानी
कपालको फुर्का हल्लाउदै – हल्लाउदै
खोलातिरै हिडिरहेकी छे ।
भिरेकी छे
काँधमा झोला ,
झोलाभित्र किताब
किताबभित्र सपना
र आँखाभित्र सिङ्गो भबिश्य बोकेर
उनी हरेक दिन हिड्छिन्
यै खोलाको बाटो।
सपना र भविश्यको उकालो उक्लिने
अरु बाटो छैन उनीसँग,
खोला तर्न सक्तिनन् उनी
त्यसैले, तुईनमा तुर्लुङ्ग झुन्डिन्छे।
र म –
किनारामा उभिएर
उसलाई हेरिरहन्छु।
मलाई लाग्छ ,
त्यो तुइनमा
नानी मात्र झुन्डिएकी छैन
नानीसँगै मेरो देशपनि
त्यो तुइनमा तुर्लुङ्ग झुन्डिएको छ।
नानीका कलिला हातहरुले
फलामको डोरि समाउदाँ
मलाई लाग्छ,
त्यो डोरी होइन
राज्यको मेरुदण्ड समातिरहेकी छे
राज्यको टाउको र खुट्टा छामीरहेकी छे।
उर्लिएको बाढीको उप्परमा
जीवनको कठोर परीक्षा हुदाँ
कति पटक धड्कियो होला?
नानीको कलिलो धड्कन्।
तर मलाई लाग्छ,
त्यो कहाली लाग्दो दृश्य देखीरहेको
सिंहदरबारको धड्कन कहिले धड्किएन।
“आमा म स्कुल गए है!”
सायद,
उसले बिहान यति नै भनेकी थिई।
कपाल सुम्सुमाउदै आमाले भनेकी होला-
“राम्ररी पढेर आउनु।”
तर
आमालाई के थाहा
स्कुल जाने बाटोमा
आज फेरि
उसकी छोरीले फलामको डोरी समातेर
जीवनको कठोर परीक्षा दिदैछे।
तुइनबाट नानीले पार तरेपछि,
म सोंच्छु-
कति लामो भयो होला
हाम्रो बिकाशको बाटो
कि
सानो नानीले स्कुल जाने बाटो समेत
अझै एउटा डोरिले नाप्नुपर्ने?
त्यहि तुइनबाट सुत्केरीहरु
जीवन र मृत्यृको बिचमा झुण्डिन्छन्
घाँस-दाउरा बोकेका आमाहरु
दिनहुँ खोला माथि आफ्नो जीवन पारि सार्छन्।
कहिले कही
मलाई यस्तो लाग्छ,
त्यो खोला
पानी मात्र होइन।
त्यो हाम्रो अभाव हो
त्यो हाम्रो अबिकाश हो
त्यो हाम्रो बाध्यता हो
त्यो हाम्रो मौनता हो।
र, सायद
राज्यको बहिरोपन!
मलाई लाग्छ
यो तुईन
खोला माथि मात्र झुन्डिएको छैन,
यो त सिंहदरबार र गाँउको बीचमा झुण्डिएको छ।
यो त प्रतिज्ञा र यथार्थ को बीचमा झुन्डिएको छ।
यो त समृद्धिको नारादेखि गरिबको आँगनसम्म
झुन्डिएको छ।
र सबै भन्दा दुखद कुरा-
यो तुइनमा तिमी मात्र झुन्डिएकी छैनौ, नानी!
तिमीसँगै
मेरो नेपाल पनि तुर्लुङ्ग झुन्डिएको छ।
त्यसैले,
म त्यो दिन सम्म प्रश्न सोधिरहनेछु-
हरेक बर्खामा-
जब खोला उर्लिनेछ,
जब बादल रुनेछ,
जब कुनै नानी
फेरि तुइनमा झुण्डिनेछ
प्रश्न सोध्नेछु:
ए ! तुईनमा झुन्डिएको मेरो नेपाल !
नानीलाई पुल कहिले दिन्छौं ?
नानीलाई फुल कहिले दिन्छौं ?





