- क्रान्ति सुब्बा, हङकङ

हङकङ अब्जर्भेटरीले जुलाई १९ तारीख बिहान २.२० बजे टाइफुन स्ट्यान्डबाइ सिग्नल नम्बर १ जारी गरेको थियो । त्यसबेला विफा नाम गरेको यो टाइफुन हङकङ शहरदेखि लगभग ८०० किलोमिटर दूर रहेकोे थियो । सामान्यतया कुनै पनि सामुद्री आँधी करिब ८०० किलोमिटरको दुरिमा आइपुगेमा हङकङको मौसम बिभागले स्ट्यान्डबाइ सिग्नल नम्बर एक जारी गर्ने गर्दछ ।
दक्षिण चीन सागरको उत्तरपूर्वी भाग अर्थात पर्ल नदीको मुहान तर्फ तीव्रताका साथ अगाडि बढ्दै गएपछि बेधशालाले जुलाई १९ तारीख दिउँसो २:२० मा टाइफुन सिग्नल नम्बर ३ जारी गरेको थियो ।
प्रतिघण्टा अनुमानित ४१ देखि ६२ किलोमिटरको गतिमा हावा चल्ने भएकोले बासिन्दाहरूलाई सम्भावित खतराहरूबाट बच्न खुकुलो वस्तुहरूलाई सुरक्षित स्थानमा राख्न सल्लाह दिइएको थियो ।

दिउँसो २ बजे तिर आँधी विफा हङकङबाट लगभग ५४० किलोमिटर पूर्व-दक्षिणपूर्व (२०.५ डिग्री उत्तर र ११९.० डिग्री पूर्व) अवस्थित थियो। अत यो आँधी लगभग २५ किलोमीटर प्रति घन्टाको गतिमा पश्चिम-उत्तरपश्चिमतिर हुइकिने अनुमान गरिएको थियो । यस क्रममा यसले दक्षिण चीन सागरको उत्तरपूर्वी भाग पार गर्दै ग्वाङडोङको तट समीप पुग्नेछ भनिएको थियो ।

पछिल्लो केहि घन्टादेखि विफा उत्तर-पूर्वी दक्षिण चीन सागर हुदै पर्ल नदीको मुहान तिर तेज चालमा बढि रहेको थियो । साथै यो आँधी थप मजबूत हुदै जाने संकेत पनि देखीएको थियोे । जसै जसै यसको तेज वायु र बाहिरी वर्षापट्टी(rainband)ले ग्वांगडोंगको तटीय क्षेत्र माथी असर पार्न शुरू गर्दछ तसै तसै स्थानीय वायुको चाप दिनभरि उच्च रहनेछ साथै मेघ गर्जन सहित भारी वर्षा र हुरिबतास चल्नेछ भनिएको थियो । यसका अलावा समुद्रका छालहरु पनि उग्र हुनेछन । त्यसैले तटीय क्षेत्रबाट टाढा रहन र जलक्रीडा सम्बन्धि गतिविधि नगर्न सर्वसाधारणलाई सल्लाह दिइएको थियो ।

जुलाई २० तारीख विफा पर्ल नदीको मुहान नजिकै आइपुग्ने अनुमान गरिएको थियो । विद्यमान आँधीले प्रचण्ड रुप लिनेवाला थियो । परिणामस्वरूप वरपरको एरियामा भयंकर आँधी बेहरी बारम्बार चल्ने , मेघगर्जन सहित भीषण वर्षा हुने अपेक्षा गरिएको थियो । ऐन घडीमा वेधशालाले विफा पर्ल नदिको कति नजीक पुग्दछ र यसले कतिको शक्तिशाली रुप लिन्छ एवं स्थानीय हावाको सघनता कस्तो रहन्छ आदि कुरालाई मापन गरि २० तारीख मध्य रात १२ बजेर २० मिनेट हुँदा टाइफुन सिग्नल नम्बर ८ जारी गरेको थियो । मौसम बिभागले नागरिकहरूलाई वेधशालाले प्रदान गर्ने ताजा मौसम सम्बन्धि जानकारीबारे अपडेट रहन आग्रह पनि गरेको थियो ।

जुलाइ २० आइतबार २०२५

 हङकङ वेधशालाले आज बिहान अर्थात् जुलाई २० तारीख आइतबार ९:२० बजे चालु टाइफुन सिग्नल नम्बर ९ को सट्टामा १० जारी गरेको छ । टाइफुन विफासंगै हावाको वेग बढ्न थाल्यो र खतराको ग्राफ पनि बढे पछि १० नम्बर जारी भएको हो। आउँदो केही घण्टामा यो आँधी हङकङ वेधशालाबाट लगभग ५० किलोमिटर दक्षिणमा आइपुग्ने अनुमान गरिएको थियो । आँधीको असर हङकङको दक्षिणी क्षेत्रहरूमा पर्न थालेको थियोे । १० नम्बर टाइफुन निकै लामो समय सम्म अनुमान गरिएको थियो ।

हङकङ सरकारको गृह विभागले विभिन्न जिल्लाहरूमा ३४ वटा अस्थायी आश्रयस्थलहरू खोलेको थियो, जसमध्ये बिहान १० बजे सम्ममा २१४ जनाले शरण लिएका छन्। क्षतिको रिपोर्ट आउन थालेको थियो । बिहान ९ बजेसम्ममा, सरकारको १८२३ कल सेन्टर नम्बरमा र अग्नि सेवा विभागमा क्रमशः चार र ११ वटा रूखहरू ढलेको रिपोर्ट आएको थियो । यसबेलासम्म पहिरो वा बाढीको कुनै घटना रेकर्डमा आएको थिएन ।

टाइफुनको संरचना

टाइफुन हङकङ देखि केवल ५० किलोमीटर दूर सम्म आइपुगेको यो बिन्दु नै सबैभन्दा निकट बिन्दु हो । त्यसैले १० नम्बर टाइफुन जारी गरिएको हो। यस क्रममा तूफ़ानको आईवॉल (eye wall) ले झन ठुलो हावाको लहर शहरका केहि हिस्सामा ल्याउन थालेको थियो जसले अवस्थालाई थप खतरनाक तुल्याएको थियो । हाल क्रियाशीलत टाइफुन सिग्नल संख्या १० दिउँसो ४:१० बजेसम्म जारी रहेको थियो । उत्तर तिर बहदै गरेको स्थानीय हावा पूर्व र दक्षिण-पूर्व दिशा तर्फ बहन थालेमा पहिले देखि सुरक्षित रहेकोे क्षेत्र असुरक्षित रहने भएकोले अधिकारीहरुले जनतालाई सुरक्षीत रहन सतर्क गराएको थियो ।
मौसम बिभागले जुलाई २० तारीख दिउँसो ४:१० बजे टाइफुन नम्बर १० को सट्टामा ८ जारी गरेको थियो । त्यसपछि साँझ ७:४० बजे सिग्नल नम्बर घटाएर ३ पारिएको थियो । यस बखत वायुको औसत रफ्तार प्रति घन्टा ४१ देखि ६२ किलोमीटर रहने अनुमान गरिएको थियो । टाइफुन सिग्नल नम्बर घटाएर ३ तुल्याइएता पनि हावाको गति उच्च नै रहने भएकोले नागरिकहरुलाइ होशियारी अपनाउन आग्रह गरिएको थियो ।

तपाईको प्रतिक्रिया