मुन्धुम लिम्बु

म कुनै सुन्दरी प्रतियोगिताको बिरोध गर्न सक्दिन किनकि तिनै प्रतियोगिताले धेरै सुन्दरीहरूको नामलाई स्थापित गराइरहेकोे हुन्छ । उनीहरुको नाम नै  ब्रान्ड पनि  बनेको उदाहरणहरु पनि देखिन्छ । यस्तो काम कतिपय अर्थमा नेपालको युवा जमात माझ लोकप्रिय बन्दै गरेको लोकसेवाले पनि अहिलेसम्म गर्न नसकेको भान हुन्छ ।

व्यक्तित्व विकासको निम्ति कुनै पनि प्रतिस्पर्धा गलत होइन तर विडम्बना हाम्रो जस्तो समाजमा सुन्दरीहरूको मुल्यांकन गर्ने ९९% न्यायाधीसमा तिनै महान पुरुषहरू चयन भएको पाइन्छ  । महिलाको समग्र व्यक्तित्वको मुल्यांकन गर्ने ओहदामा महिला न्यायाधीसको बाहुल्यता मैले  कहिलै देखिन। महिलाको प्रतिभा र व्यक्तित्व विकास गराउने कार्यक्रमहरुमा पुरुषहरू नै अग्र स्थानमा हुने  र त्यहाँ पुरुष अहंकारको नै बोलबाला भएको देखिएको छ।

प्रत्येक महिला हिंसाको पछाडी सुन्दरी प्रतियोगिता जस्ता कार्यक्रम नै शतप्रतिशत दोषी हुन्छ जस्तो मलाई लाग्दैन । तर यस्ता कार्यक्रममा भाग लिनु आर्थिक रूपमा महंगो हुने गर्दछ । जस्तै हरेक शोमा संबंधित सहभागीसंग गोजीमा खर्च गर्ने सय रुपैयाँ नभए पनि नयाँ लुगा लगाउनु पर्छ । आफ्नो आवश्यक खर्च  अभिभावकबाट पुरा नभएमा केही महत्त्वाकांक्षी युवतीहरु अन्य स्रोतबाट इच्छा पूरा गर्न तिर लाग्छ्न।
कुनै युवती आफुसंग बस भाडा नभए पनि कारमा हिडने सौख राक्छ्न र संयोगवस कुनै पुरुषले अफर गरिहालेमा कारमा चढन हिचकिचाउदैनन। आफ्नो औकात जे जस्तो भए पनि अरु समान आफुलाई देखाउने होडबाजीमा कोही लाग्ने गर्छन।

यी सब कुराहरु कि त आफ्नै कमाइ वा परिवारको सहयोगमा पूरा गर्न सक्नु पर्‍यो । तर सबै युवतीको आर्थिक स्थिति समान हुदैन न नै। त्यस्तो बेला सहयोग गर्न आउने भलाद्मी पुरुष नै पछि यौनपिपासु राक्षसमा परिवर्तन हुन्छ भन्ने होस विशेष गरि कच्चा उमेरका बालिकामा हुने गर्दैन । परिणामस्वरूप सोझोसाझा इमानदार बालिकाहरू अपराधीको सिकार हुन पुग्छ्न।
आफ्नो हक अधिकार र सिमाबारे अनभिज्ञ रहेका छोरीहरुलाई अभिभावकले सुन्दरी प्रतियोगिता या त यस्तो ग्लामर जगतमा सरिक हुन दिनु हुन्न भन्ने लाग्छ  ।


अहिले सुस्मिता रेग्मीको भनाइ जति चर्चामा छ उति नै चर्चा पुर्व मिस नेपाल माल्भिका सुब्बा बारे पनि चलेको छ । सुस्मिताले आफुले आइडल मानेको अभिभावक फिगरको नारी माल्भिका सुब्बा प्रति ठुलो आशा राखेर त्यसबेला सहयोग माग्नु स्वाभाविक थियो। त्यस्तो बेला न्यायको लागि सुस्मिताले जो कसैलाई सहयोग माग्नु कुनै पाप होइन, थिएन । दुखलाग्दो कुरा आशाको केन्द्र माल्भिका उनलाई सहयोग गर्ने सवालमा चुकेकै हुन। यो प्रसंगमा माल्भिका स्वयंले स्पष्टीकरण सहित माफी पनि मागी सकेकी छिन ।  यस्तो बेला सबैको ध्यान संभावित अपराधीको खोजीमा जान जरुरी छ । जसले गर्दा सुस्मिता रेग्मीको बलात्कारमा मुछिएका सबै अपराधीलाई कानुनी कार्वाहीको दायरामा ल्याउन सकियोस।

नेपालमा बलात्कारीलाई  हदैसम्मको दण्ड सजाय हुने कानुन छैन। भए पनि  पहुँच र चलखेलको भरमा अपराधीलाई उन्मुक्ति दिने अभ्यास छ। त्यसैले कार्यान्वयन सहितको कडा कानुन नबनिएसम्म अनगिन्ती पर्दा पछाडि रहेका सुस्मिता रेग्मीहरु कहिल्यै बाहिर आउन सक्दैनन। त्यसैले सुस्मिता माथि घटेको घटनाबाट कानुन निर्माण गर्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण होस भन्ने चाहन्छु ।

https://www.hongkongkhabar.com/11891.html

तपाईको प्रतिक्रिया