अढाई दशकभन्दा अघिदेखि कथा र कविताको क्षेत्रमा सक्रिय मणि लोहनी पेशाले टेलिभिजन पत्रकार हुन् । उनका कथा र कविताका गरी ६ कृति प्रकाशित छन् । गत वर्ष प्रकाशित उनको कविता संग्रह मृत्युको अघिल्तिर निकै चर्चित छ । मणि युवावर्ष मोति पुरस्कार , ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार लगायत आधा दर्जन पुरस्कारबाट सम्मानित छन् । प्रेम, जीवन र मानिसका सम्वन्धहरुमा कलम चलाउने लोहनी पछिल्लो समय मृत्युपछिको महाशुन्यता र रहस्यमाथि कथा कविता लेखिरहेका छन् प्रस्तुत छ साताको तीन कविता ।

गणतन्त्र नेपाल

मानिसहरू अझै उस्तै छन् जस्तो पहिला थिए ।

हस्तरेखाजस्तो आफैंमा टाासिएको गरिबी
कुवाझैं खोपिल्टा परेका आाखामा हुर्किएको सपना
प्रत्येक पल मरिरहेका तिनै सपनाहरूसँग
शोकगीत गाइरहेको छापामार शैलीको आवेश
वा तिमीले बोकेर हिँडेका शक्तिपीठहरूको आक्रोश

स्कुल त्यही हो, जहाँ अहिले पनि मारिन्छन् शिक्षकहरू
बालकहरूले गाउने राष्ट्रगान खोसेर
तिम्रो भक्तिगीत राखिंदैमा
तिम्रै स्तुति घोकेर हरियो रूखजस्ता सैनिकहरू उभिंदैमा
भाँचेर कलम पत्रकारहरू मुग्लान भासिदैमा
प्रोफेसरको ओखरे गिदी भुटेर स्कच पिलाउँदै सिद्धान्त भट्याउँदैमा
कहाँ फेरियो खै समयहरु
तर तिमी डिङ्ग हाँकिरहेछौ नयाँ नेपालको ।

औंलाको नङमा आलै छ मतदानको चोट
सहिदको रगतजस्तै सांसदहरूको निधारको रातो अबीर
र छातीमा टल्किएको सुनौलो ब्याज
च्यातिएका घोषणापत्रहरू
बल्दाबल्दै निभाइएका टायर
र त्यसबाट उडिरहेको धुँवा
यत्रतत्र भेटिन्छन् सडकपेटीहरूमा
भर्खरै फालेको निरङ्कुशताका अवशेष
र अधिनायकवादका जुत्ताहरू
उस्तै छन् फेरि पनि
भिन्न भएकै कहाँ छ र आम दुःखको पहाड ?

केही भिन्न छैनन्
गणतन्त्र नेपालमा
सबै उस्तै छन्
उस्तैउस्तै नै छन्
फरक यत्ति हो
हामीले फालेको २ सय ५० वर्ष पुरानो मूर्तिको ठाउँमा
तिम्रो मूर्ति बनाइरहेछन् कालीगढहरू ।

धर्मध्वनि

नभएको भए मानिस
कहाँ हुन्थे होलान् ईश्वरहरू

घण्टको सुमधुर ध्वनिसंगै, मुस्कुराएको हुनुपर्छ भगवान्
शङ्ख, मुर्चुङ्गा, यो चमर र बिनायो
देवता पुलकित भएको हुनुपर्छ ।
प्रार्थनाका शब्द र फूलका गुच्छाहरूले आह्लादित भएको हुनुपर्छ ईश्वर
नमाजको आवाजसंगै, बेसक खुसी भएको हुनुपर्छ अल्लाह
त्यो कपाल काटेकी कलिली केटीले बाइबल पढेको देख्यौ
पक्कै पनि येसु दङ्गदास हुनुपर्छ यतिखेर ।

भजनमा मग्न हारमोनियम, प्रौढ हात र तालीहरू
सितारमा साटिएका सुकुमारी औलाहरू
तबलामा नाचिरहेका निर्दोष हत्केलाहरू
ध्यानस्थ मानिस र
भजनसंगै झुमिरहेका यी सौन्दर्यशाली महिलाहरू देखेर
पक्कै पनि गम्किएको हुनुपर्छ ईश्वर ।

नभएको भए मानिस
कहा हुन्थे होलान् ईश्वरहरू

म एक्काइसौ शताब्दीको फलौचामा बसेर
गुनगुनाइरहेछु धर्मध्वनि
ईश्वरले बनायो मानिस या
मानिसले हुर्काइरहेछ आफूभित्र ईश्वरहरू

के मानिस आफैमा सग्लो र सक्षम हुन सक्दैन ?

म सोचिरहेछु,
किन मानिस आफू चोइटिएर जोगाइरहेछ ईश्वरलाई
बिना मानिस, के सम्भव छ ईश्वरको अस्तित्व
नभएको भए मानिस
कहाँ हुन्थे होलान् ईश्वरहरू ।

अँध्यारोका विरुद्धमा

जलेर अंगार हुनु सूर्य
या थाकेर आखा चिम्लनु तिमीले
अध्यारोका लागि यी दुवै सर्त मन्जुर छ ।

सपनाको बिहानी सूर्य हुर्काइरहेका आखा
र सुकसुकाउदो वर्तमान
बन्दुकको जुत्ता लगाएर हिडिरहेको शासक
निर्जन जङ्गलभन्दा डरलाग्दो सिंहदरबार
एकपछि अर्को गर्दै भकाभक लडिरहेका निरीह पत्रकार,
निर्दोष र भोका मजदुरहरू
सबैमा थपिएको छ अँध्यारोको घाउ ।

अँध्यारोमै हाासिरहेको छ शासक
दौडिरहेको छ त्यो कालो घोडा अँध्यारोमै
नगरबधूको कुनै निर्लज्ज साँझजस्तो सांसद
लेखिरहेछ हाम्रो आयु र खुलेआम थापिरहेछ छातीमा तक्मा ।
झन्डा नबोक्नु कसैको अपराध बनिरहेको छ
र नाङ्गो तरबारमा झन्डा बोक्नेहरूको
हातैमा छ सुरक्षादस्ता
हातैमा छ कानून
र, यही अँध्यारोमा बल्झिएको छ अभिव्यक्ति स्वतन्त्रता
मानवअधिकार र नागरिकताका अँध्यारा घाउहरू ।

नदेख्नु घाम या हेर्नु तिमीलाई
नबाल्नु मैनबत्ती या च्यातिदिनु प्रेमपत्र
नहाँस्नु तिमी या भुरर्र उडाइदिनु परेवाहरू
एउटा प्रेमी ठिटो नबुझेर राष्ट्रियता
फुटाइरहेछ ल्यापटप
र झुन्डिदै हिाडिरहेछ अभिशप्त आदिम ल्याम्पपोस्टहरूमा ।

जलेर अंगार हुनु सूर्य
या थाकेर आाखा चिम्लनु तिमीले
अँध्याारोका लागि यी दुवै सर्त मन्जुर छ ।

तपाईको प्रतिक्रिया