काठमाडौं । मानव अधिकारको लागि महिला एकल महिला समूह (डब्लूएचआर) को ५ औं अधिवेशन शुरु भएको छ ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका हात्तिगौडास्थित डब्लूएचआरको केन्द्रीय कार्यालय छहारी भवनमा आजदेखि शुरु भएको अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ ।

अधिवेशनमा ७० भन्दा बढी जिल्लाका २ सय ५० जना एकल महिलाहरू सहभागी रहेको अध्यक्ष कुन्दा शर्माले जानकारी दिइन् ।

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफू पनि एकल महिला भएका कारण एकल महिलाका पीडा र मुद्दामा जानकार रहेको बताउँदै सकेसम्म एकल महिलाको हित हुने काम गर्ने प्रतिवद्धता गरिन् ।

कार्यक्रमका विशेष अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनै पनि एकल महिलामाथि महिला भएकै कारण समाज वा परिवारबाट हिंसा हुनु मानव अधिकार विरोधी काम भएको बताए ।

डब्लूएचआरका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगकाका सदस्या लिली थापाले विभिन्न समस्या र चुनौतीका बीच एकीकृत भएका एकल महिलाहरूको मानव अधिकार र आत्मसम्मानमाथि ठेस पुग्ने काम कोही कसैले नगर्न आग्रह गरिन् ।

डब्लूएचआरले अप्ठ्यारोमा परेका एकल महिलाको सहयोगका लागि तत्काल १० लाखको अक्षयकोष निर्माण गर्न लागेको जानकारी दिँदै संस्थापक अध्यक्ष थापाले कोष बढाउन सहयोग गरिदिन नेपाल सरकारलगायतलाई आग्रह गरिन् ।

राष्ट्रिय दलित आयोगका सदस्य मिनादेवी सोवले एकल महिलाका मुद्दामा सहयोग र सहकार्य गर्न राष्ट्रिय दलित आयोग सधै तत्पर रहेको बताइन् ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेल, डब्लूएचआरका उपाध्यक्ष शोभा बिसीलगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रम शुरु हुनु पूर्व डब्लूएचआरका कार्यकारी निर्देशक सुमीरा श्रेष्ठले संस्थाले विधवा महिलाको हक अधिकार स्थापनाका लागि स्थापनाकालदेखि निर्वाह गरेको भूमिका सम्बन्धमा प्रदर्शनी कक्षको स्थलगत भ्रमण गराएकी थिइन् ।

यस्तै अधिवेशनको बन्द शत्रले महासचिव सृजना श्रेष्ठले प्रस्तुत गर्नुभएको संस्थाको २०७७/२०७८ को वार्षिक प्रतिवेदन पनि पास गरेको छ ।

नयाँ अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतका पदमा भोलि विहान उम्मेदवारी दर्ता गर्ने र भोलि नै निर्वाचन गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत तथा अधिवक्ता श्याम श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया