कविता र पत्रकारितामा सक्रिय एलिसा ढुंगाना ‘सौन्दर्यको भग्नावशेष’ कविता संग्रहको तयारीमा छिन् । एलिसाको कवितामा नयाँ पुस्ताले देखेको र भोगेको आजको समाज पढ्न सकिन्छ । हर कोहीले अन्यौलग्रस्त देखिरहेको यो समय एलिसाले कवितामा उपलब्धि र सफलताको संभावनालाई जिवितै राखेर लेखन कर्ममा जुटेकी छिन् । रेडियो र टिभीमा काम गरेको अनुभव लिएकी उनी इजिपाना डट कम की प्रधान सम्पादक हुन् ।
प्रणय गीत
तिमीलाई छोएन मेरो श्वासले
तर म तिमीभित्रको प्राण भएर
तिमीमै बाँचिरहेछु ।
म हरेक बिहान तिम्रो जीवनको पृष्ठबाट बिउँझिन्छु
र साँझ तिमीलाई प्रेमको लायक बनाएर
तिमीले चाहेर पनि गुमाउन नसक्ने प्रेम भएर निदाउँछु ।
नहुँदा म,
तिम्रा सम्बन्धहरू सम्झौता बन्न सक्लान्
अनेक सहमतिहरुमा तिम्रो माया चिथोरिएला
तर चहराएको मायाबाटै तिमीले
सहज जीवनको नयाँ रङ बनाउनू
र, शान्त, सन्तुष्ट मुस्कानसहित
एक दिन,
तिमी फर्केर हेर्नू
— म त्यहीँ हुने छु,
जुन साँघुरो गल्लीमा मलाई एक्लै पारेका थियौ ।
म गल्लीजस्तै साँघुरीएर होइन ,
आकाशजस्तै फराकिलो बनेर ।।।
तिमीलाई कहिल्यै नछोए पनि तिमीलाई नै घेरेर बसिरहेकी हुन्छु ।
सेल्फ डेटिङ
आजकाल सेल्फडेटिङ्गमा म ब्यस्त नभएको भए
कसरी थाहा हुन्थ्यो र – मलाई
तिमिसम्म पुग्ने तिम्रा बाटाहरुको लम्बाइ
कसले सक्थ्यो र – बुझाउनलाई
तिमी हुनुको अस्तित्व र नहुनुको महत्व
उपहारस्वरूप पाएको नयाँ युगको
एन्ड्रोइड’ मोबाइल जस्तै मेरो जीवन
बेलाबेलामा ह्याङ्ग नहोस् भन्दै
जीवनलाई अपडेट गराउन
जानीनजानी समयको ‘प्ले स्टोर’बाट
बिभिन्न किसिमका एपहरु डाउनलोड गर्दा
कहिलेकाँही सेल्फ डेटिङ्ग जस्ता एप पनि
‘डाउनलोड’ हुने रहेछन्
जसले तिमीसङ्ग पर हुन दिदै दिदैनन्
त्यसो त, सुन्दैछु यहि सेल्फ डेटिङ एपबाट
तिमीले पनि जीवन सहज बनाउन भन्दै
मसङ्ग परपर भाग्न सिक्दैछौ रे
म भने तिमीलाई भेट्टाउने प्रयत्नमा
तिमीले जस्तै भ्रमको लुकामारी खेल खेल्न सिक्दैछु
र त मनका भित्री कुरा खोल्न म सेल्फ डेटिङ जान्छु
जहाँ निस्फ्रीक्री मनको कुरा खोल्न सक्छु
न डर न लाज न त कुनै घमण्ड केहि हुँदैन त्यहाँ
कसैले छेकिदिदैनन् मेरा उन्माद खुशीका हाँसो
कसैले थुनिदैनन् अनेक दुःखका आँसु
र रोकिदिदैनन् मेरा सपनाहरु
देख्नेलाई म पागल लागे पनि
तिमीले सुन्न नचाहेका गुनासाहरु म सुनाईरहन्छु
किनकी झिझो मान्ने कोहि हुँदैनन् त्यहाँ
तिमी ढुक्क भए हुन्छ मेरो सेल्फ डेटिङले कुनै असर र्गर्दैन
न त टेन्सन र हेड्यक हुन्छ तिमीलाई
न त “सिजोफोर्निया” रोगले छुन्छ मलाई
जसरी छोएको थियो डेटिङको लतले हामीलाई
त्यसो त एक्लै भएर या तिमी नभएर
म सेल्फ डेटिङ गएको होईन नि प्रिय
मसङ्ग मेरो जीवनको सहयात्री मेरो मन र तन छ
मेरा अनुभव र भोगाईहरु छन्
कहिलै नछाड्ने यी सेल्फ डेटिङका साक्षीहरुलाई सोध
सेल्फ डेटिङ्गले सिकाएको जीवनको अर्थ
एक्छिन मन र मस्तिष्कलाई सजाय दिएर हेर
आँसुबाट सुरु भएको जीवन हाँसोमा अन्त्य गराउन सिकाउँछ
एक्लै आउन हिम्मत गर्नेलाई एक्लै बाँच्न सिकाउँछ
र एक्लै एक्लै हिड्न र अस्ताउन सिकाउछ
बिधाताले सिकाएको संस्कार मान्दै
भोलि के हुन्छ अनुमान गर्न सकिए झैँ ठ्याक्कै भन्न सकिन्छ
जसरी स्वभिमान् भरिएको शिर बोकेर कुद्न सकेको थियौ तिमी
त्यसैगरी सफलताको सम्झना बोकेर समयसङ्गै कुद्न सक्नेछ तिम्रो पैताला
र त मानसिक दवाई खानु नपर्ने
मलाई सेल्फ डेटिङ निकै मन पर्न थालेको छ
रजस्वलाको सुगन्ध
जब मौनता च्यातिन्छ,
डरका पर्खाल ढल्छन् ।
त्यो दिनदेखि सुरु हुन्छ
नयाँ युगको संकल्प ।
म रजस्वलाको आलो रगतलाई
आक्रोशको ज्वालामा जलाइरहेकी छु ,
– अन्यायका इँटाभित्र
विस्फोट गराउने साहस बोकेर ।
जब बल्छ रगत ,
घामले चिहाएको नीलो आकाशको मुटुमा
मेरो आत्माले – शान्तिको श्वास फेर्छ ।
तर, हावा पनि बिक्री हुने यो शहरमा
मेरो छोरीको रजस्वलाको सुगन्ध भने
फर्कन्छ – त्यो पुरानो गाउँतिर
जहाँ शून्य बस्तीमा श्वास लिन्छ
– एक अनुत्तरित इतिहास ।
जहाँ संस्कार कुल्चिएको आरोपमा
झूटको चिसो संस्कृति पग्लिएको थियो ।
सम्पदा संरक्षणको नाममा बगेका पसिनाले
शोषणको प्रमाणपत्र बोकेर
अघोषित आन्दोलन गरेका थिए ।
सत्य युगलाई कलिले छोपेको
भ्रमको युगमा
रजस्वला “अपवित्र“ मानिएको बेला
धर्मको नशामा चुर भएर
अँध्यारा कोठामा थन्काइन्थ्यो ।
जहाँ भगवानको नाम लिनु पनि पाप हुन्थ्यो
तर रातको चुपचापमा – उही कोठाबाट ,
जन्मिएका थिए – कयौँ क्रान्तिकारी छोरीहरू १
तैपनि हजुरबुबाले
आफ्नी ज्वरोले थलिएकी श्रीमतीको निधार नछाम्दा
नाडी गुमाउनुप¥यो ।
फुपू, परालको ओछ्यानमा
हैजासँगै अस्ताइन् ।
काकीले मिति बिर्सेर
काकाको खुशी सँगै बाँधिँदा
पाठेघरको क्यान्सर बोकिन् र जिउनकै लागि आफैसँग युद्ध गरिन् ।
किनभने उनीहरूले रीत नबुझेर “पाप” गरेका थिए ।
तर धर्मका रक्षकहरूले भने
कहिल्यै मनलाई नसोधी, आत्मालाई नछामी
– पवित्रताको परिभाषा कोरिरहे ।
र, मैले
– कुलदेवी र देवताको मान नराखी पूजा गरेर
बुबाको धर्ममा चिसो आँच लगाएँ ।
तर, मेरी आमाले भने
– धार्मिक ग्रन्थहरु पढ्दै
रजस्वलाको भ्रमको अन्धकारमा
बाँझिएका बिचारहरुमा
चेतनाको टुकी बाल्दै
नारी चेतनाको उज्यालो छरिरहिन् ।
गाउँमा बिजुली बत्ति आयो
तर, त्यो उज्यालो
– केवल दीप मात्र होइन ,
छुवाछुतविरुद्धको विज्ञापन पनि बन्यो ।
जसले संस्कारको चिरफारमा
मेरो हजुरआमाको आँशु देखेन
मल्टिनेशनल मुस्कान देख्यो ।
त्यसपछि मैले बुझेँ ,
जून हेरेर सपना देख्नु ठीकै हो,
तर जूनजस्तै शान्त भएर कुनै परिवर्तन आउँदैन ।
सपना पुरा निदाएर होइन – उठेर, हिँडेर, बोलेर, बनाएर हुन्छ ।
रजस्वलामा हुनु
श्राप होइन, यो त स्रष्टा हुने वरदान हो १
किन डराउनु महिनावारीको रङ्गबाट रु
जब यही रगतले धेरै वंशहरु जिउँदा छन् ।
त्यसैले,
व्यक्तिगत होस् वा सार्वजनिक,
अन्याय, अपमान र अवसरको लुटविरुद्ध
सजग भइ बोल्न थालेपछि
मैले त्यो एक्लो गाउँको खरको घर छोड्नुप¥यो ।
तर आज –
रजस्वलामा श्रीमानको अँगालोमा माया महसुस गरिरहँदा
पहिलो पटकको रजस्वलाको त्यो अन्धकार कहिल्यै थिएन झैँ लाग्छ ।
छाउगोठले अठ्याएको र तर्साएको डरलाग्दो अँध्यारो
सदाका लागि हटे झैँ लाग्छ ।
किनकी, कुल, पितृ र मैले मानेका भगवानले
मलाई आशीर्वाद दिएका छन् ।
रजस्वलाको रगतसँग रमाउने
निडर छोरी मसँग छिन् ।
त्यसैले म खुसी छु
यो केवल मेरो सौभाग्य होइन,
यो त नयाँ युगको जीवनदायिनी चेतना हो ।
संघर्ष र सिर्जनाको कथा हो ।
एक सांस्कृतिक विद्रोह हो ।
मेरो रगत – अब लाज होइन,
क्रान्तिको सुगन्ध हो ।