काठमाडौं । नेकपा एमालेमा सात उपाध्यक्ष र सात सचिव राख्नुपर्ने सुझाव आएको छ । बिधान मस्यौदामाथिको छलफलका क्रममा अधिकांश टोलीबाट सो सुझाव आएको हो । दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफलपछि टोली नेताले निश्कर्षका रुपमा सात सात उपाध्यक्ष र सचिव राख्नुपर्ने र कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने ब्यवस्था हुनुपर्ने बताए ।

हाल प्रस्ताव गरिएको विधान संशोधन प्रस्तावमा तीन उपाध्यक्ष रहने प्रस्ताव छ । नेताहरुको ब्यवस्थापनका लागि पनि सात उपाध्यक्ष जरुरी रहेको एमाले केन्द्रीय सदस्यहरुको सुझाव रहेको छ । यस्तै पोलिटब्यूरो पनि कायमै राख्नुपर्ने सुझाव आएको छ । सुझावको क्रममा अध्यक्षको नेतृत्वमा रहने गरी प्रस्ताव गरिएको ७ सदस्यीय केन्द्रीय सचिवालय पनि नराख्न केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन्।

बैठकमा सुझाव राख्न टोली नेतामा प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, वागमतीबाट आनन्दप्रसाद पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलवहादुर राना, कर्णालीबाट यमलाल कडेल र सुदुरपश्चिमबाट कर्ण थापा, चयन भएका थिए ।

यसैगरी उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराई टोली नेता चयन भएका थिए । टोली नेताले आफ्नो समुहमा छलफलपछि निश्कर्षका रुपमा बैठकमा सुझाव राखेका हुन् ।

त्यस्तै एमालेले केन्द्रीय कमिटीमा कम्तीमा एक तिहाई महिलासहित समावेशी केन्द्रीय कमिटी गठन गर्ने प्रस्तावसमेत लगेको छ ।

तपाईको प्रतिक्रिया