विप्लव भट्टराई, पर्वत पोर्तेल
इलाम । इलामको माई नगरपालिका–१० लुम्बाकस्थित धनमाया तिम्सिनाको आँगन आइतबार स्थानीय बासिन्दा र सञ्चारकर्मीले भरिएको थियो । अपराह्न करिब पौने ४ मा शनिबार कोलकाताको दमदम जेलबाट छुटेका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना (दीपक) ४० वर्षपछि आमालाई भेट्दै थिए ।
इलामको माई–१० लुम्बाकस्थित घरमा आइतबार आइपुगेका दुर्गाप्रसादलाई हेर्दै आमा धनमाया तिम्सिना । तस्बिर स् विप्लवरकान्तिपुर
करिब एक सय मिटरमाथिको कच्ची सडकबाट दुर्गाप्रसाद अप्ठेरो बाटो हुँदै तल झरे । सिकुवामा आमाको छेवैमा गएर बसे । घरीघरी आमातिर हेर्दै चुपचाप रहेका दुर्गाप्रसादले करिब एक घण्टासम्म कुनै शब्द निकालेनन् । ८५ वर्षीया धनमाया छोराको आगमनमा दंग थिइन् ।
कोलकाताबाट नै दुर्गाप्रसादको पक्षमा लड्ने न्यायाधीशले आमालाई खुवाउनु भनेर पठाएको रसवरी उनले आमालाई खुवाए । जेलबाट छुटकारा दिलाउन कोलकातासम्मै पुगेका उनका ठूलोबुबाका छोरा प्रकाशचन्द्र पनि सँगै थिए । दुर्गाप्रसादलाई हेर्दै भावुक बनेकी धनमायाले प्रकाशचन्द्रलाई भनिन्, ‘दाजुलाई ल्याउँछु भन्थिस्, ल्याएरै छाडिस् । माइलालाई पनि भाइको मुख हेर्ने ठूलो धोको थियो, अस्ति बित्यो ।’ साइँला भाइ ९दुर्गाप्रसाद० आउने व्यग्र प्रतीक्षामा रहेका केदारनाथको गत मंसिरमा मृत्यु भएको थियो ।
४० वर्षपछि आमा–छोराको भेट गराउने क्रममा दुर्गाप्रसादकै परिवारभित्रका अर्का सदस्य धीरेन्द्र शर्मा पनि थिए । उनी प्रदेश १ का प्रदेश सांसद पनि हुन् । उनीहरूकै सामु धनमायाले छोरा हराएपछिको पीडा एकपछि अर्को ओकल्दै गइन् । ‘बाबु बेलैमा खसे, परिवारमा भाइबहिनी साना छँदा सहारा यही मात्र थियो । कतितिर खोजिएन होला, केही उपाय चलेन ।
कुनै दिन फर्केर आउँछ भनेर ढुक्क थिएँ ।’ उनले थपिन्, ‘परिवारमा दुःख भयो, भाइबहिनीलाई कसरी हुर्काउने भनेर चिन्ता गरिरहन्थ्यो । केही कमाउँछु भनेरै हिँडेको थियो होला तर नआउँदा घरको अवस्था कस्तो भयो …।’ धनमायालाई छोरा जेल परेको भन्ने पत्तो कसैले दिएको रहेनछ । उनले दुर्गाप्रसादको अवस्था देखेपछि फोक्से मासु मात्र लिएर आएछ भन्ने प्रतिक्रिया दिइन् ।
इलामको एकतप्पाबाट २०३७ सालमा हराएका दुर्गाप्रसादबारे लामो समय परिवारलाई पत्तो थिएन । दुर्गाप्रसादका बुबा २००९ सालमा फाकफोकको साप्तिनबाट छिमेकी गाउँ एकतप्पा बसाइँ सरेका थिए । २०१७ सालमा दुर्गाप्रसाद जन्मिएका हुन् । तिम्सिना परिवार २०४० सालमा हालको माई नगरपालिका–१० लुम्बाकमा गएका हुन् ।
कामको खोजीमा दार्जिलिङ पुगेका दुर्गाप्रसाद हत्या अभियोगमा जेल परेका थिए । यो परिवारको अबको चिन्ता भनेकै उनको व्यवस्थापन र परिवारका सदस्यमाथि छिमेकी देशको न्यायालयले गरेका यति ठूलो अन्यायविरुद्ध लड्नु हो । भाइ प्रकाशचन्द्रले यो लडाइँमा साथ दिन सबैलाई आग्रह गरे ।
‘रेल हेर्न गएको थिएँ’
भारतीय जेलमा ४० वर्ष बसेर छुटेका दुर्गाप्रसादले आफू रेल हेर्ने बहानामा भारत छिरेको र उतै अड्किएको खुलाएका छन् । घरबाट भने उनी तोरी बेच्न भनेर मंगलबारे बजार गएका थिए । तोरी बेचेपछि त्यही पैसाले उनी भारत लागे । डिम्मापुर भारतको नागाल्यान्डमा पर्छ । उनले सुनाए, ‘रेलमा डिम्मापुरसम्म पुगेर फर्किएँ ।’
नागाल्यान्डबाट फर्किएपछि उनी दार्जिलिङमा अडिएका थिए । घरमा आर्थिक समस्या भएकाले दार्जिलिङतिरै काम गरेर बस्ने निधो गरेका थिए । त्यहाँ उनले चिया श्रमिकका रूपमा काम गरे । स्थानीय नैने घले नामका व्यक्तिका घरमा डेरा बसेका थिए । उनी त्यही घरकी महिला जनु गुरुङको हत्यामा फसाइए । ‘मैले हत्या गरेकै छैन,’ आइतबार बिहानै पत्रकार सम्मेलनमा दोहोर्याए, ‘म निर्दोष थिएँ, मलाई फसाइयो ।’
कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई आइतबार नेपाल ल्याइएको हो । वाणिज्य दूतावासका सेक्रेटरी सतीश थापाले कोलकाता उच्च अदालतको आदेशबमोजिम दुर्गाप्रसादलाई परिवारको जिम्मा लगाएका हुन् । थापाले भने, ‘दुर्गाप्रसादलाई घरमा जिम्मा लगाएरमात्रै आउनु भन्ने अदालतको आदेश थियो ।’
अदालतले प्रहरी सुरक्षा ९एस्कर्टिङ० का बीच दुर्गाप्रसादलाई स्वदेश फर्काउन भनेको थियो तर सार्वजनिक बस चढाएर उनलाई काँकडभिट्टासम्म पुर्याइयो । काँकडभिट्टाबाट इलामको घरसम्म पुग्ने चाँजो विश्व सेवाले मिलाएको हो । ‘बसको भाडा पनि आफैं तिरेर आयौं,’ भाइ प्रकाशचन्द्रले भने । विश्व सेवाका प्रतिनिधि इन्द्र बस्नेतले संस्थाकै पहलमा दुर्गाप्रसादलाई आमासँग भेटाइएको जनाए ।
भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी कोलकाता उच्च अदालतको आदेशबमोजिम शनिबार छुटेका हुन् । शारीरिक र मानसिक रूपमा कमजोर उनलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपराह्न अदालतले जेल पठाएको थियो । त्यसपछि जेल प्रशासनले उनलाई छाडेको हो । कान्तिपुरबाट