विराटनगर । अमेरिकामा बस्दै आएकी नेपाली लोकगायिका अमृता लुङ्गेली मगरको स्वरमा तिहार विशेष गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक भएको छ।
तिहारको सांस्कृतिक परम्परा, देउसीभैलो र दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई समेटेर तयार पारिएको गीत दीपावलीको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो।
गीतमा राजु परियार, घमेश दुलाल, सरोज बिरही कार्की, सीता थापा, राधिका हमाल र अमृता लुङ्गेली मगरको स्वर रहेको छ। गीतका शब्द, संगीत तथा एरेञ्ज सरोज बिरही कार्कीले गरेका हुन्।
खगेन्द्र गिरीको निर्देशनमा तयार भएको गीतको भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने मगर र अमिस उपरकोटीले अभिनय गरेका छन्। भिडियोको छायांकन केशव विश्वकर्मा र सम्पादन कल्पेश विश्वकर्माले गरेका हुन्। गीत गायिका अमृता लुङ्गेली मगरको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
करिब दुई दशकदेखि नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय लुङ्गेली मगरका ‘साली भेना’, ‘देउसी भैलो’, ‘बाच्छी कहाँ हरायो’, ‘जो धेरै नाच्छ उ धेरै बाँच्छ’, ‘सरर प्लेनमा आए’ र ‘के होला शुभ नाम’ लगायत गीत सार्वजनिक छन्। उनले सांगीतिक क्षेत्रमा पुर्याएको योगदानका लागि विभिन्न अवार्ड तथा सम्मान प्राप्त गरेकी छन्।
गायिकाकै रूपमा ‘एक्स्ट्राअर्डिनरी भिसा’ प्राप्त गरेकी लुङ्गेली मगर हाल परिवारसहित अमेरिकामा बस्दै आएकी छन्। विदेशमा रहेर पनि उनी नेपाली गीतसंगीतमा सक्रिय रहँदै आएकी छन्।





