बिन्दु शर्मा
सूर्य तिल्केनी लेकको पारिबाट ओरालो लाग्दै गर्दा पनि त्यसको रापभने कत्ति कम भएको थिएन । त्यसमा पनि छिनमै स्यार्र पानी पर्ने र छिनमै चरङ्ग घाम लागिहाल्ने भदौरे याम । घमौरा चर्केर बसिसक्नु नहुने । बिहान मात्रै त फालेकी थिएँ मैले यो लाहुरे फूलमा लागेका पतेराहरू । फेरि छपक्कै बसेछन यसको डाँठमा । गएको चैते दसैँमा भगवतीलाई रोटी चढाउन खैराबाङ पुगेका बेला आमाले तिनओटा लाउरेका सेला लाउनुभएको थियो । तीमध्ये एउटामा पहेँलो, एउटामा सिम्रिके रातो र एउटामा कलेजी रङका फूल फुल्न थालेका छन अचेल । मलाई कलेजी रङ साह्रै मन पर्छ । त्यही कलेजी रङको लाहुरेको छेउमा कताबाट एउटा चिचिन्डोको लहरो पनि झाङ्गिएछ । त्यसलाई उखेल्नै दिनुभएन आमाले । तिहुनको छाक टार्छ रे त्यसले । ‘हेर्दा नाम्रो मात्रै भएर क्यार्नु, काम लाग्नी पनि हुनुपरयो नि त्यो फूल’ उहाँ बरोबर चिडिन्डाको उपयोगिता स्मरण गराइरहनुहुन्छ । त्यही चिचिन्डामा लागेका पतेराहरू हुन यो लाहुरे फूलमा सरेका पनि ।

हाम्रो आँगनमा प्रवेश गर्ने ढोकाको दुईतिर चारओटा खाँबा गाडी माथिबाट पनि त्यस्तै दुईओटा दार तेर्सो पारेर टाँडी जस्तो बनाइएको छ । त्यसमा एकातिरबाट रङबदल र अर्कोतिरबाट बेगमबेलीका लहराहरू माथि गएका छन । अचेलचाहिँ त्यो टाँडीमा यो चिचिन्डो पनि उक्लिएको छ । म बेलाबेला यसको जरो उधिन्दिऊँ कि भन्ने पनि सोच्छु तर आमाको डरले त्यसो गर्ने आँट भने अझै आएको छैन । पहेँलो र रातो लाहुरेका बिरुवा चाहिँ यो चिचिन्डोभन्दा अलिक टाढा छन् । तिनमा भने पतेरो अझै सल्केको छैन । ती निर्धक्कसँग फुलेका देखिन्छन ।

सावित्रीलाई त्यो रातो लाहुरे सबैभन्दा मन पर्छ रे । त्यसपछि पहेँलो । पहेँलो लाहुरेलाई त ऊ ‘तु जस्सिन बा’ पो भन्छे । कलेजी रङको फूल चाहिँ हेर्दै अँध्यारो छ रे । ऊ त्यसलाई त्यति मन पराउँदिन पनि । खै कुन्नि किन, मलाई भने मन परेको हो त्यही कलेजी रङ । सुरुमा कलेजी रङको गुलाफ लगाएँ । सेतोचाहिँ रामझाम भयो तर त्यो कलेजी भने त्यति सप्रिनै सकेन । कति ठाउँ खोजेर कलेजी रङकै तिउरी लगाएँ, त्यसकै छेउका गुलाबी तिउरी झपक्कै फुले तर दुईचार ओटा फुलेपछि कलेजीचाहिँ पहेँलो भएर सुक्यो । त्यहीँनेर सावित्रीले रोपेका सुकुमराज कस्ता सप्रिएका छन, केतुकीको स्थानीय जात जस्तो लाग्छ यो फूल । यसको बीचको गुभाबाट झन्डै डेढदुई फिट लामो नली पलाउँछ र त्यसकै टुप्पामा झुपुक्क परेर ठुल्ठुला सेता फूल फुल्छन । अचेल हाम्रो घरवरिपरि पुरै वास्नादार बनाएको छ त्यसको फूलले । सावित्री प्रत्येक दिन एउटा त्यो फूल आफ्नो मैलो झोटीमा जतनसँग सिउरिन्छे । फूलका बोटहरू गोडमेल गर्दा, पानी लगाउँदा र फूल टिप्दा पनि ऊ अति होसियारी अपनाउँछे । त्यस बेला उसको अनुहार बिहानीको ताराजस्तै चहकिलो देखिन्छ । मचाहिँ धेरैजसो फूलमा लागेका किराहरू खोजीखोजी फाल्ने र तिनलाई मार्ने काममै रमाउँछु । आज भने म त्यो लाहुरे फूलमा सल्केका पतेराहरू किचिमिची पार्दै छु । नाकै फोडने तिनको गन्धले पनि मेरो आक्रोशलाई मत्थर पार्न सकेको छैन ।

‘ह्याउउउ… !’

‘ऐय्या बा !’ जुरुक्क उठेर म अन्धाधुन्ध हात फैलाउँदै पछिल्तिर फर्किएँ । सावित्री आफ्नो पेट समातेर हाँस्तै रहिछ ।
‘मोरी कुकुर्नी, मलाई एकसुरे भएको बेला तर्साउने ?’ आक्रोशित हुँदै मैले भनेँ ।
म रिसाएको देखेर ऊ अलि पर भागी तर डरले होइन, जिस्किने अभिप्रायले । म पनि सानो माटाको डल्लो टिपेर उसकै पछि दौडिएँ । आँगनसँगै जोडिएको खलिहानमा पुगेपछि ऊ मतिर फर्किएर हाँस्तै र हातले छेल्दै आफूलाई मेरो प्रहारबाट जोगाउन खोज्दै थिई । मैले भने एकपटक त हिर्काइहालेँ । माटाको त्यो ओसिलो डल्लो त्यसको कुहिनामाथि लगाइएको टर्यामा लागेर फुट्यो । ‘वा… डाई !’ ऊ आफ्नो कुहिनो समातेर दुखेको अभिनय गर्दै सेतो गुन्युमा अल्झेको माटो झार्न थाली । ससाना डल्ला र धुलो उसको गुन्युमा अडिँदै बिस्तारै भुईमा झरे । मलाई भने त्यो देखेर हाँसो उठ्यो ।

‘यीँ… !’ म हाँसेको देखी तलका दाँतले माथिल्लो ओठ टोकेर उसले मेरो खिसी गरी ।
‘यीँ… !’ मैले पनि उसकै अनुकरण गरेँ ।
‘योँ… !’ उसले जिब्रो ओठबाहिर निकालेर बटारी ।
मैले पनि फेरि त्यसै गरेँ । ऊ ङिच्च हाँसी । म पनि हाँसेँ । अब हाम्रो रिस मरिसकेको थियो । दगुर्दै आएर उसले मेरा हातका औँला चपक्क समाती ।

खेल दरी दर्को दरी
पैला रेशम च्याँट्ट परी
म खेल्छु चारी
भाइ खेल्छ खोपी…

दुबै हात एकापसमा समाती हामी आफूतिर तन्कँदै र गीतको भाकामा उफ्रिँदै खेल्न थाल्यौँ । उसको उँचो छातीबाट तलतिर झरेको ‘हर्द्यार गुरर्या’ झपक्क झपक्क हुँदै अगााडि पछाडि गरेर हल्लिन थाल्यो । त्यसै बेला घर्लक्क पारेर तलतिरबाट तगारो खोलेको आवाज आयो । गाउँको मुल बाटामा जोडिएको हाम्रो घरको कम्पाउन्डभित्र छिर्ने निकासमा तगारो बनाएर लामा लामा बाँसका घारा लगाइएको हुन्थ्यो । हात समातेको समात्यै सावित्रीले मुन्टो तनक्क तानेर त्यतातिर हेरी ।
‘ठकुर्वा आइट’ भन्दै ऊ आत्तिएर सानी काटने चारा मेसिनतिर दगुरी । मैले पनि उसैलाई पछ्याएँ । दिउँसो घोँगा जति पोलेर खाएका मकैका नलहरू उसले हतार हतार मेसिनको बाकसमा कोच्न थाली । मैले पनि तिनलाई मिलाएर राख्दै हातले थामिदिँदै गरेँ । उसले मेसिनको ठुलो चक्कासँगै जोडिएको लामो हत्तालाई दुवै हातले समातेर हतारहतार घुमाउँदै चरप चरप पारी भैँसीका लागि सानी काटन थाली । बुवासँगै भान्दाइ पनि आउनुभएको रहेछ । बुवा आफ्नै धुनमा हुनुहुन्थ्यो, भान्दाइ चाहिँ हामीतिर पुलुक्क हेरेर कस्तो कस्तो असजिलो तरिकाले हाँस्नुभयो । मैले मेसिनबाट हात हटाएर झट्टपट्ट उहाँलाई नमस्ते गरेँ । नल काटिसकेर सावित्रीले तिन उगेँला पराल पनि काटी अनि सबैलाई मिसाएर एकै ठाउँमा थुप्रो लगाइदिई ।

त्यसबेला उसले बाहिरको धन्धा लगभग सिद्ध्याइसकेकी थिई । अबको काम घरभित्रकै हुन्थ्यो । त्यसैले म अघि अघि भएर घरभित्र पस्दै थिएँ । बैठकको झ्यालबाट चियाएर हामीलाई नै हेरिरहेका भान्दाइका आँखा देखेर म तर्सिएँ । सावित्री पनि आत्तिएर यताउति हेरी अनि माझेर पेटीमा घोप्टो पारी सुकाइएका पूजाभाँडा उठाएर पूजाकोठाको ढोकैनेर राखिदिई । ती भाँडा लिएर म भित्र पसेँ । ठुलो पालामा चौँठीबाट तेल खन्याएर कपासका सुक्खा बत्ती त्यसमा चोप्दै र अरू पालामा राख्दै मैले दियोबत्ती बनाई सिद्ध्याएँ । पूजाचौकीमा रहेको सानो टेबलमाथि पूजाभाँडा फिँजाइदिएँ अनि बत्तीसहितका पालालाई लस्करै मिलाएर राखी चौकीमा कुसन बिच्छ्याइदिएँ । म बाहिर निस्कँदा सावित्री पेटीमा बसी टुकी पानस माझेर थोत्रो गन्जीको चिर्कटोले लालटिनका चिमहरू पुछ्तै थिई ।
उसको पछि उभिएर चुपचाप म उसका गतिविधि नियाल्न थालेँ । ऊ पनि म आएको चाल नपाएजस्तै गरी आफ्नो काममा तल्लीन भइरही । उसको बेवास्तालाई खिसी गर्दै मचाहिँ दुईटा ओठ चपक्क पारेर पुर्रपुर्र ध्वनि निकाल्दै घरभित्र पसेँ । आमा भान्सामा भात पकाउने तरखर गर्दै हुनुहुन्थ्यो । अँगेनामा बसालिएको ठुलो कालो कराईमा दुध तात्तिँदै थियो । त्यसकै छेउमा पाटे बिरालो आँखा चिम्म गरेर निदाएको जस्तो गरी टुसुक्क बसेको थियो । म भने काठको घुमाउरो भरयाङमा थचक्क बसेर कुर्कुच्चाले भरयाङ ढ्याङढ्याङ बजाउन थालेँ । दुई हातमा टुकी पानस झुन्ड्याएर सावित्री पनि भित्र पसी । म बिस्तारै भरयाङबाट ओर्लिएर कुनातिर दप्किएँ । ऊचाहिँ भरयाङमुनिको मट्टीतेलको बाकसछेउमा टुकी पानस राखेर तिनमा तेल हाल्न थाली । पहिले ऊ रातो मसिनो इँजारले बाँधेको सानो सिसी बाकसको साँघुरो प्वालबाट भित्र छिराउँथी र कुवाबाट पानी निकालेजस्तो गरी सिसीबाट तेल उबाएर टुकीमा भर्थी । आज पनि ऊ मसिनो तर सुरिलो स्वरमा ‘मन्झु गाउँ बैठना ढोढरीक लेसना, डैनापख्ना नि हो भाटु कैसै भेटना’ गीत गाउँदै एक चित्तले काम गर्दै थिई ।

‘ह्याउउउ…’ मैले उसको एकसुरलाई भङ्ग गरिदिएँ । ‘वा… डाई ! मुगिनु’ ऊ तर्सिएर चिच्याई । उसले आफ्ना हात झट्कार्दा तेल भरिएको पानस ढल्यो र तेल छताछुल्ल भयो । म डरले भान्सातिर दगुरेँ । ‘आब्ब मर्वा पइबो’ उसले आफ्नो छेउमै रहेको बनकसको छोटो कुचोले मतिर झटारो छोडी । अघिदेखि अगेनाको छेउमा बसेको बिरालो तर्सिएर ढोकाबाट खुर्र बाहिरतिर दगुरयो ।

‘सावित्री आमिन धन्दा निसेक्ल हो कि का, ठकुन्या ?’ ढोकाबाट छिरेर भित्रतिर हेर्दै सावित्रीको बाबु सियारामले सोध्यो । आमाले चाहिँ सावित्रीतिर हेर्नुभयो । त्यतिन्जेल ऊ छेवैमा रहेको छिटवाले छोपिएर आफूलाई लुकाउने प्रयत्न गर्दै थिई । म पनि दगुर्दै गएर अगाडि उभिई उसलाई छेकिदिएँ । ‘त्यतै गोठपाई छ कि हेर त’ आमाले पनि सावित्रीको मनसाय बुझेर होला, सियारामलाई गोठतिर पठाइदिनुभयो । ‘मै त मुजइम बेन, आज त घर निजैने हुइटु’ भन्दै सावित्री दगुरेर सिकुवाभित्र पसी र ढोका ढ्याम्म बन्द गरी ।
‘क्यार्छेस त बा ! छोरी मान्छले धर्ती भएर सअनुपर्च ।’ आमा ढोका छेउमै उभिएर उसलाई सियारामसित आफ्नो घर जानलाई सम्झाउँदै हुनुहुन्थ्यो— ‘त्यो पापीले तेरा बालाई मार्रेल्च, यस्तो जिद्दी नगर बा । बाको मुख हेरेर भए पनि घर जा ।’
‘नइ ! सङ्गक कोन्टीम प्याच प्याच म्वार गाँरी बजल सुनखन ऊ सद्ध सद्ध त मुठा । ओस्सिन से त बेन एक्क फयारा मुही त सन्च हुई ।’ सावित्रीले रुँदै आफ्नो आक्रोश पोखी । आमा चुपचाप भान्सातिर लाग्नुभयो । मचाहिँ त्यही ढोकाको छेउमा उभिरहेँ ।
‘निहो जे ठकुन्या, यिहाँरे हुई ।’ सियारामले सावित्री यतैतिर लुकेको आशङका व्यक्त गरयो । आमा केही नबोली अगेनाछेउको भित्तामा ठडाइएका दाउराका चाङबाट बाँसको लामो सिटकनो समातेर सियारामका नाङ्गा नल्ठा र तिघ्रातिर सोठ्याउन थाल्नुभयो । ऊचाहिँ अक्क न बक्क परेर हातले छेल्दै आफूलाई जोगाउने प्रयास गर्दै थियो । छेउको खोपाबाट हँसिया झिकेर आमाले त्यसको टुप्पाले कमिज पनि ध्यार्र च्यातिदिनुभयो र उसको नाङ्गो काँधमा तिन चारपटक सोठ्याउनुभयो ।

‘यी का… ?’ ऊ केही बोल्न खोज्दै थियो ।
‘जाऊ, त्यसलाई भन्देऊ ! सावित्रीलाई ठकुर्वाले सुताउन थाल्या छ भनेर ।’ यसो भन्दा आमाको टाउको नुहेर आँखाले भुइतिर हेरेका थिए । ‘जिउका सुम्ला र च्यात्या कमेज पनि देखाउनू । अनि सावित्रीलाई ल्याउन खोज्दा बाउनले यस्तरी पिट्यो, मैले हजुरको सेवा गर्न सकिनँ । माफ पाऊँ भन्नू । न कतै त्यो पापीको मन पग्लिन्च कि !’ अघिको सिटकनो दाउरा राखेको ठाउँमा घुसार्दै आमाले भन्नुभयो । आफ्नो च्यात्तिएको कमिजलाई दयनीय पाराले हेर्दैै र तानतुन पारेर नाङ्गो ढाडलाई छोप्न खोज्दै गरेको सियारामलाई आमाले फेरि भन्नुभयो— ‘पिर नगर । भोलिपुरा ठकुर्वाको अर्धानो कमेज खोजेर पठाइदिउँला ।’ सियाराम मन नलागी नलागी बाहिर निस्क्यो ।
बाबु हिँडेको चाल पाएर सावित्रीले विस्तारै ढोका खोली । भर्खर तेल हालेका लालटिन र पानस बाली । बुवाहरू बैठकमा बसेर गफ गरिरहनुभएको थियो । एउटा लालटिन बैठकमा लगिदिई । एउटा बाहिर पेटीमा राखी । पानसलाई डिबियामाथि राखिदिई र एउटा लालटिन बोकेर मास्तिर उक्ली । म पनि उसको पछिपछि माथि लागेँ । उसले चुपचाप डसना बिछ्याएर तन्ना कसी । म अघिपछि जस्तो उसले लगाएको ओछ्यानमा लुटपुटिने र पल्टिने गरेर उसलाई जिस्क्याउन सकिनँ । खाना खाइसकेपछि सुत्न जाने बेलासम्म पनि ऊ कसैसँग बोलेकी थिइन । ‘नाम्ररी ढोका लगाएर सुत्नू !’ भरयाङबाट मास्तिर उक्लिँदै गर्दा आमाले रुखो स्वरले भन्नुभयो । उसले भने कुनै प्रतिक्रिया जनाइन ।

त्यो रात अबेरसम्म पनि मलाई निद्रा लागेन । सियारामलाई सम्झिएँ । विनासित्ति आमाको पिटाइ खाएको उसलाई कति दुख्यो होला । अझ सावित्रीलाई नलगेको हुनाले ज्योतिले पनि कुट्यो कि ! यसभन्दा अगाडि पनि एकपटक सावित्री यसै गरी लुकेकी थिई । हामीले सबैतिर खोज्यौँ तर कतै भेटेनौँ । भोलिपल्ट चाहिँ बिहानै ऊ टुप्लुक्क आइपुगेकी थिई । भन्थी— ‘रातभर भुसाहा कोन्टीम बितइनु ।’ त्यसपटक ज्योतिले सियारामलाई नराम्ररी पिटेछ र सावित्रीकी काकाकी छोरीसँग रातभरि सुतेछ । काकाकी छोरी आउने असोजमा बाह्र वर्ष पुग्दै छे रे । रगतपच्छे भएर चारपाँच दिनसम्म पनि ऊ हिँड्न सकेकी थिइन रे । आज त ऊ पनि छैन रे घरमा । हिजै त भनेकी हो सावित्रीले, काकाको परिवार खेती सकेको अवसरमा ‘हद्रवाइ’ खान मामाघर गएका छन भनेर ।
ज्योति हाम्रो क्षेत्रको पुरानो पार्टीको प्रभावशाली भनिने नेता । आमा भन्नुहुन्थ्यो— क्रान्तिअघिको भूमिगत कालमा पनि ऊ तिनै गरिब थारुहरूका घरमा आश्रय लिन्थ्यो र उनीहरूका भर्खरका छोरीहरूसित यसै गरी रात बिताउँथ्यो । गएको संसदको चुनावमा पराजित भएकाले ऊ गाउँघरमा घाइते बाघजस्तो हिंस्रक बनेको हल्ला चलेको थियो । हाम्रो बुवाचाहिँ चुनावको परिणाम आएको झन्डै दसबार दिनसम्म पनि घरबाट बाहिर निस्कनुभएको थिएन । ‘हाम्रो गाविसबाट नब्बे प्रतिशत भोट ज्योतिका पक्षमा खस्ता पनि उसलाई जिताउन सकिएन’ एक दिन उहाँले निराश हुँदै फुपाजुसँग भन्नुभएको थियो— ‘एक नम्बर वडाबाट त शतप्रतिशत नै ज्योतिका पक्षमा खसेको हो ।’ उहाँका कुरा सुनेर म छक्क परेकी थिएँ । सावित्रीकै गाउँका सबैले उसलाई नै भोट हालेछन । ‘होइन, तिमीहरूले त त्यसैलाई पो भोट दिएछौ त ?’ दिउँसो जुठो भान्सामा ‘रस्यो’ गरिरहेका बेला मैले सावित्रीलाई सोधेकी थिएँ ।
‘मै तो डारल हुइम !’ ऊ निन्याउरो अनुहार लगाएर स्पष्टीकरण दिन खोज्दै थिई ।
‘अनि यो के हो त ? आफूलाई त्यस्तो गर्नेलाई पनि भोट हालेकी तैँले ?’ उसको बायाँ हातको बुढीऔँलाको नङमा लागेको कालो मसीको दाग देखाउँदै मैले उसलाई चोट पर्ने गरी कराएर सोधेकी थिएँ ।
‘हम्र त कागत लेखन भित्तर केल गैली, ब्वाट डरुइया ट औरज रलह ।’ पोखिएका भातका सिताहरूलाई गोबरले लोटाउँदै उसले भनेकी थिई । ‘हम्र गरिब मनइ त होगिली, जसिन कहठ ओसिन करना’ उसले आफ्नो भनाइसित विवशता पनि पोखेकी थिई ।
‘तु फे त पाछ ओकरलाक ब्वाँट डेबो काहुँ’ चुलाको भुङग्रोलाई जुठो थालमा उठाउँदै उसले प्रतिप्रश्न गरेकी थिई ।
‘किन मैले त्यसैलाई भोट दिन्छु जस्तो लाग्छ तँलाई ?’ भुङ्ग्रो उठाउँदा उडेको खरानीबाट आफूलाई जोगाउनका निम्ति देब्रे हातले अनुहार वरिपरि हम्किँदै सोधेकी थिएँ मैले पनि ।
‘हाँ ! ठकुर्वा ठकुन्या फे तारया झन्डा बोक्खन ओकर पर्चारमा नेङल, तुर बडका महलिक सक्कुज एक्क पाटीक त हुइटो’ उसले जति सजिलोसँग यी कुराहरू भनेकी थिई, त्यो स्वीकार गर्न भने मलाई त्यत्तिकै गाह्रो भएको थियो ।

त्यति बेलासम्म म सोच्थेँ, हामी दुवैको खाने, बोल्ने, हाँस्ने, खेल्ने, सुत्ने अनि नुहाउने तरिका उस्तै छ । शरीरको बनावट र रुचि पनि उस्तै छ । त्यसैले हामी एउटै जातका हौ, एउटै वर्ग, एउटै समूह र एउटै पार्टीका हौँ । तर त्यस दिन क्षणभरमै सावित्रीले मलाई आफ्नो वर्ग र पार्टीबाटै अगल गरी ठुलो महलमा बस्नेहरूको पंक्तिमा उभ्याइदिएकी थिई । अझ ज्योतिकै पार्टीमा राखिदिँदा त मलाई भित्रतिर झिरले रोपिदिएजसरी दुखेको थियो । मेरो बोली बन्द भएथ्यो त्यस बखत । त्यहाँबाट जुरुक्क उठी बैठकको बेन्चमा गएर डङरङग पल्टिएकी थिएँ । मेरो सामुन्ने माथिको दोस्रो दलिनमा एक जोडी गौँथलीहरू ठोंरमा बोकेर ल्याएको गिलो माटोबाट गुँड बनाउँदै थिए । माटाका ससाना मटेङग्राहरू जोडेर बनाइएको जस्तो देखिने त्यो गुँडको तल्लो भाग माटो सुकिसकेकाले फुस्रो रङको देखिन्थ्यो । बनिरहेको माथिल्लो भागचाहिँ माटो ओसिलो भएकाले होला कालो रङको थियो । रातदिन सँगै बस्ने, सँगै काम गर्ने र सँगै खेल्ने एउटै रूपरङका यी गौँथलीहरूको पनि सावित्री र मेरोजस्तै फरकफरक पार्टी हुँदो हो कि ?
मैले थाहा पाएदेखि नै बुबाले त ज्योतिलाई समर्थन गर्नुहुन्थ्यो । फेरि आमाले पनि… किन ? सबै थाहा हुँदाहुँदै । म अचम्ममा परेकी थिएँ । आमाले नै कुरा गरेको सुनेकी हुँ मैले— सावित्रीकी फुपू हाम्रो घरमा कम्लरी बसेका बेला पनि ज्योति गाउँमा आएका प्रत्येक रात सियाराम यसै गरी आफ्नी बहिनी सुमित्रीलाई लिन आउँथ्यो रे ।
+ + +
म बेला बेला सावित्रीसँग घाँस काटन जान्थेँ । मकैबारीमा घाँस काट्दाकाट्दै हामी उसले खोजेर ल्याएका काँक्रा खान्थ्यौँ । घाँसका ‘पुला’हरू कसेर उसले दुईओटा भारी बनाउँथी । एउटा मलाई बोकाउँथी र अर्को आफूले बोक्थी । एक पटक घाँस काटिसकेर ऊ घर फर्कने हतारमा थिई । मैले नलको उखु खाने चाहना देखाएँ । उसले बारीभरि खोजेर घोँगा नलागेका चारपाँचओटा मकैका नल काटेर ल्याई अनि पातहरू सोहोरेर एक छेउबाट चाखी र मुख मिठ्याएर चाखेको गुलियोचाहिँ मलाई चुस्न दिई । नलको उखु खाँदै गर्दा मैले उसलाई अबोध रूपले सोधेकी थिएँ— ‘किन त्यसले तिमीहरूलाई सुताउँछ हँ ?’ मलाई असन्तुष्ट आँखाले पुलुक्क हेरेर ऊ नल चुस्नमा व्यस्त भई । ‘हँ सावित्री, भन न ! तिमीहरूलाई दुखाएर त्यसले के पाउँछ के ?’ मैले दुवै हातले उसका कुममा झकझक्याउँदै पुनः सोधेँ । ‘थुःथुः’ गरेर नलका सिठी थुक्दै अनि घाँसको भारी बोक्ने तरखर गर्दै उसले भनी— ‘हलि चोलो, सन्झ्या हुइटा ।’ म अटेर गर्दै थिएँ, ‘के भो त, एक छिनपछि जाउँला नि ! मेरो कुरा त भन ।’
‘ठकुन्या अंशही बाटन्, कर्रा पर्जैठा ।’ उसले मलाई आमाको अवस्था अवगत गराई, ‘दस्याठे बइस्ठन कि का ?’ कुरा अर्कैतिर मोडनका निम्ति उसले मेरी आमाको सुत्केरी हुने महिना अनुमान गर्न थालेकी थिई ।
‘जुन महिना भए पनि के भो र ?’ मैले दिक्क मान्दै उसलाई सोधेँ ।
‘आओ, हेरी तो । भइया हुइठा कि बाबु !’ मेरो सोधाइलाई बेवास्ता गर्दै ऊ मोथे झार खोज्न थाली । उसले एउटा मोथेको सुइरोजस्तो डाँठ टिपी रबारीको आँठामा बसेर मैले ठेलातिर अनि उसले टुप्पातिरबाट चिरेर विस्तारै अघि बढायौँ । बीचमा पुगेपछि त्यो मोथे झार तासमा रहने इँटको आकारझैँ चारकुने भएर च्यात्तियो ।
‘बाबु, बाबु !’ ऊ दुवै हातका चोर औँला ठाडो पारेर बुरुकबुरुक उफ्रिई ।
मलाई भने त्यसले कुनै उत्सुकता वा आश्चर्य केही पनि लागेन बरु किन हो कुन्नि, काम बढछ भनेर सावित्रीले हाम्रो घर छोडछे कि भन्ने आशङका र एक किसिमको भयको अनुभूति भइरह्यो । त्यहीँ सोचमा मैले सोधेँ— ‘त्यसपछि तँ हाम्रो घरमा आउँदिनस ?’
‘का हुई निअइम ? निआख कहाँ जइम त ?’ उसले हाम्रो घर नछोडने प्रतिबद्धता र आउनैपर्ने विवशता दुवै एकैपटक प्रकट गरी ।
मभित्र भने ज्योतिकै कुराले मात्र नराम्ररी हुँडलिरहेको थियो । ‘भन न, त्यसले किन तिमीहरूलाई त्यसरी दुःख दिन्छ के ?’ सावित्रीको हातमा आफ्नो शरीरको सम्पूर्ण भार पारेर झुन्डिन खोज्दै मैले फेरि सोधेँ । नल चुस्दै गरेको उसको मुख एक्कासी कस्तो कस्तो तम्तम्याइनो खालको देखियो । उसका हातले नलको डाँठ दरो गरी समाते अनि मेरो कुर्ता माथि सारेर टाङभित्र नल कोचिदिन खोज्दै साह्रै झर्किई ऊ— ‘यी, इह करकलाक कर्ठा !’ म डरले पर सरेँ र उसलाई त्रसित आँखाले हेर्न थालेँ । उसका कापिरहेका हात देखेपछि झटपट आफ्नो कुर्ता तल सारेर दुवै हातले टाङ छोपेँ अनि उसका रुखा आँखा र कठोर मुखाकृतिको सन्त्रस्तताबाट बच्न खोज्दै बेतोडले घरतिर दगुरेँ । त्यसपछि मैले कहिल्यै पनि उसलाई ज्योतिले गर्ने क्रियाकलापबारे सोध्ने साहस गरिनँ, न त सावित्रीले नै ती कुरा खोल्ने चाहना राखी ।
+ + +
अम्बाका रुखमा झुन्ड्याइएको कोले बजेको र सुगाहरू ‘सुइँसुइँ–कुइँकुइँ’ गर्दै कराउँदै उडेको आवाजले मेरो निद्रा खुल्यो ।
हाम्रो घरको पूर्वतिर दुइटा ससाना रुख छन । तिनमा फलेका ठुला अम्बाहरू राम्रोसँग पाक्नै नपाई सुगाले टोकेर झार्ने गर्छ । बुवाले ती दुवै रुखको टुप्पामा दुइटा ठुल्ठुला कोले बाँधिदिनुहुन्थ्यो । तिनमा बाँधिएको एउटा लामो डोरी चोटाको झ्यालमा ल्याएर सुर्काइएको हुन्थ्यो । कराउँदै सुगा आएको चाल पाउनासाथ त्यो डोरी तानेर कुर्लुङ कुर्लुङ कोले बजाई हामी सुगाको बथान धपाउने गर्थ्यौं ।
त्यो बिहान म आँगनमा निस्कँदा वातावरण पुरै सिँदुरे रङको भइसकेको थियो । घाम झुल्किनै लागेको थियो कि ! आँगनको डिलमा लगाइएका फूलहरू शीतले लछप्प भिजेका थिए । लथर्किएर भुईमा झरेका सुकुमराज र तिउरीका पुराना फूलहरू नियाल्दै थिएँ म । लौ, त्यो कलेजी लाहुरे फूल त बोटै लुछेर कसले टिपेछ ! फूलसँगै भर्खर फक्रन लागेको कलेजी लाहुरेको कोपिलाचाहिँ एउटा हाँगामा पिटिक्क भाँचिएर झुन्डिएको रहेछ । त्यसका डाँठमा फेरि पनि पतेराहरू छपक्कै बसेछन । ती पतेराहरू मार्ने जाँगर चलेन आज मलाई । फूल फुले पनि सधैँ फुलिरहन पाउने होइन । यो सोचेर भित्रैदेखि असैह्य भयो । आमाले पूजा गर्नका निम्ति पो टिप्नुभयो कि ! आशङका मेटन दगुर्दै पूजाकोठाभित्र छिरेँ । पहेँलो पित्तलको फूलदानी रित्तै रहेछ । अघिल्लो दिन टिपेका तिउरी र सदासुन्दरीका फूलका केही पत्रहरू भने अझैसम्म पनि त्यसमा टाँसिएका रहेछन ।
‘सावित्री, किन यस बेलासम्म सुतिराकी ? झन पाई झन मताई !’ सावित्री बिहान भइसक्दा पनि नउठेकोमा आमा रिसाउँदै हुनुहुन्थ्यो— ‘एउटै भाँरो चोखो छैन, तारिखमा जाने मान्छेलाई भात ढिलो हुन्च ।’ आमा भान्साभरि छरिएका जुठा भाँडालाई छिटवामा चाँच्दै र खन्द्राङखुन्द्रुङ पार्दै रिस देखाइरहनुभएको थियो ।

‘झट्ट उठ ए कोरिनी !’ आमाको गालीको कडा आवाजले पनि सावित्री भने अझै उठिन । सिकुवाको ढोका अलिकति खोलेर भित्रतिर चिहाएँ मैले । सावित्री ओछ्यानमै बसेर आँसु पुछ्तै रहिछ । आमाचाहिँ घरयाङग ढोका पारेर आवेशमा सिकुवाभित्र छिर्नुभयो ।
‘के भो ? कि सोत्रेले भेट्यो ?’ आमाले उसलाई रुघा लागेको आशङका गर्दै सोध्नुभयो ।
‘नल नघिच भन्या टेर्नी हइन’ आमाले यति भन्दासम्म सावित्रीले भक्कानो छोडिसकेकी थिई ।
‘किन ? जरो त आरइन्च’ नजिकै गएर उसको टाउको समाएर निधार छाम्दै आमाले भन्नुभयो ।
‘अस्सिन जुनी पइना मनइ मुगिलसे हुइने रह बेन !’ सावित्रीले आफ्नो जिन्दगीलाई धिक्कार्दै थिई ।
‘कस्ले क्यारयो तँलाई ?’ अमिलो अनुहार एकाएक मलिन बनाउँदै आमाले सोध्नुभयो । सावित्रीले तुना खुल्लै रहेको आफ्नो आकासे रङको चोल्या विस्तारै माथि सारी । ‘रामराम !’ आँखा चिम्म गर्दै उहाँले भन्नुभयो । किटिक्क टोकिएको उसको दाहिने स्तनको मुन्टो त्यही कलेजी लाहुरेको कोपिलाजस्तै गरी लथर्किएको थियो ।
‘चोल्या घाल निबनट, मै कसिकन धन्धा कर जाऊँ ?’ वरिपरि रगत कटकटिएको आफ्नो स्तनलाई विस्तारै चोल्याले छोप्दै उसले भनी ।
‘मर ! किन कराइनस अभागिनी य !’ आँखाभरि आँसु पार्दै आमाले चिच्याएर झकझक्याउँदै सोध्नुभयो उसलाई ।
‘आपन भइना छोरकन म्वार पर्घा लिए सेक्बो ? सुँक्क गरेर नाकबाट सिगान माथितिर तानी आफ्ना घृणित नेत्रले आमालाई हेर्दै उसले चुनौती नै दिई । ‘त्यो पापीको केइ पनि नरओस !’ आमाले भान्दाइलाई सराप्न थाल्नुभयो । ‘का जे थाहा निपाइल जसिन कर्ठो !’ सावित्रीले त्यो अविवेकी कार्यमा आमाको चुपचाप संलग्नता भएको आशङका गर्दै आफ्नो आक्रोश पोखी । ‘भो पुग्यो, अब योभन्दा धेरै नभन ।’ देब्रे हातले आफ्ना आँसु पुछ्तै र दाहिने हातले उसको मुख थुन्दै आमाले भन्नुभयो ।
म स्तब्ध भएर आँगनमा निस्किएँ । जामाको फेरले आँखा पुछ्तै आमाबाट लुक्न चाहन्थेँ म । केही बेरसम्म पहेँला पहेँला हुन थालेका तिउरीका फललाई टिप्दै र सिमेन्टको पेटीमा झटकिँदै गरिरहेँ । तिउरीका नछिप्पिएका खैरा गेडा र बटारिएका बोक्राका टुक्राहरू पेटीभरि छरिए । कता जाऊँ, के भनूँ, के गरुँ जस्तो भइरह्यो । मुटुमा गाँठो परेजस्तो, घाँटीमा केके अड्केजस्तो लागिरह्यो । घरिघरि पिसाब लागेजस्तो, दिसा आउन खोजेजस्तो भयो र कतिपल्ट टवाइलेट जाँदै फर्किंदै गरेँ । अन्त्यमा आँगनबाट खलिहान हुँदै मूल बाटोमा निस्किएँ । गराला हालेको निकासको उत्तरदक्षिणतिर लस्करै बाँधिएका गाईगोरु, भैँसी र राँगाहरू मुखमा सेतो फिँज निकालेर निश्चिन्त उग्राउँदै थिए ।
बाटोमा निस्कनासाथ मेरा पाइला टक्क रोकिए । कसले टिप्यो भनेको त्यो लाहुरेको कलेजी थुँगो बाटाकै बीचमा धुलाम्य भएर किचिएको रहेछ । त्यो फूल उठाउन भनी निहुँरिन थाल्दा मैले सन्त्रस्त भावले घरतिर पुलुक्क हेरेँ । घर आँगन चकमन्न भए पनि झ्यालमा भने भान्दाइ देखिनुभयो । उहाँले रहस्यमय ढङ्गमा मतिर हेरिरहनुभएको रहेछ । म असमञ्जस्य भई झ्यालबाट आँखा हटाएर चिसा आँखाले आँगनतिर हेर्न थालेँ ।

तपाईको प्रतिक्रिया