काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन्। कांग्रेस–माओवादी नेतृत्वको बिपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले सबभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङलाई केहीबेर अघि पुनः मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्रीमा कांग्रेस नेतृत्वको चारदलीय गठबन्धनले बहुमतको दावीसहित पत्र बुझाए पनि किर्ते गरिएको भन्दै दुई सांसदले पत्र दर्ता गराएपछि प्रदेश प्रमुख पौडेलले प्रदेशसभामा ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । गुरुङले आजै पद तथा गोपनीयताको सपथ लिएका छन् ।

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मतदान हुनेभन्दा एक दिन अघिनै वैशाख २६ मा राजीनामा दिएपछि गुरुङ कामचलाउ सरकारका मुख्यमन्त्री थिए । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र सरकार गठन आव्हान गरेकी थिइन् । उक्त धारामा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा त्यसभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ।

तपाईको प्रतिक्रिया