विजय हितान

कमल  उकुस मुकुस गर्मीबाट बेचैन भएर केही चिसो पिउन चाहन्थ्यो । सेभेन इलेभेनमा किनेको पानी अघि नै रित्याएर खाली बोतल रिसाइकलिङ ढ्वाङमा मिल्काइ सकेको छ उसले  । कतै भट्टिमा पसेर एउटा स्यान मिगल ठाडो घाँटी लगाउन पर्छ की भन्ने मन पनि लागिरहेको छ । एक घन्टा भयो आफू बसेको होटेल ड्रागन इनबाट घुम्न निस्केको ।

 साँघुरो सडकको दुबै किनाराका अग्ला अग्ला बील्डिङहरु देख्दा कमललाई गण्डकीको तिरै तिर हिँडदा दाइने बाँया पहाडका चुचुरा देखे जस्तै भएथ्यो । कुनै नयाँ कुनै पुराना यी बिल्डिङहरुका झ्यालमा जडान गरिएका बाक्सा जस्ता देखिने एयरकन्डिसन र बाँसको डन्डामा सुकाउन निकालिएका लुगाहरुले त कता कता ती पहाडका पहराहरुको संकेत दिन्थे । भरखरै बन्दै गरेका बिल्डिङ वरिपरि बाँसका स्काफोल्डिङ र हरिया जाली लगाउँदै गरेका कामदार तिनै पहराका बाँदर जस्ता देखिन्थे ।  दोकानका छतमाथिबाट फलामका तारले तन्काइएका, टाढैबाट देख्न सकिने, लामा लामा साइन बोर्डहरु साच्चै नै ठुल्ठुला केराका पातहरुजस्ता देखिन्थे । सडक कै छेउमा मानिसहरु लामो लाम लागेर बस कुर्दै थिए । मुलबाटोमा सिटी बस र काउलुन बस तातो धुँवाको राप छोडदै कमलको छेवैबाट हुइंअ…  हुइंअ…. भएर जान्थे । राता रङका ट्याक्सी र मिनिबसहरू भित्री बाटोको किनारातिर यात्रीको पर्खाइमा उभिएका देखिन्थे । नाथन रोडका किनारामा लुगा, घडी, क्यामेरा, टेलिभिजन, सुकेका चाइनिज खानाका पसलहरू दिउँसै झिलिमिली  बिजुली बत्तिमा देख्दा कमलका आँखा पाट्टिसकेका थिए।  हल्लै हल्लाले, बर्खा लागेर खोला सुसाए जस्तै चिम् सा चुइ, जोर्डन, याउ मा ते र मङकोकका यी पुरै सडकहरू घन्किरहेका थिए । कमललाई लाग्यो यहि होला पुर्वीया र पश्चिमा  सभ्यताको सँगम स्थल मानिने, पूर्वको मोतीको उपनामले परिचित हङकङको बीशेषता ।  

बाहिरको तापक्रम ३२ डिग्री, बायुको आद्रता ८० प्रतिसत । प्रदुषणको तुँवालोभित्र लपेटिएको सुर्यको रापले हङकङको मौसमलाई  अतिनै गर्मिलो तुल्याएको थियो । घाँटीबाट पसिना तरर झरेर निलो टी शर्ट रुझेको जस्तो देखिन्थ्यो कमलको । हिडदै जाँदा उ संघाइ स्ट्रीटको एउटा कुनामा अवस्थित प्यासेफिक काफेभित्र छिर्‍यो । एयर कन्डिसनको चिसो हावा पसिनाले भिजेको टी सर्ट भित्र छिर्ने  बित्तिकै उसलाइ लन्डनको याद आयो । पस्ने  बित्तिकै उसको चस्मामा बाहिर र भित्रको तापक्रम भिन्नताले गर्दा बाफ जमेर आयो ।

चस्मामा जमेको बाफलाई टी शर्टको घेराले पुछ्दै काउन्टर अगाडि उभिएर ‘केन आइ प्लिज ह्याव अ कप अफ आइस कफी ?’ भनि एक महिला स्टाफलाई सोध्यो ।

प्रतिउत्तरमा ‘तपाईं नेपाली हुनुहुन्छ ?’ ती महिलाले सोधिन ।

‘ए तपाईं त चिनानी हो की भनेको, तपाईं पनि नेपाली ? कता कता देखेजस्तो लाग्यो मलाइ त तपाइँलाइ ।’ पुछिसकेको चस्मा लागाउँदै आश्चर्यजनक मुद्रामा कमलले प्रश्न राख्यो ।

 ‘ल ल भन्नुस कहाँ देख्नुभयो मलाइ ? मैले त अघि नै चिनीसकें तपाईंलाई, तपाईं कमल होईन लन्डनमा बस्ने ?’

 ‘ओहो मैले थाहा पाएँ, तपाइ हिस्सी जस्ती देखिनु हुन्छ, तपाईं हिस्सी होईन ? हाम्रो एकचोटि धेरै अघि बेकर स्ट्रिटको ट्युब स्टेसनमा भेट भएको होइन लन्डनमा ? अनी तपाईं पछि मेरो बैंकमा पनि आउनु भएको होईन ?’

 ‘हो त्यो सम्झना ताजै छ मेरो मस्तिष्कमा ‘ भन्दै हिस्सीले आइस कफी बनाएर कमलको अगाडि टकार्दिन ।

 ‘कति हो, २० डलर ?’ कमलले भिसा कार्ड झिक्दै सोध्यो ।

 ‘भो, तपाईं मेरो क्याफेमा क्षणिकको पाहुना, राख्नुस, पर्दैन ल.. ।’

 ‘पक्कै हो ? धन्यबाद ! के को क्षणिकको पहुना ? केहि दिन बस्दैछु तपाईंको हङकङमा ।  भेटौंला नी फेरि ।  म यहि सँघाइ स्ट्रीटको ड्रागन इनमा कोठा नं ७०७ मा बस्छु ।’ कमलले आफ्नो हङकङ बैँकको भिसा कार्डलाई पैसाको ब्यागमा कोचार्दै भन्यो ।

अनी सिसाको भित्ता नजिकै बसेर बाहिरको हस्याङ्फस्याङ दृश्य  नियाल्दै चिसो कफीको आनन्द लिन थाल्यो । पारी पट्टीको सडकको पेटीमा कमिलाको जन्ती जस्तै देखिने प्रायजसो चाइनिज बर्णका मानिसहरु र कतै कतै युरोपेली पर्यटकहरु बिस्तारै हिँडिरहेका थिए । सबै पसलहरु खचाखच । रेस्टुरेन्टहरु भरिभराउ ।  सिसाका झ्यालभित्र सिंगै हाँस र कुखुराहरु उँधो मुन्टो पारेर झुन्डाइराखेको देख्दा मुंग्लिङकी भट्टिवाल्नीले सुकुटीका लहराहरु झुन्ड्याएर राखे जस्तै । अनी कमलको आँखा बाहिरबाट घुमाएर क्याफेको काउन्टरमा ल्याउँदा अति नै ब्यस्त देखिने हिस्सीको आँखामा जुध्न पुगेको थियो । दुबैजना प्रेमपुर्बक भावमा मुस्कुराएका थिए ।

कमल लन्डनमा हङकङ बैंकको म्यानेजर हो । उ हिजो राती क्याथेपेसिफिकको फ्लाइटद्वारा सुदुर-पुर्बीय राष्ट्रका बैंकहरुको सम्मेलनमा भाग लीन हङकङ आएको थियो । केही बर्ष अगाडि हिस्सी लन्डनमा विद्यार्थी भएर जाँदा यी दुबै जनाको भेट भएको थियो । त्यो लन्डनको बसाइमा कमलले हिस्सीलाई खुबै मन पराउँथ्यो ।

धेरै लामो समयमा एक आपसको भेटघाटपछी एकदिन उसले भनेको थियो- ‘हिस्सी म तिम्रो हुन चाहन्छु । के तिमी अनुमति  दिन्छ्यौ  ? हेर मेरो रुप बाहिर जस्तो छ, भित्र त्यो भन्दा त सून्दर र कोमल छ । छामी हेर त मेरो हृदयमा मायाको बिशाल भन्डार नै छ । तिमिलाइ चाहिने भन्दा पनि  बढी माया छ म भित्र । हुन त म बाहिर हेर्दा पुडको छु, हेन्सम छैन । तर म संसारको कुनै लोग्ने मानिसभन्दा कम छैन बुझ्यौ ? हिस्सी मेरो बिन्ती छ तिमिले एकपटक  यस बारेमा सोँच ।‘

तर हिस्सीलाइ कमल त्यति मन परेको थिएन । कमल भन्दा राम्रा केटाले हिस्सीलाई आँखा लगाएका थिए । पढन गए पनि  बेलायतमा बस्दै गरेको राम्रो केटासँग बिबाह गरेर उतै पारिवारिक जीवन  स्थापना गर्ने भित्री सपना थियो हिस्सीको । तर एक बर्ष न पुग्दै हिस्सी नेपाल फर्किनु परेको थियो । बेलायत र सम्पुर्ण युरोपमै नराम्रो आर्थिक मन्दी लाग्यो ।  बेरोजगारी बढ्यो । कन्जरभेटिव र लिबेरल डेमोक्रेसीको गठबन्धन  सरकारले कानुनी निति परिवर्तन गरे पश्चात्  बिदेशी  विद्यार्थीले काम गर्न पाउने घण्टा घटाइयो । त्यसले कलेजको फी तिर्न त कहाँ हो.. खान, कोठाको भाडा तिर्न पनि पुगेन । फलस्वरूप पढाई अधकल्चो छोडेर हिस्सी नेपाल फर्केकी थीइन ।              

कफीको चुस्कीसंगै कमल आफ्नो आइ फोनमा भोलिको सम्मेलन तालिका हेर्छ । १३:०० बजे एक्सिबिसन हल वान चाइमा रहेछ ।

‘धन्यबाद कफीको लागि । म केही दिन बस्छु । आउँला नी फेरि पनि तपाईंको क्याफेमा’ भन्दै कमल बाहिरियो ।

हिस्सीलाई कता कता काउकुती लागेजस्तो अनुभव भयो । कालो केस गोरो अनुहार, पहिला लन्डनमा भेटेको जस्तो होँचो देखिएन आज कमल । चारपाटे चस्मा, कलरवाला निलो पातलो टी शर्ट र जिन्स प्यान्टमा निकै हेन्डसम देखिन्थ्यो । हिस्सीलाई हङकङको ब्यस्त  जिन्दगीदेखी अलि उजाड लागेर आउँदै थियो । प्रत्येक  दिन १० घण्टा, हप्तामा ६ दिन काम गर्नु पर्थ्यो । जोर्डनको टेम्पल स्ट्रिटमा ६ तल्लामा एउटा कोठा भाडामा लिएर बसेकी छे । काम गरेर फर्केपछी थकाईले उसलाइ ६ तल्ला सिँढी चढ्नु कहिलेकाही एउटा सिङ्गै  पर्बत चढे जस्तै लाग्छ । १ बर्ष अगाडि हङकङको आइडी वाला केटासँग नक्कली बिबाह गरेर आएकी । भोली सुक्रबार उसको बिदा ।

कमल स्वचालित द्वारबाट हात हल्लाउँदै निस्केर गएपछी हिस्सी कमल बसेको टेबलबाट कफीको खाली मग उठाउन जान्छे । उनको दृष्‍टि टेबलको एउटा आइ फोनमा पर्छ । मनमनै भन्छे- ‘कमलले आइ फोन छोडेर गएछ । ठिकै छ काम छुटेपछी पुर्याइ दिनुपर्ला उसको कोठामा ।’

फोन दिने एउटा बहाना पनि, अनी  कमललाई भेटने पनि । के खोज्छ्स कानो आँखो । हिस्सीको नाडी सिथिल भएर आए । ओठहरु रसाए ।

क्याफेको घडिमा बेलुकीको ८ बजेको छ । क्याफे रातीको १२ बजेसम्म खुले पनि  उनको शिफ्ट सिद्दियो । सौचालयको ऐना अगाडि उभेर कुम कुम आउने कपाललाई काङ्ग्योले मिलाउदै ओठमा हल्का केलेजी रंगको लिपस्टिक दल्छे । क्या छ उसको बान्की परेका आँखा, लसुन जस्ता पोटिला ओँठ, त्यसैमा कामुक मुस्कान, टम्म छरितो शरीर ,  हिँडाइमा लचकता । उनन्तीस बसन्त पार गरिसकेकी भए पनि अझै एक दुई  युवकलाई सजीलै आकर्षण गर्न सक्ने जिउडाल छ हिस्सीको । एउटा आइस मोका पिउँदै क्याफेबाट निस्की । कमलको आइ फोन उसको कोठामा पुर्याइदिनु आज साँझको ठुलो उदेश्य हो उसको ।

‘उ कोठामा आइपुगेको छ की छैन होला ! कतै एकैछिन उसको कोठामा बसेर भलाकुसारी गर्नलाई मलाई अनुरोध गर्‍यो भने बस्ने की न बस्ने होला !’ -भनि मनमा कुरा खेलाउदै वेलकम र सेभेन इलेभेन दोकानहरुलाई पार गर्दै ड्रागन इन भित्र छिरि । लिफ्ट भित्र छिरेर ७ तलाको बटन दबाइ । किरिङ… घन्टीको बजाइले ७ तलामा आइपुगेको सङ्केत दिंदै ढोका घर्याक्क खुल्यो । त्यसपछि करिडोरमा अलिपर पुगेपछि कोठा न. ७०७ को घन्टी दबाइ ।

भित्रबाट ‘हु इज इट’ – भन्ने शब्दको साथै ढोका खुल्यो ।

‘अरे हिस्सी तिमी ? म पनि भरखरै हो भित्र पसेको टेम्पल स्ट्रिटको नाइट मार्केटको झिलिमिली हेरेर । तिम्रो काम चाँडै छुटेछ त ! आउन बस ।’  – भन्दै कमलले सोफामा बस्ने सङ्केत गर्यो ।

‘तपाईं आश्चर्य हुनुभयो होला है म किन आएँ हुँला भनेर ।’ – हिस्सीले आफ्नो हाते झोला टेबलमा राख्दै भनिन ।

‘तपाईंले के छोड्नु भयो मेरो क्याफेमा दिउँसो  थाहा छ ?’

‘के छोडेँ र ? तिमिले बनाएको कफी पिएँ अनी तिमिलाइ छोडेर आएँ ।’ ठट्याउलो पारामा कमलले पसिनाले भेजेको टी सर्ट खोल्दै भन्यो ।

‘तपाइँको आइ फोन । यी लिनुस । ‘ भन्दै झोलाबाट फोन झिकेर हात अगाडि बडाउँदै हिस्सीले भनिन् ।

‘ओ माइ गड मेरो आइ फोन ! मलाइ त पत्तै भएन छोडेको ।’ – फोनलाई खोल्दै कमलले आश्चर्य मुद्रामा हिस्सीलाई धन्यबाद दियो ।

फोन लिने क्रममा उनीहरुको औंला एक आपसमा स्पर्श  हुँदा दुबैको शरीरमा बिजुलीको तरंग बगेको थियो । केही सूचना आएर बसेको छकी भनि हतार हतार कमलले फोन खोल्यो । मेसेज फोल्डरको सिरानमा लन्डनबाट सुशिलाको मेसेज आएर बसेको थियो ।

मेसेजलाई न पढी, ‘ल भन तिम्रो यस्तो सहयोगको सट्टामा म के टक्र्याउँ सेवामा ।’ – भन्दै कमल हिस्सीतिर नजिकियो ।

हिस्सी जुरुक्क सोफाबाट उठेर कमललाई अँगालोमा बेटार्दै – ‘मलाइ केही चाहिन्न यति मात्रै भए हुन्छ ।’  भन्दै कमललाई चुम्बन गर्छे ।

‘यो त म अहिले हो र जतिबेला तिमिलाइ लन्डनको बेकर स्ट्रिटमा भेटेको थिएँ त्यतिबेला दिन चाहन्थे ।  मलाइ यतिका बर्ष लाग्यो यो फुललाई टिपेर सुँघ्न । कति तिमी दुर्लभ भैदिए कि ! यति टाढा सुदुर पश्चिमको  कंक्रिट जङलमा फुलेर तिमी फक्रिएकी ! सायद त्यतिबेला लन्डनको चिसोले तिमिलाइ फक्रिन दिएको थिएन होला, हैन हिस्सी ?’ – भन्दै हिस्सीलाई  बिस्तराको  कमलो डनलपमा लडाइदियो ।

हिस्सीले पनि एउटा मौरीले फुलको छातीभरी चढेर रस स्वादन गरेजस्तै कमललाई फुलको पत्र पत्र चहार्न दिइन ।

रातको ११ बजिसकेको थियो । कोठाको एअरकन्डिसन मधुर स्वरमा हुँ….घन्किदै तातिएका दुई सरिरलाई सितल हावा बहाइदिँदै थियो । हिस्सी उठेर ड्रेसिङ टेबलको  ऐना अगाडि उभीइ हल्का लिपस्टिक ओँठमा लगाउँदै जाने तरखर गरिन ।

‘भोलि त तपाईं सम्मेलनमा होला । कति बेलादेखी सुरु हुन्छ ? जान्छु ।’ – हिस्सीले ढोका तानिन ।

‘धन्यबाद मेरो आइ फोनको लागि, अनी यस अविस्मरणीय  क्षणको लागी पनि ।’ कमल भित्रबाट ढोकाको छिस्केनी लगाउँछ ।

आज  शनिबार ,  दिउँसको १२ बजेको छ । ब्यस्त छ भिक्टोरिया हार्बर एउटा राजमार्ग जस्तै । मालवाहक  पानी जहाज, धनी व्यक्तिका याच र यात्रु वाहक फेरीहरु ओहोर दोहोर गर्दैछन् ।  पारि हङकङका अग्ला गगनचुम्बी बिल्डिङहरु – बैंक अफ चाइना टावर, चुङ्कोङ सेन्टर, आइ एफ सी, सेन्ट्रल प्लाजा इत्यादी पछाडिको  भीक्टोरिया पिकसँग को भन्दा को अग्लो भनि जोडी खोजेजस्तो देखिन्छ । पर क्षितिजको लान्ताऊ टापुतिर दृष्टि लगाउँदा गोङजाउ र सेन्जेनतिरबाट आएको दुषित तुँवालोले बेरेको  छ सदा झैँ हङकङेली आकासलाइ । कमल स्टार फेरिमा वान्चाइ एक्सिबिसन हल जान फेरि पर्खी रहेछ । पारिबाट आएको फेरिबाट मानिसहरु तँछाड-मँछाड गर्दै अबतरण हुन्छन् । किरिरी…. घन्टीको संकेतसंगै फेरिको ढोका खुल्छ । कमल फेरिको पछाडि  झ्यालको छेवैमा बस्छ । एकैछिन पछि किरिरी…. घन्टीको संकेतसंगै ढोका बन्द हुन न पाउँदै एक जोडी तरुनी तन्नेरी हुत्तिँदै फेरिभित्र छिर्छन् । उनिहरु फेरिको अगाडि बस्दछन । महिला हिस्सी जस्तै देखिन्छे जो एउटा अधबैँसे मान्छे सँग टासिएर बस्छे । कमलले सोच्छ- सायद उ हिस्सीको केटा होला ।

त्यतिनै बेला आइ फोनमा घन्टी बज्छ । लन्डनबाट उही हिजो मेसेज पठाउने सुशिलाले फोन गरेकी हुन्छे ।

कमलले ती जोडितिरै आँखा लगाउँदै आइ फोनमा बोल्छ -‘म भरखरै सम्मेलनमा जाँदै छु ।  भोली एक दिन रेस्ट गरेर पर्सी उड्छु । तिमिले भनेको फोर नाइन गोल्डको चुरा किन्नै पाएको छैन ।  चिन्ता नगर म जसरि भए पनि  ल्याइदिन्छु ।’

वान्चाइमा फेरि अबतरण भैसक्छ ।

ती दुई जोडी कमलको अगाडि अगाडि हात समातेर आकासे पुल हुँदै भिडमा हराउँछन् । सायद इमिग्रेसन टावरतिर हिस्सीको भिसा बढाउन हिडेका  होलान । कमल हिजो रातीको त्यो मिठो क्षणलाई सम्झिदै लमक लमक पाइला बढाउँछ सम्मेलन केन्द्रतिर ।                    

तपाईको प्रतिक्रिया