काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा एक न्यायाधीशले अधिवक्तालाई समयको ख्याल गर्न सुझाव दिएका छन् । रिट निवेदकका तर्फबाट केवल दुई जनाले बहस गर्दा एक दिनको समय सकिएपछि न्यायाधीशले निर्वाचन भईसक्दा पनि बहस नसकिने अवस्था सिर्जना नहोस् भन्दै सुझाव दिएका हुन् ।

अधिवक्ता दीनमणि पोख्रेलले सोमबारको बहस सुरु गरेका थिए । उनको बहस ‘ब्रेक टाइम’ पछि पनि जारी रहेपछि न्यायाधीश अनिलकुमार सिन्हाले इजलासले अधिवक्ताहरुलाई बहसमा नरोक्ने भन्दै आफैं समय व्यवस्थापन गर्न सुझाए ।

न्यायाधीशले बहस लम्बिँदै जाँदा निर्वाचनको तयारी भइसकेकाले केही बोल्नुपरेन भन्ने अवस्था नआओस् भन्दै सचेत पनि गराए । ‘कति समय लिनुहुन्छ ? साढे ३ सयजति वकालतनामा परेका छन् । फेरि झारखण्डकोजस्तो नहोस् । विघटन गलत हो भन्दा भन्दै, सुनुवाइ गर्दागर्दै चुनावको समय आइसक्ने र तयारी भइसकेको हुनाले अब केही गर्नुपरेन भन्नु नपरोस् । समय म्यानेज गर्नुहोला । हामी रोक्दैनौँ’, न्यायाधीश सिन्हाले भने । अधिवक्ता पोखरेलले बहस गरेपछि अर्का अधिवक्ता सरोजकृष्ण घिमिरेले बहस सकिदा सोमबारको बहस सकिएको थियो ।

सर्वोच्च अदालत प्रशासनका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको बहसका लागि १ सय ८८ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् । अधिवक्ता भीमार्जुन आचार्य र सुनील पोख्रेलले पनि आइतबार घण्टौं बहस गरेका थिए । पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा भइसकेको छ ।

तपाईको प्रतिक्रिया