काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफूलाई जुन समूहले अध्यक्ष दिन्छ, त्यही समूहमा जाने र पार्टी एकताका लागि प्रयास गर्ने बताएका छन् ।

आज पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले भने, ‘म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन, जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु ।’ उपाध्यक्ष गौतमले आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको प्रष्ट्याए ।

पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको गौतमको भनाई थियो । आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको र यसले अब पार्टी एकतामा सहयोग पुग्ने उनले बताए ।

उनले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पनि आफूले एक गराएको भन्दै पुनः अहिले फुट्न थालेको पार्टीलाई पनि एक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नेता गौतमले दुवै समूहलाई एकतामा ल्याउनका लागि यही माघ १४ गतेदेखि पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् । एकता अभियानका संयोजकमा गौतम, सह–सयोजकमा हरि पराजुली र सचिवमा बाबुराम थापा छन् । एकता अभियानसँगै नेता गौतमले लेखेको ‘जनताको बहुदलीय जनवाद’ (तुलनात्मक अध्ययन), ‘२१औं शताब्दीको कम्युनिष्ट पार्टी’ र ‘नेपाली जनताको समृद्धिको कार्यक्रम र बहुदलीय समाजवाद’ नामक तीन पुस्तक सार्वजनिक गर्ने कार्यक्रम छ ।

अभियान घोषणाको दिन ५१ केन्द्रीय सदस्य र १७५ कार्यसम्पादन समिति घोषणा गरिनेछ ।

तपाईको प्रतिक्रिया