सरिता तिवारी(जन्म: २०३६, बैशाख २/पोखरा) पचासको दशकको सुरुवातदेखि प्रारम्भिक कविताहरूको लेखन गर्दै पोखराबाट उदाएकी कवि हुन् । उनको पहिलो कविता २०५३ सालमा ‘पारदर्शी’ साप्ताहिक(चितवन)मा प्रकाशित भएको हो । पोखरामा कलेजको विद्यार्थी रहँदै स्थानीय अखबारमा स्तम्भलेखन र साहित्यकर्म गरी चितवनलाई कर्मथलो बनाएर लामो समयदेखि वैचारिक हस्तक्षेप सहित कविता,विमर्श र विभिन्न राष्ट्रिय दैनिकका माध्यमबाट बलियो उपस्थिति जनाइरहेकी छिन् । कविता उनको लेखनको मूल विधा हो। हालसम्म उनका तीन कविता-कृति, बुद्ध र लाभाहरू(२०५७), अस्तित्वको घोषणापत्र(२०६७) र प्रश्नहरूको कारखाना(२०७२) साथै पछिल्लो कविताकृतिको हिन्दी अनुवाद सवालों का कारखाना(2018) प्रकाशित छन् । उनी संरक्षण कविता आन्दोलन(पोखरा), साहित्य संगम चितवन लगायतमा आबद्ध रही अक्षर समूह चितवनको संस्थापक सदस्य, मन्थन(कविता तथा विचार अन्तरक्रियात्मक मञ्च) चितवनको संस्थापक संयोजक हुँदै ‘चित्तौन कचेहेरी'(Festival of Ideas)को निर्देशक रहेर विचार उत्पादन र ज्ञान- विमर्शको अभियानमा क्रियाशील छिन् । राजनीतिक दलीय आबद्धतासहित ‘प्रगतिशील सांस्कृतिक संगठन’, चितवनको अध्यक्ष र प्रगतिशील लेखक संघ, चितवनको पनि अध्यक्ष रहिसकेकी तिवारी प्रलेस नेपालको केन्द्रीय समितिको सचिव र अखिल नेपाल जनसांस्कृतिक सहासंघको केन्द्रीय सदस्य पनि रहिन् । पछिल्लो समय स्वतन्त्र बौद्धिक गतिविधि र चित्तौन कचेहेरी लगायतका मञ्चमा सक्रिय कवि तिवारी कविता र सबै प्रकारका लेखनको सामाजिक-राजनीतिक भूमिकालाई बढी महत्त्व दिन्छिन्।
मजुवा पोखरीको किनारमा उभिएर
यो हावामा
उनीहरूको मृत्युअघिको अन्तिम चीत्कार छ
उनीहरूको हृदयबाट निस्केको अन्तिम आह ! छ
पसिनाम्य लखेटाईपछि जो लडाइए भुईंमा र झम्टिइए
मृगको पाठोलाई भोको बाघले झम्टिएझैं !
यो हावामा
यो गाउँ ,यो बस्ती ,यो सारा जगतसँग गरेको
अन्तिम गुहार छ उनीहरूको
जसले मानिसहरूको विवेकका
आखिरी किनारहरूमा पुग्ने
भीषण कम्पन छोडेको थियो यहीँबाट
तर कहांसम्म पुगेर फर्कियो त्यो कम्पन ?
कसैले भन्छ?
ककसलाई हल्लाएर छोडेको छ त्यसको तरङ्गले?
जबकि ,
हामीलाई थाहै छ,
मानिसहरू
कसरी चलाउछन बजारमा सरमको मण्डी !
कसरी साट्छन अज्ञात लोभहरूसित बुद्धिका पेचकिला !
मौन छ यो हावा
तपस्यामा मग्न जोगीझैं
हज्जारौं पल्ट सोध्नुस
केही बोल्नेवाला छैन
न दिन सक्छ अभियुक्तको कुनै हुलिया
न भन्न सक्छ घटनाको साबुत विवरण
कारण
छैन यो हावासँग कुनै भाषा
छैन शब्दहरूको क्रीडाभूमिजस्तो ओठ,
छैन जोखिमहरूको साइरनबीच पनि बौरिएर उठ्ने हृदय
छैन तीन पौण्डको तौलमा विवेकको संग्रहालय सजाउन सक्ने
त्यस्तो अदभूत र विलक्षण गिदी
यद्यपि यी जम्मै कुरा भएर पनि
मानिसहरू यस्तरी मौन छन्
मानौं यो कुनै मौनब्रतको स्पर्धा चलिरहेको युग हो…
** **
‘पज’ बटन दबिएर
चुपो लागेर उँघिरहेको घण्टाघर जस्तो
प्रतिक्रियाहीन यो पोखरी !
यहाँ केवल लेउको साम्राज्य छ अब
यो नीलो नीलो पानीमाथी
म देख्छु नाङ्गा आँखैले
एउटा अकथनीय कथा
हाडमांसको सिंगो सबुत बनेर उभिरहेको !
कस्तो दिगमिगलाग्दो यो पानी !
कति कुरुप हो यो पानीको छाया !
कति भयावह हो
पानीभित्र पौडँदै हिँडिरहेको सूर्यको प्रतिबिम्ब !
मान्नुहोस्
जीवनका सारा सौर्न्दर्यले आत्मसमर्पण गरेको ठाउँ हो यो
कति डरलाग्दा लाग्छन् यहाँ
उनीहरूका प्रलाप निचोरिएर उछिट्टिएका चित्कारका चोक्टाहरू
जो अल्झिन्छन तपाईंको प्रत्येक पाइलामा
र सोध्छन् प्रेतझैं जुरुक्क उठेर
तपाईं कुन पक्षमा हुनुहुन्छ –
न्यायको या शक्तिको?
सबका सब ओठहरू बन्द छन् ,यो अर्कै कुरा हो
शब्दहरूले छुद्र ढाल बोकेर हिँडेका छन् ,यो अर्कै कुरा हो
शब्दहरू षडयन्त्र र कुटनीतिको भुमरीमा फँसिसकेका छन् ,यो पनि अर्कै कुरा हो
तर साक्षी आँखालाई थाहा छ-
उनीहरूका मृत देहमा
ओठहरू काट्टिएका थिए !
जीब्राहरू सुन्निएका थिए !
र बगिरहेको थियो योनिबाट
धर्तीको आत्मा च्यातिएर निस्केको लाभाजस्तो रक्तधारा!
यी रुखहरूले देखेका होलान्
कसरी लुछिए तिनका छाला !
कसरी च्यात्तिए कोमल गालाका लाली!
कसरी खोलिए तिनका एक एक वस्त्र
र पारिए तिनीहरू निर्वस्त्र, नग्न !
फाट्टिए कसरी उनीहरूका जाँघ
र पस्यो एकाएक कुनै सुरुङ मार्गभित्र छिरेको
सर्पाकार ट्रेनजस्तो
रहस्यमय त्यो ‘कीरा’ !
पोस्टमार्टम रिपोर्टमा भनिएको छ-
यो नृशंस हत्याको एकमात्र अभियुक्त
त्यही क्रूर ‘कीरो’ हो
र बाँकी जम्मै तथ्यहरूमाथि मौन छ डाक्टर !
त्यो कीरो जसलाई संसारको कुनै जीव विज्ञानीले चिनेको छैन
आजसम्म
तर चिनेका छन् कोखिलामा हत्यारो अनुहार लुकाएर
न्यायको गुड्डी हाँक्ने प्रशासकले
डाक्टर ,वकिल ,’समाजसेवी’ सबैले!
त्यही ‘कीरोकथा’ भित्र लुकेको छ
हज्जारौं तहहरूले खाँदिएर बनेको
फोसिलभन्दा पनि आदिम
भयंकर सत्य !
** **
उभिएर यो पोखरीको छेउमा
हेर्दाहेर्दै –
म देख्दैछु पानीको सतहमा
सहस्र जुगभरीका योनीहरूको जुलुस तैरिरहेको
म देख्छु एकाएक पानीभित्रैबाट
विष्फोटको भयानक म्याग्मा लेदो बनेर निस्किरहेको
रोकिने छैन निश्चय पनि यो जुलुस
औडाहा र उत्तापको आँधी जब बन्ने छ बबण्डर
कसैले थेग्न सक्ने छैन प्रश्नैप्रश्नका कोलाहलको बाढी
आधा पृथ्वी उचालिएर उठेको
योनीहरूको एकमुष्ट , विशाल हुण्डरीले
जब बाध्य पार्ने छ,
एकदिन
सहस्र धैर्यको बाँध फुटाएर बाउने छ
कहिल्यै केही नबोल्ने हावाले पनि आफ्नो मुख
तब उघ्रने छ सत्यको अन्तिम पर्दा
च्यात्तिने छ
‘अभियुक्त कीराहरूको’ यो कपोलकल्पित संकथन
एकदिन पराजित हुनुपर्ने छ यी सारा झुठहरूले !
सारा षड्यन्त्रले ,सारा खेलहरूले
र जित्नुपर्ने छ उनीहरूले
जसले
आफूसँग एक योनी हुनुकै ‘अपराध’ मा
अनाहक पाएका छन्
बीभत्स मृत्युदण्ड !
साथी, म अपराध कबुल गर्न आएको छु
प्रिय साथी
शताब्दीयौं सम्म
तपाईंलाई भयावह अपमानले आँगनको डिलमा उभ्याएर
चुलो र मझेरीको साम्राज्यमा शासन गर्ने मै हुँ
तपाईंलाई दलनको क्रूर पर्खालभित्र कैदी बनाएर
उदार र सम्पूर्ण संसारको सपना देख्ने मै हुँ
तपाईंको मुख थुनेर,
निर्लज्जतापूर्वक
अभिव्यक्ति स्वतन्त्रताको वकालतमा उभिने पनि मै हुँ
तपाईंका गोडामा नेल ठोकेर
आफूमात्रै ‘निर्बन्ध’ मुक्तिको यात्रामा हिँड्ने पनि मै हुँ
तपाईंलाई
छुन दिइनँ शब्द र विचार बुन्न रोकें
पुग्नै दिइनँ शास्त्रका अक्षरसम्म र प्रश्न गर्न छेकें
त्यतिले पनि नपुगेर
यो हावा, नदी र प्रकृतिका जम्मै सम्पदाको
समस्त विधान, कानून र ब्यवस्थाको सिंहासनमा
बेरोकटोक ढलीमली गर्न
मैले तपाईंका असंख्य शीरहरू छिनालेर बलि खाएको छु
तपाईंका स्वप्निल आँखाहरू फुटाएर आफ्नो भोज चलाएको छु
तपाईंको सग्लो आत्मसम्मान र मूल्यको
बेहिसाब धज्जी उडाएको छु
हरेक पल्ट
जब जब बोल्न खोज्नु भो,
जब जब लेख्न खोज्नु भो
तपाईंको जिब्रो काटेर, तपाईंका हत्केला गिँडेर
बनेको हुँ म कवि,विचारक र दार्शनिक;
बनेको हुँ यो दुनियाँको ‘अविजित’ बादशाह
इतिहासभरी
तपाईंलाई लाटो तुल्याउन सकेकैले
म एक्लै आवाजको मालिक बनेको हुँ
लगातार-लगातार तपाईंलाई पछाडि नै छोडेर
जित्दैआएको हुँ ‘मेरिट’को ‘म्याचफिक्सिङ’ म्याराथन
मेरा सारा षड्यन्त्रका बाबजुद पनि
मेरा धुर्त चाल र बर्बर आतंकबाट रगताम्यै निस्किएर
अब त तपाईंले आफ्नै चेष्टाले
आफैं थाहा पाइसक्नु भएको छ
मैले गरेका अथाह अपराधको बृत्तान्त
बुझिसक्नुभएको छ
धर्म र विधिका नाममा
मैले चलाएको शृङ्खलाबद्ध नर-संहारको नालीबेली
अब त मैले सभ्यताको आँखा अघिल्तिर उभिएर आँखा जुधाउन
आफ्नै सरमको खातिर पनि
बुझाउनुपर्छ तपाईंमाथी गरेका अनगिन्ती अत्याचारको बही
तेर्स्याउनुपर्छ तपाईंको रगत र आँसुले लत्पतिएका यी हातहरू
र माग्नुपर्छ इतिहासको इजलासले ठहर्याउन सक्ने
सकेसम्मका सजाय
साथी,
ती तमाम प्रकोप र अन्यायको बदलामा
जुनसुकै सजाय तोक्नुहोस्
पुरै होसहवाशमा मलाई मन्जुर छ मलाई जस्तोसुकै फैसला
यो कठघरामा खडा भएको म –
सारा लज्जाहरूहरूलाई साक्षी राखेर
आफ्नो अपराध कबुल गर्न आएको छु
र, कम्तिमा आजैदेखि किन नहोस् ,
म मान्छे बन्ने लाममा उभिन आएको छु।
कर्तृवाच्य !
सधैं सधैं
कर्तृ वाच्यको लती भएँ
सिधा सिधा कुरा गर्न सुविधा मान्ने
जुन धेरैका लागीअसुविधाजनक हो
अदालत पसूँ,
शिक्षालय पसूँ
अखबारमा छिरूँ
भीड बीच उभियूँ
सधैं बोलें सिधा र सरल रेखीय भाषामा !
र सोचें, भाषाले यसरी नै गरिदेओस् आफ्नो काम
कि मैले बोलिरहेको ध्वनि बुझ्न कुनै घुमाउरो फित्ता नचाहियोस् !
भावहरू छाम्दै,अनुमान गर्दै शब्दहरूको इनारमा खस्न नपरोस् !
कर्म-कर्मफलको लम्बेतान कथामा अल्झन नपरोस् !
जुन म छु
त्यसको अर्थ
एक कर्ता, एक निमित्त
एक हस्तक्षेप, एक अस्तित्व
यत्ति होस् !
तर,
जहाँ मेरो एक मसिनो धागो बराबर अस्तित्व खप्न नसकेर छटपटिएको हुन्छ समय
र बोलाई माग्छ बेमौसम हुरी वतासको मेला
खुब तन्मयले हेर्छु म उसको बेचैनी, उसका अनुहारका पसिना
कि मेरो एक साधारण कर्तृ-वाच्यको प्रकोप कति धेरै पर्नु छ यो सानो जगतमा !
हुनुछ यसरी मैले नै नसोचेको यति ठूलो भय म आफैं, यति विशाल डर मेरो आकारको नक्सासँग !
र बन्नु छ म एक विषाद-पात्र !
डुब्दो साँझको कलासँग गफ गर्दै
जो फर्किन्छु दिनसँग छुटेर घरतर्फ
मलाई म देखेर प्रकोप पालिरहेको शहरसँग विष्मय जाग्छ यसरी
कि मानिस,एक भय/एक हस्तक्षेप हुन
एक सत्व,एक आकार,एक उपस्थिति हुन
सयौं गाली,अनेकौं आक्रमण र दर्जनौं षडयन्त्र बुनिन
एकाएक पटदेखि बाहिर फ्याँकिन
दुई थान सिधा गोडाहरूको अविराम उभ्याइ
र
केवल एक कर्तृ-वाच्यले ठीक ठीक काम गरिदिए पुग्छ !
* मजुवा पोखरी – चितवनको माडीस्थित एउटा पोखरी जहाँ दीपिका(९)- दीपशीला (११) को बलात्कारपछि हत्या गरिएको थियो ।





