नेपाली कविता लेखनमा ईश्वर थोकर एक प्रतिभाशाली कवि हुनुहुन्छ र उहाँको कविताहरुले मानिसको मनोभावलाई निक्कै गहिरोगरि व्यक्त गरेको हुन्छ । एक अनौठो मनोभाव जसले पटक पटक समाजको अस्तित्व र आफ्नै समवेदनालाई प्रश्न गरिहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।
दुम्जा एक संस्मरण
पहिलो भेट हुनुपर्छ
तिम्रो र मेरो
मेरो र तिम्रो
त्यतिखेर
जतिखेर
म स्वयंले
डोहोरयाइरहेथेँ
एकनासले
अनेक उच्छ्वासले
तिमीसम्म पर
भर्खरै
छुटेर गएका
सुदूर भएका
मायालु सन्दर्भहरू
हो, यस्तै के–के अरू …
सम्झनाहरू
यतिखेर
तिमीले प्रेमले ताछेर दिएको
थालभरिको पाकेको मेवालाई सम्झँदै छु
यतिखेर
तिमीले प्रेमले भरेर दिएको
करुवाभरिको
चोखो पानीलाई सम्झँदै छु
यतिखेर
तिमीले प्रेमले पहिलोपल्ट कोरेर दिएको प्रेमपत्र
र, तिम्रो पवित्र चुम्बनलाई सम्झँदै छु
फेरि, कहिल्यै फर्केर नआउने
बचपन जस्तै ती सम्झनाहरू ।
प्रेमपत्र
बचपन नसकिँदै
छुटेपछिको
अर्थात्
लक्का
जवानपछिको हाम्रो
पहिलो भेटमा
न तिमीले मलाई चिन्यौ
न मैले तिमीलाई चिनेँ ।





