काठमाडौ ।दुई दशक अघिबाट निरन्तर काव्य कर्ममा तल्लीन कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ। शिल्पी थिएटरमा आइतबार स्रष्टा त्रय कवि श्रवण मुकारुङ, डाक्टर बिन्दु शर्मा र पत्रकार राजकुमार बानियाँको हातबाट कविता संग्रह सार्वजनिक गरिएको थियो ।

५० थान कविता संग्रहित उक्त पुस्तक माथि  कार्यक्रममा बोल्दै समिक्षक डाक्टर बिन्दु शर्माले चन्द्र गुरुङका कविता सरल भइकन पनि गहिरो भाव व्यक्त गर्न सफल रहेको बताइन। ‘गुरुङका कविता सरल शब्दशैलीको भए पनि त्यसले दिने भाव गहिरो छ। उनका कविताले आफैंसँग संलाप गरिरहेजस्तो लाग्छ’, शर्माले भनिन।
कविताका संरचनात्मक सौर्न्दर्य हाल प्रचलित कविताहरुको भन्दा पृथक रहेको र मौलिक बिम्बहरु पनि प्रशस्त प्रयोग भएको  कुरा उनले उल्लेख गरिन।
आबेग र आग्रह बिनाको अभिव्यक्ति सौन्दर्य उनको कविताको अर्को  बिशेषता हो। रेडिमेड राष्ट्रवादको विकल्प पनि  कविले दिएका छ्न उनले भनिन।

समिक्षक राजकुमार बानियाँले भने कवि गुरुङले कविता सृजनामा देखाएको निष्ठाको प्रशंसा गरे। ‘चन्द्र गुरुङ होहल्ला नगरी पनि शालीन भाषामा बागी कविता लेख्न सक्ने कवि हुन। उनले कविताबाटै आफूलाई सम्पूर्ण रुपले पुष्टी गरेका छन’ बानियाँले भने।
हार्दिक भाषामा, बिना गाली गलौज स्वप्निल कविता लेख्ने  क्षमता भएका कवि चन्द्र गुरुङ कथित बौद्धिक हुने नाममा कवितालाई दुरुह बनाउदैनन। यो संग्रहको एउटा विशेषता प्रेम हो जस्तो लाग्छ, उनले भने।

अर्का वक्ता वरिष्ठ कवि श्रवण मुकारुङले दशकौंपछि पढदा समेत पुराना नलाग्ने कविता सृजना गर्न सक्नु नै चन्द्र गुरुङको विशेषता रहेको बताए। ‘सर्जकले आज सिर्जना गरेको रचना उसैले पछि पश्चाताप गर्नुपर्ने बन्‍नु हुँदैन। भोलिको समयलाई समेत सान्दर्भीक हुने रचना गर्नसक्नु नै लेखकीय सामर्थ्य  हो’, मुकारुङले भने। 
कविताको कुनै पक्षमा नयाँ कुरा दिनुसक्नु नै कविको पौरख भएको कुरालाई मुकारुङले स्पष्ट पारे । जस्तै अहिलेसम्म कुनै नेपाली कविले प्रयोग नगरेको बिम्ब `मुस्कानको चरा´ कविले निर्माण गरेको स्मरण उनले गराएका थिए ।

‘जब एउटा मान्छे हराउँछ’मा ५० थान कविता समेटिएका छन। २ सय ४९ रुपैयाँ मूल्य रहेको संग्रह इन्डिगो इन्कले प्रकाशन गरेको हो।  गुरुङको प्रथम कविता कृति हो ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ । कार्यक्रमको संचालन निर्भीक जंग रायमाझीले गरेका थिए ।

कार्यक्रमको समापनमा कवि चन्द्र गुरुङले आफ्नो पुस्तकको एउटा कविता वाचन गरेका थिए । उक्त कविता पाठक वर्गको लागि यहाँ राखिएको छ।

बाको अनुहार

त्यो अनुहारमा
दुई आँखाहरु घामजून जस्तै चम्कन्छन
आत्मविश्वासको एउटा चङ्गा माथि माथि उडिरहन्छ
आपतविपदको हावाहुरीमा जुध्दै
त्याे अनुहारमा
मुस्कुराउँछन सुन्दर सुनाखरी र गुराँस ।

त्यो अनुहारमा
हरेक बिहान नयाँ दिनको भारी बोक्न
एउटा घाम उदाउँछ
जो साँझमा दुःखका धर्सा छोप्दै
खुसीका ससाना पोका बोक्दै
आइपुग्छ उज्यालो पार्दै घरआँगनमा ।

त्यो अनुहारमा
संसार पढने आँखाहरू चिम्सा छन
आत्मसम्मान उचाल्दै उभिएको नाक थेप्चो छ
सुखदुखले चिप्लेटी खेल्ने गाला च्याउरिएको छ
मुस्कानले लेफ्टराइट गर्ने ओँठमा कलेटी परेको छ
घामले डढेको छ मङ्गोल पहिचान ।

मलाई राम्रो लाग्छ
धेरै राम्रो लाग्छ
जब सबले सुनाउँछन्–
“तेरो अनुहार काटीकुटी तेरै बाको जस्तो ।”


तपाईको प्रतिक्रिया