हाल बिट्रिश वलफेयर सेन्टर धरानमा सिनियर एरिया अफिसरको रुपमा कार्यरत क्याप्टेन पुर्ण लिम्बू सामाजिक सेवा र नेपाली संगीत क्षेत्रमा स्थापित नाम हो । नेपाल सरकारले प्रवल जन सेवा श्री २०७७ बाट सम्मानित भएपछि उहाँको नाम आम मानिसहरुबीच देशव्यापी रुपमा चर्चामा आएको हो । उहाँको एक दर्जन भन्दा बढि गीतहरु छाँयाकन भैसकेको छ । हाल ‘चोखो प्रिती लगाउला सँगसँगै रमाउदै जीवन बिताउला गीत’ अत्यधिक चर्चामा रहेको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी ।

तपाई पेशाले बिट्रिश आर्मी अफिसर तर गीत लेखन र गायकीमा सक्रिय , स्रोताहरुबाट उत्तिकै माया र सम्मान पाईरहनु भएको छ । समयको तालमेल कसरी मिलाउनुहुन्छ ?
समयको तालमेल मिलाउन धउ धउ हुन्छ । किनकि मेरो जवको प्रकृति नै अति व्यस्त प्रकारको छ । तर छुट्टीको समय नफाली गीत संगीतलाई समय दिन्छु ।

तपाईंको चोखो प्रिती लगाउला सँगसँगै रमाउदै जीवन बिताउला गीतले स्रोताहरुबाट राम्रो रेस्पोन्स पाएको छ । तपाईलाई कस्तो लागी रहेछ यो गीतको पृष्ठभूमि अलिकति बताईदिनुहोस न ?

धेरै खुशी लागेको छ यति धेरै स्रोताहरुले मन पराईदिनु भएकोमा । मैले यो गीत बिदेश नजानु, स्वदेशमै सपरिवार मिलेर परिश्रम गरे खुशीले जीवन बिताउन सकिन्छ भन्ने सन्देश दिन खोजेको छु । म पल्टनमा छदा घर आएर पल्टन फर्कनु पर्दाको पीडा व्यक्त गर्न खोजेको छु । कहिँकतै आफ्नै जीवनमा बितेर गएको क्षणहरुलाई उल्लेख गर्न खोजेको छु ।

सामाजिक परिवर्तन र मानिसको मस्तिष्क परिवर्तनको निम्ति गीतको भुमिका के हुन सक्छ जस्तो लाग्छ ?
मेरो बिचारमा गीतले आम मानिसको मस्तिष्क र हृदयलाई हल्लाउन सक्छ । संसारभरि यस्तो घटनाहरु धेरै छन । समाज परिवर्तनको निम्ति गीत संगीतको भुमिका अत्यन्तै महत्वपूर्ण रहन्छ ।

एउटा राम्रो गीतमा हुनुपर्ने बिशेषता के होला जस्तो लाग्छ ?
एउटा राम्रो गीत हुनको लागी सरल शब्द मुटु छुने संगीत हुनुपर्छ ।

सामाजिक सेवाको क्षेत्रमा पनि त्यत्तिकै अग्रसर हुनुहुन्छ सयौं मानिसहरुलाई त्यतिकै रुपमा सहयोग गरिरहेको देखिन्छ , यति ठूलो अभियानलाई अहिलेसम्म कसरी संचालन गर्दै आउनु भएको छ ?
संगीत त मेरो एउटा हवि मात्र हो तर सामाजिक सेवा मेरो मन मस्तिष्कमा सधैंभरि बसीरहने आदत हो ।
सामाजिक सेवा र पारिवारिक जीवन सबै संगै मिलाएर लान त्यति सजिलो छैन तर जहाँ मन त्यहाँ उपाय, मैले मेरो मासिक आम्दानीको २० % रकम सामाजिकसेवामा खर्च गर्छु । अनि गीत संगीतबाट आएको सबै रकम यसैमा खर्च गर्छु । आफ्नो संस्था मात्र नभएर अरु संघ संस्थाहरुलाई पनि सहयोग गरिरहेको हुन्छु र मेरो आफ्नै “फरक आँखा ” नामक संस्था पनि छ ।

तपाईं लामो समयसम्म विश्वको शक्तिशाली देश मध्ये एक बेलायतमा रहनुभयो उता र यताको सामाजिक मानसिक फरक के हुन् नेपाली समाजले बेलायतबाट सिक्नुपर्ने कुराहरु के के हो जस्तो लाग्छ ?
नेपाली समाजले बेलायती समाजबाट धेरै कुरा सिक्न जरुरी छ । पहिलो कुरा सच्चा देशभक्ती, दोस्रो कडा परिश्रम, तेस्रो उनीहरुको देशका नेताहरु कम बोल्छन, काम बढि गर्छन तर नेपालको परिस्थिति लगभग सबै क्षेत्रमा ठीक उल्टो छ ।

नेपाल प्राकृतिक रुपले अन्य मुलुकहरुको तुलनामा यति मजबुत हुदाहुदै नेपालीहरु आर्थिकरुपमा यति कमजोर हुनुपर्ने कारण के होला ?

भ्रष्टाचार अनि राजनितिक स्थीरता नभएर होला ।

नेपाल र बेलायतको ऐतिहासिक सम्बन्ध छ तपाई बेलायतको तर्फबाट नेपालमा सकृय हुनुहुन्छ गोर्खा बिट्रिश आर्मीहरु आन्दोलित हुनुको कारण के हो ?
नेपाल र बेलायत बीच बिगतमा भएको सन्धी र असमान व्यवहार मुख्य कारण हो । तर २००५ देखि यता ती सबै सेवा सुबिधा समान भएको छ ।

नेपालको राजनितीक , सामाजिक, साँस्कृतिक , मनोबैज्ञानिक यी सबै बिषयमाथी मनन गरेर ल्याउदा नेपाली समाज कहाँ उभिएको छ तपाईंको अनुभवमा ?
हाम्रो समाज अझैसम्म मेरो भन्ने मनोबिज्ञानबाट निर्देशित छ तर जबसम्म हाम्रो भन्ने मासिकतामा हामी पुग्न सक्दैनौं तबसम्म सामाजिक सुधार , समानतामुलक समाज र देश बिकास असम्भव छ ।

पछिल्लो समय तपाईं नेपाल सरकारबाट पनि सम्मानित हुनुभयो के अनुभव गर्नुभयो ?
देशले सम्मान गरेमा म हृदयबाटै खुशी छु । सम्मान पाइसके पछि म आफैले आफैलाई प्रश्न गरें के म यो सम्मान लायक छु ।

नयाँ योजना के के छन् ?
सामाजिक सेवा र संगीत क्षेत्रलाई अगाडी बढाउने सोच छ ।

अन्तिममा केही छ कि ?

समग्र स्रोताहरुले गर्नु भएको मायाको कारण म गायक पुर्ण लिम्बू भएको छु । यसको निम्ति हृदयबाटै फेरि पनि धन्यवाद छ ।

तपाईको प्रतिक्रिया