नेपाली तथा अंग्रेजी,दुबै भाषामा कबिता लेख्दै आएकी कवि अस्मिता मानन्धर पेशाले बिभिन्न समयमा द काठमाडौं पोष्टमा ‘कल्चर एण्ड आर्टस्’ बिभागका सम्पादक र रिपब्लिकामा रिपोर्टरका रूपमा आबद्ध भई,प्राय संस्कृति, कला, साहित्य, महिला अधिकार, मानव अधिकार,पहिचानका बिषयमा कलम चलाउँदै आउनु भएको छ। चित्रकलामा पनि दख्खल राख्नु हुने मानन्धरको कविताले नारी संवेदनाको कुरालाई गहिरो र गम्भीररुपमा अभिव्यक्त गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता

मैचा

अटदैनन थिए
फुलको एक थुँगा पनि
तिम्रा हत्केलाहरूमा मैचा
त्यो बेला देखी
तिम्रै दुई मुठ्ठीले भित्राउँथ्यौ
घरभित्र लक्ष्मी
बढदै जान्थ्यो उमेर तिम्रो मैचा
अनि हुर्किँदै जान्थे लक्ष्मीका पैतालाहरू
जसरी समयसँगै धमिलिन्थे
तिमीले रहरले सिङ्गारेको लक्ष्मीको बाटो
तिम्रा आफ्नै पदचिह्नका डोबहरु पनि
मेटिसके मैचा

भेटदैनन थिए
कुर्कुच्चा तन्काएर पनि
आमाको ड्रेसिङ टेबुलको ऐना
त्यति बेला देखी
तिम्रो सानो जिउ वरिपरि बेर्थ्यौ
आमाको पछ्यौरी र सारी
बढदै जान्थ्यो उमेर तिम्रो मैचा
अनि हुर्किन्थ्यौ तिमी ती लुगाहरूमा;
होलान ती बुनिएका आमासँगका
सुमधुर सम्झनाका धागोहरूमा
तर ती अब जरावरि पनि
तिम्रा नभई सके मैचा

थाक्दैनन थिए
गुन्जिएर तिम्रा खितखिते हाँसोहरू
अनि च्याथिएर कराउँदै निस्केका रुवाइहरू
त्यति बेला देखी
बाँध्थ्यौ स्पष्ट अभिव्यक्तिको नाता
बढदै जान्थ्यो उमेर तिम्रो मैचा
अनि विस्तारित हुन्थे तिम्रा आवाजका आयामहरू;
तर ती पुराना कुरा थिए
अब तिम्रा सन्देश र सुझावको
कुनै पनि स्थान नभई सके मैचा

चाहिँदैनन थिए
आफ्नो हकको प्रमाण
तिम्रै घरमा मैचा
त्यति बेला
मायाले छानी छानी झुन्डाएका
फोटोका फ्रेमहरू
तिम्रा प्रिय पुस्तकहरूको सङकलन
बढदै जान्थ्यो उमेर तिम्रो मैचा
अनि झ्याङ्गिन्थे तिम्रो अस्तित्व
घरका भित्ताहरूमा

यी सबै भ्रम हुन भनेर सोच मैचा
तिमी त छोरी,
तिम्रो त यो घर कहिल्यै थिएन मैचा ।

क्रान्ति

अँध्यारो रातमा बादलको आवरण झरेर
ताराहरू ब्युँतिन्छन जब
सोच्छु,
म भित्रको अग्नि र तेज पनि
यस्तै सुमधुर छन कि शायद

क्रान्तिको परिदृश्य भित्र
मात्र ज्वाला र क्रोध सिँचेर आफूभित्र
सोच्थें,
यहाँ विवेक हराइरहेका बेला,
भय अनियन्त्रित पलाइरहेका बेला,
प्रीतिका गीतहरू बेअर्थ छन, व्यर्थ छन

तर मायाको शासनमा,
पुनर्निर्माण हुँदा रहेछन
भत्केका विश्वासहरू
स्वतःस्फूर्त जागृत हुँदा रहेछन
तृप्त आभासहरू

अनि,
बाक्लो धुवाँको पर्दा फाटेर
मखमली सुवासले ओगटछन सम्पूर्ण परिवेश जब
सोच्छु,
झुटका अनन्त जालहरू
यसरी नै फुत्किन्छन शायद

अनि,
अनि हुन्छ क्रान्ति, प्रतिबद्ध क्रान्ति ।

सम्भावनाहरू

खोला उर्लिएर झरेपछि
लथालिङ्ग छरिएका विनाशका अवशेषहरूमा
एक तमासले बढिरहेका
मेरा हताश हताश पाइतालाहरू मुनीका ढुङ्गाहरूमा
कहिले सुन्दर फुलहरू फुल्न थाले कुन्नि
अचानक मेरो हृदय
आफैँ आफैँ हुँदै छ
अनन्त अनन्त
मेरा चलायमान कदमहरू
आफैँ आफैँ बन्दै छन
दिशानिर्देश गर्ने यन्त्र

यो अथाह यात्रा
अब त्यति भयपूर्ण नहोला
भग्नावशेषको मात्रा
नयाँ सम्भावनाहरू भन्दा अधिक नहोला ।

तपाईको प्रतिक्रिया