बारा । नेकपाका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले मधेशी जनतालाई प्रचण्डले धोका मात्रै दिएको आरोप लगाएका छन् ।

सोमबार नेकपा बारा जिल्ला कमिटीद्वारा सदरमुकाम कलैयामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले प्रचण्डले पटक पटक मधेशलाई वाचा गर्दै पटक पटक धोका मात्र दिएको जिकिर गरे ।

प्रचण्डले जनयुद्धदेखि आजको समयसम्म आउदा मधेशलाई फरक फरक आश्वासन दिएको तर कुनै पनि पूरा नगरी धोका मात्र दिएको नेता साहले बताए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशलाई झुटा आश्वासन दिनुको सट्टा विकासको एजेन्डालाई निरन्तर कायम राखेको नेता साहको दावी थियो ।

प्रचण्डले मधशेलाई आत्म निर्णय, स्वायत्त प्रदेश र समान हिस्सेदारी जस्ता एजेन्डा दिएको भए पनि हरेक कालखण्डमा आफ्नो निजी स्वार्थमा उपयोग गर्दै कुरा फेरेर धोका दिएको नेता साहले बताए । अहिले मधेशले प्राप्त गरेको अधिकार पनि आफुहरुका कारण पाएको नेता साहको जीकिर छ ।

‘जब हामी जनयुद्धमा थियौं, त्यतिबेला प्रचण्डजीले आत्म निर्णय, स्वायत्त प्रदेश र समान हिस्सेदारीका कुरा गर्नुहुन्थ्यो । सुरुमा झापादेखि कञ्चनपुरसम्म एउटै मधेश प्रदेश बनाउने भन्नुभयो, शान्ति प्रक्रियातिर आउदा थारुवान र मधेश गरी दुई प्रदेश बनाउने भन्नुभयो । पहिलो संविधानसभामा पाँच वटा प्रदेश, दोस्रो संविधानसभाको संविधान निर्माणसम्म आईपुग्दा उहाँले संघीय गठबन्धनलाई धोका दिएर पहिचानको मुद्दा नै बेच्नुभयो ।’

नेता साहले भने, ‘प्रचण्डजीले भनेजस्तो मधेशले न त आत्म निर्णयको अधिकार पायो, न त स्वायत प्रदेश, न त समान हिस्सेदारी पायो । आफ्नो स्वार्थ पुर्ति गर्न प्रचण्डले मधेशलाई निरन्तर धोका मात्र दिनुभएको छ । आज मधेशले जे जति पाएको छ त्यो तपाई हाम्रो बलमा आएको हो, नभए प्रचण्डजीले त्यो पनि बेचिसक्नु हुन्थ्यो ।’ तर केपीजीले सुरुदेखि अहिलेसम्म जे भन्नुभयो, त्यसमै उहाँको स्ट्यान्ड छ । उहाँले सधै मधेशलाई विकासको मात्र वाचा गर्नुभयो, जुन पुरा हुँदै गएको छ ।’

नेता साहले थपे, ‘त्यसैले म आग्रह गर्नचाहन्छु, धोका दिनेलाई हैन आफ्नो बोलीमा खडा भई उभिनेलाई साथ दिनुहोस् ।’

Image may contain: 1 person, crowd and outdoor

Image may contain: 11 people, people sitting and people on stage

तपाईको प्रतिक्रिया