बिमला तुम्खेवा-
विगत एक दशक यता मात्रै सञ्चार माध्यममा महिलाको बिषयमा आएको समाचारको कन्टेन्टहरुलाई आकलन गर्ने हो भने दशक अघिको तुलनामा धेरै नै परिवर्तन आएको छ । यसको पछाडिको मुख्य कारण पत्रकारिता क्षेत्रमा महिला पत्रकारको उपस्थितिमा उल्लेखनीय रुपमा सङ्ख्या वृद्वि हुनु हो ।
दशकअघि पत्रकारिता पेशाप्रति महिलाको रुचि र उपस्थिति दुवै कम थियो । तर बदलिँदो सामाजिक परिवर्तनसँगै आजको समयमा सार्वजनिक जीवनमा महिलाले दह्रो रुपमा उपस्थिति जनाएर आएका छन् । जसले महिलाको सम्पुर्ण बिकासको निम्ति सकारात्मक भुमिका खेलेको छ । तर यहाँ चर्चा गर्न लागिएको बिषय भने पत्रकारिता पेशामा महिलाको सङ्ख्यात्मक वृद्विसंगै नेपाली समाजमा आएको परिवर्तनहरु के के हुन्, अब आउने निर्वाचनमा सञ्चार माध्यमले के कस्तो भुमिका खेल्न जरुरी छ, आसन्न निर्वाचनमा महिलाको सहभागितालाई स्थायित्व दिन राजनितिक दलहरुले खेल्नुपर्ने सकारात्मक भुमिकाहरु के के हुन् भन्ने नै हो ।
हाम्रो देशको लोकतान्त्रिक व्यवस्थाले महिला सहभागिताले सधैं महत्वपूर्ण स्थान राखेको छ । तरपनि निर्णय र नीति निर्माणको तहसम्म महिलाको उपस्थिति सीमित छ । यसको मुख्य कारण भनेको पितृसत्तात्मक संरचना नै हो । यसको निम्ति सञ्चार माध्यमले निरन्तररुपमा सकारात्मक भुमिका खेल्न जरुरी छ भने अब आउने निर्वाचनमा महिलाको उपस्थितिलाई स्थायित्व दिन मुख्य जिम्मेवारी राजनीतिक दलहरूको हो । त्यसका लागि निम्न सकारात्मक कदमहरू उठाउन आवश्यक छ । यसका निम्ति क्रमश समान उम्मेदवारीको अवसर सुनिश्चित तथा दलहरूले महिला उम्मेदवारहरूको संख्या बढाउन आन्तरिक नीतिहरू लागू गर्नुपर्छ। अहिले भएको कोटा प्रणालीले पनि महिलालाई नेतृत्व तहमा पुरयाउन सक्छ । नेतृत्व, संवाद, योजना निर्माण र निर्वाचन प्रक्रियामा महिलाको सहभागीलाई बढाउन पनि सञ्चार माध्यमको निरन्तर पहल जरुरी छ । यो बेला सञ्चार माध्यमको भुमिका अझ बढी छ ।
बिगतमा महिला नेताहरुको निम्ति मिडिया त्यति सकारात्मक थिएन , महिलाले यो समाजमा आफ्नो अस्तित्व निर्माणको निम्ति गरेको संघर्षलाई मात्रै सञ्चार माध्यमले सकारात्मक रुपमा राखिदिएको भए नेपाली समाजमा महिलाको अवस्था निक्कै माथि पुगीसक्ने थियो । कतिपय अवस्थामा सञ्चारमाध्यममै आएको गलत समाचारको कारण महिला दोहोरो तेहोरो मानसिक हिंसा खप्न वाध्य छन् तर यसतर्फ समाज र सरोकारवालाहरु त्यति सचेत भएको देखिन्दैन । मलाई लाग्छ राजनितिमा आउन चाहने महिलाहरुको निम्ति सकारात्मक र सहयोगी वातावरण सिर्जना गर्नु सञ्चार माध्यम र दल दुवैको साझा जिम्मेवारी हो । दलभित्र महिलालाई नेतृत्वदायी भूमिकामा प्रोत्साहन दिनु, लैङ्गिक भेदभाव, धम्की वा हिंसाबाट सुरक्षा सुनिश्चित गर्नु र समावेशी नीति लागू गर्नु आजको समयमा जरुरी छ ।
नेपालको राजनिति खर्चिलो छ। महिला राजनितिमा नटिक्नुको मुख्य कारण सम्पतीमा पहुँच नहुनु पनि हो । महिला उम्मेदवारलाई प्रचार–प्रसार, यातायात र प्रचार सामग्री जुटाउन गाह्रो छ । दोहोरो भुमिका र राजनितीमा आउन चाहने आफुमाथि चरित्रलाई माध्यम बनाएर आलोचनात्मक टिप्पणी गरिने भयकै कारण महिला राजनितिमा आउन धक मान्ने गर्दछन् । यस्तो अवस्थामा राजनितिमा सफल महिला नेताहरूको उदाहरण साझा गरेर नयाँ महिलाहरुलाई प्रेरित गर्न सञ्चार माध्यमले भुमिका खेल्नुपर्छ । नेपाली समाजमा अहिले पनि महिलाले सार्वजनिक जीवनमा आउन चाहे परिवार सधैं जोखीममा हुने कारण धेरै क्षमतावान महिला राजनितीमा आउन चाहदैनन् । आसन्न निर्वाचनमा क्षमतावान महिलाहरुलाई कसरी बढि भन्दा बढि राजनितिमा सहभागी गराउन सकिन्छ भन्ने तर्फ भुमिका खेल्न जरुरी छ । सामाजिक समर्थनको वातावरण निर्माण गर्नु दलहरूको अर्को महत्वपूर्ण कर्तव्य हो ।
सञ्चार सम्बन्धि अध्ययन अनुसार नेपाली सञ्चार जगतमा विषय÷स्रोत÷उद्धृत व्यक्तिमा महिला उपस्थितिको दर लगभग ८% मात्रै थियो, तर त्यही अवस्था २०१८ मा गरिएको मोनिटरिङमा मात्रै ९% समाचारका बाइलाइन महिला पत्रकारहरूका थिए र १३ % मात्र महिलासँग सम्बन्धित स्रोत समावेश थियो । तर २०२० को ग्लोबल मिडिया मोनिटरिङ प्रोजेक्ट अनुसार १३% बाट बढेर २७% पुगेको पाइएको छ । जसले गर्दा समाचारको बिषयबस्तुमा व्यापक परिवर्तन आएको छ । अबको दिनमा अधिकार, संरचना र सम्भावनामा आधारित विषयवस्तु निर्माण गर्न आवश्यक छ । अधिकारमा आधारित र नीतिगत विषयवस्तु संविधान, कानुन र नीतिले महिलालाई दिएका अधिकार सरल भाषामा व्याख्या गर्ने सामग्री सम्पत्ति अधिकार, नागरिकता, रोजगारी, प्रजनन स्वास्थ्य, हिंसा विरुद्धका कानुन कसरी प्रयोग गर्ने भन्ने व्यवहारिक रिपोर्टिङ नीति कार्यान्वयनमा भएका कमजोरी, दलित, जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक महिलाका प्रत्यक्ष , ग्रामीण र सीमान्तकृत महिलाका जीवनलाई उजागर गर्ने समाचारहरु लेखीनुपर्छ ।
नेतृत्व, क्षमता र सम्भावनामा केन्द्रित सामग्री राजनीति, अर्थतन्त्र, विज्ञान, पत्रकारिता, कला, खेलकुदमा रहेका महिलाका संघर्ष र उपलब्धि नेपाली समाजले पाएको सफलता हो । पितृसत्तात्मक सोचको आलोचनात्मक विश्लेषण गरिएका समाचार सशक्तीकरणलाई टकराव होइन, यो समाज रूपान्तरणको नमुना हो । आवश्यकता भनेको समाधानमुखी र अनुगमन पत्रकारिता समस्यासँगै सम्भावित समाधानमुखी रिपोर्टिङ हुन जरुरी छ । नेपाली राजनितीमा महिलाको उपस्थिति र योगदानलाई इतिहासका प्रत्येक कालखण्डमा फर्केर हेर्दा अर्थपूर्ण बलिदान र सहभागिता स्पष्ट देखिन्छ ।
तर दुर्भाग्यवश, राज्य र समाजले कहिल्यै पनि महिलाको योगदानलाई न्यायोचित र उचित ढंगले मूल्याङ्कन गर्न सकेको छैन । २००७ सालदेखि २०४६ सालको जनआन्दोलन, २०६२,०६३ को जनआन्दोलन हुँदै माओवादी जनयुद्धसम्म महिलाले गरेको संघर्ष र पुर्याएको योगदान अनि देखाएको साहस नेपाली समाजमा मात्र नभएर दक्षिण एसियामै उदाहरणको रुपमा लिने गरिन्छ ।
नेपाली राजनीतिक इतिहासका हरेक निर्णायक क्षणमा महिलाको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहँदै आएको छ । २००७ सालको प्रजातन्त्र आन्दोलनमा महिलाले गोप्य बैठक सञ्चालन देखि प्रचार–प्रसार, राजनीतिक सामग्री वितरणसम्म महत्वपूर्ण भूमिका खेले । साहना प्रधान मंगलादेवी सिंह, शैलजा आचार्य जस्ता नेतृहरूले जेल सजाय भोग्दै प्रजातन्त्र ल्याउन योगदान गरे ।
२०४६ सालको जनआन्दोलनमा महिलाको सहभागिता निर्णायक रह्यो । विद्यार्थी, गृहिणी, कर्मचारी सबैले सडकमा उत्रिएर बहुदलीय व्यवस्था स्थापनामा हातेमालो गरे यो आन्दोलनमा महिलाको भुमिका अत्यन्तै महत्वपुर्ण छ । यस क्रममा कैयौं महिलाले गिरफ्तार र यातना सहनु परेको थियो ।
दस वर्षे माओवादी जनयुद्धमा झण्डै ३०–४० प्रतिशतसम्म महिला प्रत्यक्ष रूपमा सहभागी भए । गाउँघरका साधारण युवतीदेखि शिक्षित महिला नेतृसम्मले बन्दुक बोकेर युद्ध मैदानमा उत्रिनु उनीहरूको योगदानलाई अझ विशेष बनाउँछ । तर त्यही युद्धमा हजारौं महिला आन्तरिक विस्थापित, विधवा र हिंसापीडित पनि भए जसलाई नेपाली राजनिति र सञ्चार माध्यमले सम्मानजनकरुपमा सम्बोधन नै गर्न सकेको छैन । २०६२/०६३ को दोस्रो जनआन्दोलनमा महिलाले अग्रपंक्तिमा उभिएर राजतन्त्र अन्त्य र गणतन्त्रको बाटो खुलाउन निर्णायक दबाब सिर्जना गर्नुको साथै सडक प्रदर्शन, मानव सञ्जाल र पत्रकारितामा महिलाले देखाएको सक्रियता परिवर्तनलाई सफल बनाउन टेवा पुरयायो । यसरी हेर्दा, प्रजातन्त्रदेखि गणतन्त्रसम्मको यात्रामा महिलाको सहभागिता र बलिदान अपरिहार्य रहेको छ । तर यी योगदानलाई इतिहासमा उचित स्थान दिन नसकिएको तथ्यले अब पनि हाम्रो समाज र सञ्चारलाई गम्भीर प्रश्न गर्छ । महिलाले पुर्याएको योगदानलाई वास्तविक मूल्याङ्कन गर्नु आजको आवश्यकता हो ।
त्यसो त बिगतमा राणा शासन विरुद्धको आन्दोलनमा पुरुषहरूसँगै महिलाले आन्दोलन गरेका थिए । साहाना प्रधान,मंगलादेवी सिंह जिवन्त ईतिहास हुन् । २००७ साल, २०३६ सालको जनमत संग्रह नेपालको सबै परिवर्तनको आन्दोलनहरुमा महिला पुरुषसँगै सडकमा उत्रिएर जनतामा चेतना जगाउनेदेखि २०४६ सालको जनआन्दोलन मा विद्यार्थी, शिक्षक, कर्मचारीसँगै साधारण गृहिणीहरू समेत सडकमा आएको दृश्य अहिले पनि आँखैमा छ । हरेक आन्दोलनका क्रममा धेरै महिलाले गिरफ्तार र यातना सहनु परेको छ । माओवादी जनयुद्धमा ३०–४०% महिला सहभागिता रहेको तथ्याङ्कहरुले भन्छ । हजारौं महिलाले बन्दुक बोके, नेतृत्व तहमा भूमिका खेले, युद्वको संग्राममा सगै लड्नेदेखि वैचारिक बहसहरुमा उल्लेख्य भूमिका खेले ।
महिलाको योगदान र संघर्ष सडक आन्दोलन, भूमिगत संघर्ष, संगठन निर्माण, प्रचार प्रसार, राजनीतिक नेतृत्व सबै तहमा समान छ तर के यी योगदान र इतिहासलाई हाम्रो सञ्चारमाध्यमले उचित रूपमा सम्मानजनक स्थान दिन सकेको छ ? अब यी बिषयमा गहिरीएर पुनबिचार छलफल गर्दै अब हुने निर्वाचनमा कसरी बढि भन्दा वढि महिलालाई समेट्न सकिन्छ भन्नेतर्फ सञ्चार माध्यम सचेत हुन जरुरी छ । आजको दिनमा विश्वसामु यो देशले जसरी महिलालाई राष्ट्रपति , प्रधान न्यायधीश , सभामुख लगायत त्यस्ता धेरै स्थानहरुमा अग्रस्थानमा पुर्यायो । अब सबै दल र समाजको संरचनाहरुमा समान सहभागिता र अर्थपुर्ण उपस्थीतिको निम्ति पनि सञ्चार माध्यमले ठुलो भुमिका खेल्न जरुरी छ । यी तमाम बिषयमा गहिरीएर पुनबिचार छलफल गर्दै अबको निर्वाचनमा कसरी बढि भन्दा वढि महिलालाई समेट्न सकिन्छ भन्नेतर्फ सञ्चार माध्यम सचेत हुन जरुरी छ ।




