नर प्रसाद लुम्फुङवा लिम्बु


लुम्फुङवाहरुले आफुलाई तेह्रथुम फेदाप थुम अन्तर्गतको सेन्सेन्गुम फेदापहाङको सन्तान ठान्छन जसलाई सातरेनुहाङ पनि भन्ने गरिन्छ ।
पहाड, मधेश, इलाम, काठमाडौं उपत्यका समेत गरेर लुम्फुङवाहरुको घरधुरीको संख्या ३९७  रहेको छ। तिनै लुम्फुङवाहरुको संस्था लुम्फुङवा कल्याणकारी संस्थाको आयोजनामा शनिवार (जेठ १४ गते) लुम्फुङवा वंशावली दोश्रो संस्करण लोकार्पण भएको छ ।

लुम्फुङवा वंशावली पहिलो संस्करण सन १९९९ मा प्रकाशन भएको थियो । पहिलो संस्करणको लेखक लुम्फुङवा कल्याणकारी संस्थाको संस्थापक सचिव एवम पूर्व अध्यक्ष लालबहादुर लुम्फुङवा थिए ।
धरान–१५ स्थित चुम्लुङ हिममा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङको संघीय अध्यक्ष एवम त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक प्रेम येक्तेनले लुम्फुङवा समाजले लुम्फुङवा हिम (भवन) खरिद गरेको भन्दा महत्वपूर्ण लुम्फुङवा वंशावली प्रकाशन गरेर चेलीबेटी, फुपु, बोजु, आमा, जहान परिवारलाई एउटै घरमा समेटेर एतिहासिक काम गरेको बताएका थिए ।

कियाचुको संघीय अध्यक्ष येक्तेनले लोकार्पण समारोहलाई सम्बोधन गर्दै लुम्फुङवामा महिला दिदी वहिनीको उपस्थिति लोभलाग्दो भएको र अब महिला दिदी बहिनी चेलीबेटीहरु पनि मञ्चमा आसिन हुने गरी सक्रियता बढाउनुपर्ने सुझाएका थिए ।


विशिष्ट अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै लिम्बु याक्थुङहरुको प्रथा जनीत संस्था र पुर्ख्यौली भूमिबारे त्रिविबाट विद्यावारिधी गरेका डा. कमल तिगेलाले नेपालको वर्तमान कानुनी व्यवस्था अनुसार लुम्फुङवाहरुको पुर्ख्यौली भूमि, माछा मार्ने जगर बगर संस्थागत रुपमा प्राप्त गरी संरक्षण गर्ने पर्याप्त कानुनी व्यवस्था भएको र सो तर्फ लुम्फुङवाहरु अग्रसर हुनुपर्ने बताउनु भएको थियो ।


अर्का विशिष्ट अतिथी लुम्फुङवा वंशावली पहिलो संस्करणको मुख्य लेखक एवम संस्थाको पूर्व अध्यक्ष लालबहादुर लुम्फुङवा, अतिथीहरु शेरबहादुर हुक्पा चोङबाङ, नरेन्द्र फागो चोङबाङले सम्बोधन गरेका थिए । समारोहलाई सेवा निवृत (सिंगापुर पुलिस) ए.एस.पी.लक्ष्मी लुम्फुङवा, आसामदेखि सहभागी गोपाल लुम्फुङवा लगायतले पनि सम्बोधन गरेका थिए ।

लुम्फुङवा वंशावली दोश्रो संस्करण प्रकाशन समितिको संयोजक राज्यप्रसाद लुम्फुङवा र लेखक, सम्पादक नरप्रसाद लुम्फुङवाले पनि सम्बोधन गरेको लोकार्पण समारोहको सभापतित्व संस्थाको अध्यक्ष पूर्णबहादुर लुम्फुङवा, स्वागत मन्तव्य उपाध्यक्ष होमबहादुर लुम्फुङवा र सञ्चालन सचीव  लक्ष्मीनारायण लुम्फुङवाले गरेका थिए ।


कार्यक्रममा विज्ञान संकाय कक्षा १२ मा आफ्नो कलेज टप गरी हाल नोवेल मेडिकल कलेजमा अध्ययनरत श्रेया लिम्बु लुम्फुङवालाई रु.२५ हजारको शैक्षिक सहयोग र वंशावली प्रकाशन समिति र प्रमुख सहयोगीहरुलाई चौविसे संयक ढाका उद्योगबाट उत्पादित ढाकाको कोट उपहार प्रदान गरिएको थियो ।


लुम्फुङवा वंशावली दोश्रो संस्करणमा छोरी चेली, फुपु तथा जहान, आमा, बोजु समेत समेटिएको छ । वंशावली वंशको इतिहास भएकोले वंशका सदस्यहरुले सामाजिक, राजनीतिक, शिक्षा, सांस्कृतिक, खेलकुद, कलाकारिता, पेशागत क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउने नामावली  फुट नोटमा उल्लेख गरिएको छ ।

पहिलो संस्करणमा गएरी  (नाम मात्रै थाहा भएको, अरु केही थाहा नभएको) भनी उल्लेख हुनेहरु भेटिए जति दोश्रो संस्करणमा समेटिएको छ । आसाम, दार्जिलिङ्, बर्मा, सिक्किम, अमेरिका सम्म स्थायी बसोबास गर्ने लुम्फुङवाहरु यस संस्करणमा समेटिएको छ । वंशावली प्रकाशन गर्न ८ वर्ष लागेको थियो भने आर्थिक प्रायोजनको लागि सहयोग आह्वान भएपछि ७८ परिवारबाट ३४ लाख २६ हजार २२८ रुपैयाँ संकलन भएको थियो । कुल ६ लाख २८ हजार २९० रुपैयाँमा ३६२ पृष्ठको ७०० प्रति वंशावली पुस्तक प्रकाशन भएको छ ।

तपाईको प्रतिक्रिया