नेपाली साहित्यमा पचासको दशकमा उदाएका लेखक प्रकाश थाम्सुहाङ्ग आफ्नो लेखनीमा अत्यन्तै शालिन , शान्त र गहन अध्ययनको निम्ति परिचित छन् । पश्चिमेली साहित्यको गहिरो अध्ययन गरेका यी कवि आम पठक माँझ चुपचपाप लेख्न रुचाउने हल्ला भन्दा पर निरन्तर लेखन साधनामा रम्न रुचाउने लेखकको रुपमा परिचित छन् । उनका लेखनीले प्राणी र अस्तित्वका बिषयहरुलाई गहिरोरुपमा प्रस्तुत गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

म बिलाउनेछु एकदिन

म बिलाउनेछु एकदिन
जसरी पानीको प्रथम स्पर्शमा
बिलाइजान्छ अक्षरको गीत

जसरी पतझडमा बिलाइ जान्छ हरियाली
साँझमा दिग्दारीको कालो खास्टो ओढेर बिलाइजान्छ उज्यालो
जसरी समयको महासमुन्द्रमा बिलाइजान्छ उमेरको नदी
इतिहास बिलाइजान्छ दन्त्यकथाको अनन्त सुरुङमा
जसरी नगर बस्ती बिलाइजान्छ सभ्यताको गर्भमा
त्यसरी नै म बिलाउनेछु एकदिन
जसरी समस्त पदार्थ समेटेर पृथ्वी बिलाइजान्छ शुन्यमा
संगीत बिलाइजान्छ ब्रह्माण्ड
ज्ञान बिलाइजान्छ चेतनाको अनन्त साम्राज्यमा
जसरी ध्यानस्थ ऋषिको अन्तरहृदयमा
बिलाइजान्छ मन्त्र
कविता बिलाइजान्छ
मुन्धुम वेद कुरान र बाइबलको हरफहरुमा
त्यसरी नै म बिलाउनेछु एकदिन
जसरी समस्त अर्थ समेटेर
शब्द बिलाइजान्छ आदिम गुफामा

जसरी मौनतामा बिलाइजान्छ सम्वाद
जसरी तर्कहरुमा बिलाइजान्छ अन्तिम सत्य
विनम्रता बिलाइजान्छ अहंकार अघि
त्यसरी नै म बिलाउनेछु एकदिन
जसरी अनेकौ रहर समेटेर
सपना बिलाइजान्छ आँखैअघि

म बिलाउनेछु एकदिन
जसरी आँधीको प्रथम स्पर्शमा बिलाइजान्छ फूलको सौन्दर्य ।

तटस्थ

एक्कासी आए उनीहरु अनि मेरै सामुन्ने
चिथोरे सत्यको अनुहार
म-
तटस्थ चुपचाप मुस्कराई रहेँ

प्रश्नबाट भागेर……
तर्कबाट भागेर…….
प्रतिवादबाट भागेर……
म डरपोक हिडेँ सजिलो बाटो

समय अन्तरालमा
आफ्नै आँखाले सोध्न थालेपछि प्रश्न
आफ्नै अन्तरमनले माग्न थालेपछि जवाफ
म सकसमा छु-
कि तटस्थ बस्नु भनेको आत्मग्लानीले भित्र भित्रै जल्नुरहेछ
कि तटस्थ बस्नु भनेको अपराधबोधले बिस्तारै बिस्तारै मर्नु रहेछ ।

हिउँफूल

गाउँमा-
जब बज्न थाल्छ नौमती च्याङब्रुङ
हावा पनि बहन थाल्छ
बोकेर बैंशालु सुगन्ध
उनको शरीर औडाहाले जल्न थाल्छ…

अनि हेर्छिन् ऐना
तर ऐनामा देख्छिन् फरक फरक अनुहार
लाहुरे ,साइन्स टिचर र उनको भूतपूर्व प्रेमी
जो साप्सु मेलाबाट
अन्तिम चुम्बन दिएर
बेपत्ता भएको थियो

आज पर्यन्त
उनले बुझेकी छैनन् एउटा रहस्य
कि पटक पटक
किन रित्तै फर्काइदिए बाबुले बलियो कुटुम्ब

घाम ओइलाउँदै गएको साँझ
खोल्छिन् बाकस सुम्सुम्याउँछिन्
जतनले राखेको कण्ठ,साम्याङफूङ र ढाका साडी

अनि कल्पिन्छिन्-
आउने बिशेष दिन पहिरिनेछु यसलाई
सदा झैं गाउँमा बज्छ बजिरहन्छ
नौमती च्याङब्रुङ र बतास जिस्क्याउँदै भागी जान्छ

पछिल्लो पटक जब हेरिन् ऐना
देखिन कपालमा फूल्दै गरेको हिउँफूल

होे, त्यहीँबाट र्मुझाई गएको हो उनको बेहुली सपना ।

तपाईको प्रतिक्रिया