-अनिल श्रेष्ठ

Who is he ?

He’s Socrates !

Sittin’ in his seat,
and sippin’ on his hemlock tea.
Dishing out his wisdom
to the wisest men in all of Greece.
–Socrates, Nathan Maupin

अमेरिकी कवि नाथन मोपिनको ‘सुकरात’ कविताको यो एउटा सुन्दर कवितांश हो र गुगलबाट मैले यो कवितांशलाई यहाँ उल्लेख गरेको छु । धेरैदिनदेखि सुकरात र उनको दार्शनिक व्यक्तित्वका बारेमा मनमा अनेकौं विचार र जिज्ञासाहरु उठिरहेको थियो । सुकरात र उनका विचारहरुलाई बुझ्न सुकरात स्वयंले लेखेका किताबहरु बजारमा थिएन । किताबको गातोमा सम्पादकको नाम जोडेर प्लेटोको ‘सुकरातको आत्मकथा’ लेखिएका नेपाली अनुवादका किताबहरु बजारमा छ्यासछ्यास्ती थिए । सधैं नक्कली वस्तुहरुको व्यापार गर्न सिपालु व्यापारीहरुबाट उपभोक्ता ठगिनु बजारमा नौलो होइन । यो कस्मेटिकको जमाना हो र यस्ता कस्मेटिक व्यापारहरुबाट साहित्यका पाठकहरु ठगिनु पनि स्वाभाविक हो । यस्ता ठगहरुले पाठकको सेन्टिमेन्टसँग सधैं खेलिरहन्छन् ।

मैले कम्प्युटरको अगाडि बसेर धेरैचोटि गुगल र विकिपिडियामा सुकरातका कविताहरुलाई खोजी गरिरहें ।

Socrates did not write any poem himself.

गुगलले पटक पटक कम्प्युटरको भित्तोमा यही जवाफ देखाइरह्यो । उनका quote हरुमा सुन्दर कवितात्मक शैलीमा एउटा quote देखें –
The poets are
only the interpeters
of the gods.
–Socrates

(कविहरु ईश्वरका दोभासे मात्र हुन् । –सुकरात )

कविहरुका लागि सुकरातका यी शब्दहरु सायद निर्मम लाग्न सक्छ । अझ ती कविहरु जो ईश्वरको अस्तित्वलाई कहिल्यै स्वीकार्दैनन् र आफूलाई नास्तिक भनिरहन्छन्, उनीहरुका लागि त सुकरात सन्काहा मनोवृत्तिका कुरुप र भद्दा मानिस लाग्न सक्छ । सोफिस्टहरु यही कुराले सुकरातसँग मुर्मुरिरहन्थे । ती युनानी कविहरु आफूलाई राज्यको सबैभन्दा ज्ञानी, विद्धान र समाज सुधारक सम्झन्थे । तर समाजको परम्परागत मान्यता, विचार, रुढीवादी संस्कार र अन्धविश्वासहरुबाट उनीहरु मुक्त हुन सकेका थिएनन् । सुकरात कविहरुको त्यो विद्धताप्रति कटाक्ष गर्थे ।

‘मेरो प्रिय मित्र, तपाईं यो एथेन्स नगरको एकजना महान, शक्तिशाली र असल नागरिक हुनुहुन्छ । के तपाईंलाई आफ्नो अथाह सम्पत्ति र मान सम्मान मात्र जोड्न लाज लागिरहने छैन ? तपाईं नीति, सत्य र आत्माको शुद्धीतिर किन ध्यान दिनुहुन्न ?’ प्राचीन युनान राज्यको एथेन्स नगरका सडकहरुमा आफ्ना विचारहरुलाई मानिसहरुबीच सुकरात सधैं यसै गरी प्रचार गरी हिँड्थे ।

सुकरातको त्यो आलोचनालाई युनानी कविहरुले सहन सक्दैनथे । र, उनीहरु सुकरातबाट सार्वजनिक रुपमा आफू अपमान भएको सम्झन्थे । उनीहरु सहरमा सुकरातप्रति बदलाको भावना बोकेर हिँडिरहन्थे । उनीहरु सुकरातका यस्ता कार्यहरुलाई पागलपनको संज्ञा दिँदै सुकरातलाई खिस्याउँथे । तर सुकरात आफ्ना तर्कहरुले समाजमा आफूलाई बुद्धिमान हुँ भन्नेहरुको उछित्तो काट्थे । आफ्नो पाखण्ड लुकाउन ती कथित बुद्धिजीवीहरु सुकरातलाई अनेकथरी फत्तुर लगाउँथे । एरिस्टोफेनिज नामको एकजना नाटककारले त सुकरातमाथि व्यङ्ग्य गर्दै ‘दि क्लाउड’ नाटक नै लेखेर मञ्चन गरे । तर आफ्ना विचारको प्रवाह गर्नबाट यस्ता आलोचना र टिप्पणीहरुले सुकरातलाई रोक्न सकेन । एथेन्सका अधिकांश युवाहरु सुकरातको विचारबाट प्रभावित थिए र उनीहरु तर्क विधा सिक्न सुकरातकहाँ आउने गर्थे ।

युनानभरि सुकरातका विचारको लोकप्रियता बढिरहेको बेला उनका केही विरोधीहरु भने उनी विरुद्ध सक्रिय रहे । मिल्टस, लिकन र एनिट्सले सुकरातमाथि सहरका तरुणहरुलाई बिगारेको, ईश्वरनिन्दा गरेको र नास्तिकता फैलाएको आरोप लगाउँदै युनानी अदालतको समक्ष अभियोगको मुद्धा चलाए । केही युनानी कविहरुले मिल्टसको यो अभियानलाई साथ दिइरहे । उनीहरु अदालतले सुकरातलाई डण्ड दिएको हेर्न चाहन्थे । सुकरातले यी सबै अभियोगहरुलाई अस्वीकार गर्दै आफूले कुनै पनि गल्ती वा अपराध नगरेको आफ्नो मन्तव्य अदालत समक्ष दिए । उनले आफूमाथि लगाइएका यी आरोपहरु केही व्यक्तिहरुले आफूमाथि आग्रहपूर्वक लगाइएका झुठा आरोप मात्र हुन् भन्ने तर्क पेश गरिरहे । तर उनको सफाइमाथि कुनै सुनुवाइ भएन । र अन्ततः उनलाई मृत्युदण्डको सजाय सुनाइयो । सुकरातलाई मृत्युडण्ड दिने अदालतको निर्णयले सोफिस्ट कविहरु निकै खुसी देखिन्थे ।

आफ्नो गुरुप्रतिको सोफिस्टहरुको त्यो दुर्व्यवहार र एथेन्सको अदालतको कठोर निर्णयका कारण प्लेटोले आफूलाई तथाकथित विद्धान हुँ भन्ने ती एकथरी युनानी कविहरुप्रति लक्षित गर्दै ‘कविहरुलाई देश निकाला गर’ भन्ने अभिव्यक्ति दिए । आफ्नो गुरुको मृत्युडण्डले विक्षिप्त भएका बेला सायद प्लेटोको त्यो एउटा आक्रोशको अभिव्यक्ति थियो तर धेरै कवि, लेखक र साहित्यकारहरुले प्लेटोको त्यो अभिव्यक्तिलाई कविहरुप्रतिको असहिष्णुता र निरङ्कुश अभिव्यक्ति मान्छन् ।

कयौं कविहरुले प्लेटोका विरुद्ध कविता लेखे । आज पनि लेखिरहेका छन् ।

प्लेटो ! तिमी त अस्ताउँदो समयको
एउटा उदाउँदो न्यानो घाम
कर्पोरेट क्षितिजले छेलिएको
इतिहासको एउटा पारिलो याम
कहिले कुदिहिँड्छौं कलमसँगै
‘रिपब्लिक’ का क्रूर शासकीय पन्नाहरुमा
कहिले यस्सै गफिइरहन्छौ कविताको नैतिकतामाथि
बकवास बकवास बोल्दै
‘इयन’ का हुकुमी अक्षरहरुमा
कहिले उतर्सिंदै फरमान जारी गर्छौ …
‘कविलाई निष्कासन गर
मेरो आदर्श गणराज्यबाट !’
–प्लेटोलाई प्रश्न, बिन्दु शर्मा, इ–कान्तिपुर

तिनताका सत्ताको शक्तिलाई दुरुपयोग गरेर युनानी बुद्धिजीवीहरुले समाजलाई पथभ्रष्ट बनाउँदै थिए । सामाजिक न्याय, कानुन, मूल्य र मान्यताहरु हराउँदै गएका थिए । कविहरु भोग विलासमा लिप्त थिए र उनीहरु केवल मनोरञ्जनका लागि मात्र लेख्थे । उनीहरुको साहित्यले पाठकको वासनालाई उत्तेजित गर्थ्यो र आवेगपूर्ण बनाउँथ्यो । पाठकहरु त्यस्ता साहित्यबाट दिग्भ्रमित थिए । युवाहरुमा बढ्दै गइरहेको कुण्ठा र निराशा र समाज पतनको दिशातिर बढ्दै गइरहेको यो भयावह दृश्यले प्लेटोलाई व्यथित बनाउँथ्यो । त्यसैले पनि राज्यको संरक्षणमा हुर्किरहेका त्यस्ता विलासी कविहरुप्रति प्लेटोको विमति थियो ।

प्लेटो सुकरातभन्दा झण्डै चारदशकले कान्छा थिए । बीस वर्षको उमेरमा प्लेटोले सुकरातको सान्निध्यता पाए । प्लेटो सुकरातको एक असल शिष्य थिए । सुकरातको मृत्युडण्ड पश्चात प्लेटोले आफ्नो गुरु सुकरातको दार्शनिक विचारहरुलाई अझै व्यापक गरे । सुकरातले आफ्नो जीवनकालमा कहिल्यै पनि आफ्नो विचारहरुलाई लिपिबद्ध गरेनन् । उनको मृत्युपछि उनका शिष्यहरु प्लेटो, एरिष्टोफेनिज र जेनोफेनले सुकरातको विचार र दर्शनलाई संसारभरि प्रचार गरे । प्लेटोले ‘सुकरातको आत्मकथा’ मा यथास्थितिमा आफूलाई बुद्धिजीवी हुँ भन्ने युनानी कविहरुको ढोङ्गी चरित्रलार्ई अदालतमा सुकरात र मिल्टसबीच भएको संवादबाट निकै सुन्दर ढङ्गले प्रस्तुत गरेका छ्न ।

सुकरातको जन्म ईसा पूर्व ४६९ मा युनानको राजधानी एथेन्स शहरमा भएको थियो । उनको बुबाको नाम सोफ्रोनिस्कस (sophroniscus) र आमाको नाम फिनेरिट (phaenarate) थियो । उनको बुबा मुर्तिकार थिए । आमा धाई थिईन । सुरुमा सुकरातले पनि मुर्ति बनाउने काम थाले । तर पछि उनी सेनामा भर्ना भए र युद्धमा भाग लिए । उनले आफ्नो मुलुकको रक्षाका लागि पोतिदा (sophroniscus) अम्पिपोली ( phaenarate ) र दिलिया (delium) को ठूला लडाइँहरु समेत लडे । उनी युद्धमा सक्रिय रहे र युद्धमा कहिल्यै हतोत्साही भएनन् । उनी ध्यानपूर्वक शत्रुका गतिविधिहरुलाई नियाल्थे र आफ्ना साथीहरुलाई सुरक्षित गर्थे । पोतिदाको एउटा युद्धमा उनले आफ्ना सेनापति आल्सेविदिया (alcibiadies) लाई शत्रुको आक्रमणबाट घाइते हुनुबाट जोगाए । आल्सेविदियाले सुकरातले युद्धमा देखाएको साहस र धैर्यताको निकै खुलेर प्रशंसा गरे । उनले सुकरातको लागि पदक र सम्मानको घोषणा गरे । तर सुकरातले यसलाई लिन अस्वीकार गरे ।

सुकरातले ५० वर्षको उमेरमा जेन्थिपीसँग विवाह गरे । भनिन्छ जेन्थिपी उमेरले सुकरातभन्दा जेठी थिइन् । उनीहरुका तीन छोराहरु ल्याम्प्रोल्स (lamprocles), सोफोनिकस (sophronicus) र मेनोक्जेक (menexenus) थिए । जेन्थिपीको व्यवहारबाट सुकरात दिक्क थिए । उनकी श्रीमती उनलाई घरव्यवहार छाडेर बरालि हिँड्ने ठान्थिन् । र, सधैं कचकच सुरु गर्थिन् । उनीहरु बीच सधैं झगडा चलिरहन्थ्यो । त्यसैले श्रीमतीबारे कसैले सोधिहाले सुकरात भन्थे– ‘तिमीले मेरो जुत्ता देखिरहेका छौ ? यो कति सुन्दर छ ? तर यसले मलाई कहाँनिर घोचिरहेको छ तिमीलाई के थाहा ।’

सुकरात सधैं ज्ञान र सत्यको खोजीमा रहन्थे । उनीभित्र असाधारण ज्ञानमिमांशा थियो । कुनै पनि कुरामा गम्भीर भएर डुबिरहन्थे । पहिले आफैभित्र सत्यलाई खोज भन्थे । कुनै नयाँ विचार मनमा आउँदा उनी घण्टौं एकै ठाउँमा उभिएर त्यसलाई मन्थन गरिरहन्थे । त्यतिबेला उनी आफूलाई कहाँ छु भन्ने पनि होस रहँदैनथ्यो । र, वरिपरिका सबै वस्तुहरुलाई बिर्सेर उनी एकाग्रतामा हराउँथे ।

एकपल्ट उनी एउटा लडाइँमा गएका थिए । उनको सेनाको फौजले एक ठाउँमा शिविर खडा गरेर बसेका थिए । गर्मीको दिन थियो । एउटा बिहान, उनी कुनै समस्यामा घोत्लिए । उनी दिनभरि नै त्यसै गरी घोत्लिइ रहे । दिउँसोको चर्को घामले एकोहोरो पोलिरहेको हेक्का समेत उनलाई रहेन । उनका साथीहरु उनको त्यो विचित्रको व्यवहारलाई परबाटै नियालिरहेका थिए र उनको त्यो समाधि कतिखेर टुट्छ भनेर प्रतीक्षारत थिए । तर रातभरि पनि सुकरातको समाधि चलिरह्यो । भोलिपल्ट बिहान सूर्योदयपश्चात मात्र उनको ध्यान टुट्यो । उनले सूर्यको पूजा गरे र काममा फर्के ।

होंचा कद, ठूलो ओंठ, चिम्सा आँखा र चेप्टा नाक भएको सुकरात झट्ट हेर्दा शारीरिक रुपले जति कुरुप देखिन्थे, उनीभित्र रहेको विचारको सुन्दरताको चर्चा युनानदेखि लिएर पुरै संसारभरि फैलिरहेको थियो । सुकरात एक सन्त दार्शनिक थिए ।

सुकरात भन्ने गर्थे– ‘पहिले आफ्नो आत्माको आवाजलाई सुन र आफ्नो आत्माले ठीक ठहरयाएको काम गर ।’ उनको भनाई थियो– ‘शरीर आत्माको चोला हो, जसलाई आत्माले सधैं बदलिरहन्छ । यो जीवनभन्दा पहिले पनि अर्को जीवन थियो, यस जीवनपछि पनि अर्को जीवन रहन्छ । आत्मा अमर हुन्छ । धर्मदर्शन आदिमा रुचि राख्ने र संसारको मोहजालबाट टाढा रहने आत्माहरुले मोक्ष प्राप्त गर्छन र फेरि जीवन धारण गर्दैनन् । तर जसले मोक्ष प्राप्त गर्दैनन् ती सबै आत्माहरु भने पटक पटक अनेक योनीहरुमा जन्म लिइरहन्छ ।’

सुकरात भन्छन्– ‘वास्तवमा धर्म, दर्शन र चिन्तन मृत्युको अभ्यास हो किनकि मृत्यु केवल आत्मा शरीरबाट छुट्टिएको अवस्था हो । दार्शनिकले चिन्तन गर्ने बेला आफ्नो आत्मालाई शरीरबाट अलग राख्ने गर्छ ।’

तिनताक सुकरात ७० वर्षका थिए ।

सुकरातलाई अदालतले मृत्युदण्डको फैसला सुनायो । यो फैसलाले सुकरात कत्ति पनि विचलित भएनन् । उनी जेलभित्रै पनि आफ्ना विचार र दर्शनको व्याख्या गरिरहन्थे । एकदिन उनका केही शिष्यहरुले उनलाई जेलबाट भाग्ने आग्रह गरे । तर सुकरातले मानेनन् । उनले आफ्ना शिष्यहरुलाई भने– ‘मित्रहरु, म तपाईंहरुको मप्रतिको यो सम्मानलाई आदर गर्छु । पक्कै पनि प्रत्येक व्यक्तिमा जीवनप्रतिको मोह हुन्छ । प्राण फ्याँक्न को चाहन्छ ? तर यसको चिन्ता त ती साधारण मान्छेहरुका लागि हुन् जसले यो नश्वर शरीरलाई नै सबैथोक मान्दछ । आत्मा त अमर छ । अनि किन यो शरीरसँग डराउने ? आत्मा यस्ता शरीरलाई पटकपटक धारण गरिरहन्छ । त्यसैले यो क्षणिक शरीरको रक्षाको लागि भाग्नु उचित होइन । के मैले कुनै अपराध गरेको छु र ? जसले यसलाई अपराध भनिरहेका छन् उनीहरुभित्र अज्ञानको प्रकोप छ । मैले उतिबेलै भनेको हुँ संसारलाई कहिल्यै पनि एउटा सिद्धान्तको परिधिमा बाँध्न सकिँदैन । मानव मस्तिष्कका आफ्ना सीमाहरु छन् । संसारलाई बुझ्नको लागि आफूभित्रको अहमलाई हटाइदिनु पर्दछ । मानिस यो नश्वर काया मात्र होइन, ऊ सजग र चेतन आत्माभित्र बास गर्छ । यसैले हामीलाई आत्मानुसंधानतिर नै प्रवृत्त हुनु जरुरी छ । हामीलाई आफ्नो जीवनमा सत्य, न्याय र इमान्दारीको अवलम्बन गर्नु आवश्यक छ । हामीले यो कुरालाई मानेर अघि बढ्नु पर्छ कि शरीर नश्वर छ । त्यसैले मित्रहरु, तपाईंहरुको सदाशयता र प्रेमको लागि धन्यवाद व्यक्त गर्दै म तपाईहरुको भाग्ने सुझाव अस्वीकार गर्छु ।’

मृत्युदण्डको अघिल्लो राति सुकरातले एउटा सपना देखे । जेलभित्र आफूसँगै रहेका आफ्ना शिष्य क्रीटोलाई सुकरातले भने – ‘क्रीटो, अहिले भर्खरै मैले एउटा निकै रमाइलो सपना देखें ।’

क्रीटोले सोधे– ‘तपाईंले कस्तो सपना देख्नु भयो सुकरात ?’

‘भर्खरै मैले सपनामा सेतो वस्त्र लगाएकी एउटी अति सुन्दरी नारीले मलाई बोलाएर भनिरहेकी थिईन्, ‘आजको तेस्रो दिन तिमी तिम्रो सुन्दर बाटोमा पुग्नेछौ ।’ – सुकरातले क्रीटोलाई भने ।

क्रीटोले भने– ‘सुकरात, यो त अनौठो सपना हो ।’

इसा पूर्व ३९९ को एक साँझ, सुकरातलाई जेलभित्रै हेमलक नामक विष पिलाएर मृत्युदण्ड दिइयो । गिलासबाट विष पिएर उनी एकछिन यताउति डुले । उनले विस्तारै सास फेर्न अप्ठ्यारो हुँदै गइरहेको महसुस गरे । जब उनका गोडाहरु गह्रौं भए र हिँड्न नसक्ने भए, उनले आफ्ना शिष्यहरुलाई भने– ‘म सुतेपछि मेरो जिउ माथि पछ्यौरा ओढाइदिनु ।’

सुकरात बिछ्यौनामा गएर पल्टिए । बिस्तारै उनको पाइताला सुन्नियो । उनका हात र गोडाहरु सुन्निए । आँखाअघि शून्यताले घेर्दै लग्यो । एथेन्सका सारा सहर रातको अँध्यारोमा डुबेका थिए । जेलका पर्खालहरु स्तब्ध थिए ।

‘क्रीटो, ममाथि अस्क्लेपियसको एउटा कुखुरा उधारो बाँकी छ, त्यो तिमीले तिरी दिनू ।’ अन्तिमपल्ट सुकरातले आफ्नो शिष्य क्रीटोसँग भने । अनि उनका आँखाहरु स्थिर भए । त्यसपछि सुकरात बोलेनन् ।

उनका शिष्यहरु उनलाई घेरेर रोइरहेका थिए । जेलको पर्खाल बाहिर रातको गहिरो अँध्यारोमा एउटा जुनकिरीको उज्यालो चम्किरहेको थियो ।

आँबुखैरेनी, २८ भाद्र २०८०

तपाईको प्रतिक्रिया