हङकङस्थित गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषद्ले वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विश्वव्यापी इको कविता प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिताका लागि कुल पुरस्कार राशि १ लाख निर्धारण गरिएको छ।
प्रतियोगिताको प्रचार–प्रसार तथा निर्णायक मण्डल गठनका लागि पर्यावरणीय अभियानमा सक्रिय नेपाली पर्या साहित्य प्रतिष्ठानका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष विजय हितानलाई विश्व संयोजकको जिम्मेवारी दिइएको छ। महासचिव भविन लिम्बुका अनुसार हितानकै सल्लाह अनुसार रचना पठाउने मिति तथा उत्कृष्ट कविताको घोषणा मिति संशोधन गरी पुनः सूचना प्रकाशित गरिएको हो।
प्रतियोगितामा सहभागी हुन चाहने रचनाकारले मौलिक तथा नेपाली भाषामा लेखिएको पर्यावरण–केन्द्रित कविता पठाउनुपर्नेछ। कविताको शब्दसीमा अधिकतम ३ सय ५० शब्द निर्धारण गरिएको छ। रचना नेपाली युनिकोड वा प्रीति फन्टमा टाइप गरी एमएस वर्ड वा पीडीएफ फाइलमार्फत पठाउन सकिनेछ भने फोटो खिचेर पठाइएका वा अन्य फन्टमा लेखिएका रचना अमान्य ठहरिनेछन्।
रचनासँग रचनाकारको पूरा नाम, सम्पर्क नम्बर (ह्वाट्सएप सहित), इमेल ठेगाना, स्थायी ठेगाना, हालसालै खिचिएको स्पष्ट फोटो तथा संस्थाले रचना प्रयोग गर्न सक्ने सहमति अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। रचना प्रतियोगिताको आधिकारिक इमेल [email protected]
वा ह्वाट्सएप नम्बरमार्फत मात्र पठाउन सकिनेछ।
प्रतियोगितामा प्राप्त रचनामध्ये उत्कृष्ट २३ कविताहरूको ई–पुस्तिका प्रकाशित गरिनेछ। पुरस्कारतर्फ प्रथम हुने एक जनालाई नेरु ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार तथा १० जनालाई जनही २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ।
रचना बुझाउने अन्तिम म्याद २८ मार्च २०२६ तोकिएको छ। प्रतियोगिताको नतिजा विश्व पृथ्वी दिवसका अवसरमा २२ अप्रिल २०२६ साँझ ६ बजे संघको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने जनाइएको छ।
संस्थाले रचनाहरू संकलन सुरु भइसकेको जानकारी दिँदै साहित्यप्रेमीहरूलाई समयमै आफ्नो सिर्जना पठाउन आह्वान गरेको छ।





