यज्ञलाल सुवेदी लामो समयदेखि नेपाली साहित्य छन्दमा राम्रो दखल राख्ने कविको रुपमा परिचित हुनुहुन्छ । बरेङ , बाटाकाचौर , लिग्दी , बागलुङ ठेगाना बुटवल उपमहानगरपालिका ९ रूपन्देहीको स्थानीय बासिन्दा उहाँ दर्जनौं कृतिको कृतिकार हुनुको साथै विभिन्न साहित्यीक संस्थाहरूमा संलग्न रही साहित्यीक गतिबिधिमा सक्रिय हुनुहुन्छ। प्रस्तुत छ साताको तीन कविता ।

सिँगारौँ 

तृष्णा बढ्दा विचलित हुने हुन्छ यस्तो स्वभाव

चल्दाचल्दै पनि घर सबै देख्नथाल्छन् अभाव

भित्री इच्छा अगणित हुँदा सोच्न थाल्छन् तमाम

आफ्नो प्यारो घर पनि यता शीघ्र बन्ने नकाम

(१)

कोही हेर्दा अरबपति छन् किन्तु कोही करोड

पैले हुन्थे लखपति ठुला फेरियो आज मोड

बढ्दै जाँदा अधिक धनको लालसा भित्रभित्र

मिल्ने साथी पनि हुनगए दूर कस्तो विचित्र

(२)

आम्दानी त्यो जति अधिक भो स्रोत के के रहेछन्

पर्याका नै अवयवहरू नासिएका रहेछन्

चोखो मान्छे पनि कहरमा पर्नसक्ने भएछ

यौटा दोटा मन अगतिला भैदिँदा बिग्रिएछ

(३)

साँच्चै गर्दा जल जमिनको न्यायरूपी प्रयोग

राम्रा राम्रा अवसरहरू मिल्नसक्थे अघोर

हाम्रो बाँच्ने गहन पहिलो सत्य आधार के हो

खोज्दै जाँदा जग प्रकृतिको खास आशा त्यही हो

(४)

बुझ्दा बुझ्दै स्थल प्रकृतिको नाश गर्दै कमाए

सोझासाझा अति पछि परे धूर्तमात्रै रमाए

काट्ने मास्ने उधुम नगरी बोटप्रेमी बनाए

हुन्थ्यो पृथ्वी रसमय अहो ! पूर्ण आस्था जगाए

(५)

पर्या नै हो हरपल यहाँ भव्यताको निसानी

जोगाई यो सब अब मिली पर्छ गर्नै किसानी

आऊ सारा कृषक जन हो खेतबारी सिँगारौँ

राम्रा राम्रा उपज फलले धान्न सक्ने बनाऔँ

विजय

रनबन पाखा हरित बनाऔँ

प्रकृति नमासी भुवन सजाऔँ

विजय भएमा प्रकृति – धराको

विजय हुने जीव अनि जगत्को

(१)

अब महिमा होस् रुख लहराको

सघन सुरक्षा जल पहराको

रुख कटनीले अविजित हार

पछि पछुतो गर्छ खुब प्रहार

(२)

जल थल नै सुग्घर नभएमा

अब त त्यता चिन्तन नगएमा

विजय अरूमात्र अब भनेमा

असफल हुन्छौँ गलत गरेमा

(३)

दिन दिन तातो बढिरहने छ

सजग नबन्दा तल परिने छ

फरक थियो मौसम पहिलेको

तर अति नै अन्तर अहिलेको

(४)

यदि गरिए कर्म अति निकृष्ट

पछि पछि भोग्छौँ जरुर अनिष्ट

विजय सुयात्रा सकस नहोओस्

शुभपथ हाम्रो विफल नहोओस् ।

पर्या महिमा

(१)

बसेका तल तिर्खाई चराचरहरू सब

मेघले जल पोख्नाले बौरिँदै हेर्दछन् नभ

तारतम्य सबै मिल्थ्यो अहस्तक्षेपमा हुँदा

बिग्रियो अहिले ताल स्वार्थका हातले छुँदा

(२)

राख्छ अस्तित्व पर्याले बिनामानिसको पनि

किन्तु पर्याबिना मान्छे सक्ला बाँच्न कसै पनि ?

आऊ तिमी नयाँ वर्ष चेतनाका बनी गुरु

सुरक्षा गर्न पर्याको आजैबाट गरौँ सुरु

(३)

अभियान चलोस् हाम्रो प्लाष्टिकमुक्त गर्नमा

नाङ्गिएका सबै ठाउँ लागौँ है बोट भर्नमा

सडक छेउ या खुल्ला खुल्लै कैँ नरहुन् तिनी

हरियाली बढे मात्र रमणीय हुने तिनी

(४)

आफ्ना संस्था जता जे छन् हरियोले भरौँ सबै

हरियाली छहारी होस् रुखो घाम नहोस् कतै

विरुवा बोटमा झ्याम्म मायाको फोहरा झरोस्

प्राणवायु अपेक्षीको प्रत्यक्ष पूर्णता गरोस्

(५)

 

आफ्ना संस्था जता जे छन् हरियोले भरौँ सबै

हरियाली छहारी होस् रुखो घाम नहोस् कतै

विरुवा बोटमा झ्याम्म मायाको फोहरा झरोस्

प्राणवायु अपेक्षीको प्रत्यक्ष पूर्णता गरोस्

 

 

तपाईको प्रतिक्रिया