क्रान्ति सुब्बा

हिजबुल्लाह वा पार्टी अफ गड (अल्लाहको पार्टी ) मध्यपूर्वको सबैभन्दा महत्त्वपूर्ण इस्लामवादी आन्दोलनहरू मध्ये एक हो। अर्थात इरानको इशारामा संचालित मध्यपूर्वको सबैभन्दा शक्तिशाली अर्धसैनिक बल सहितको ईस्लामिक आन्दोलन हो हिजबुल्लाह । इरानी क्रान्तिका नेता खोमेनीद्वारा रोजिएको नाम हो हिजबुल्लाह। लेबनानको राजनीतिक पार्टी समेत रहेको यो संगठन हाल जारी मध्य पुर्वको द्वन्द्वका कारण चर्चामा आएको छ। यसले लेबनानमा विभिन्न  टिभी स्टेशन , क्लिनिक , स्कूल सहित कल्याणकारी सेवाहरुको व्यापक सञ्जाल पनि संचालन गर्दछ। यसले विश्व व्यापी  चलाएको विशाल वैध, अवैध व्यापारिक संजाल अन्तर्गत करोडौं डलरको चलखेल हुने गर्दछ।

स्रोतसाधनको विस्तृत दायरा भएका कारण साथै इरान र सिरियासँग यसको घनिष्ठ सम्बन्ध रहेकाले हिजबुल्लाहले आफ्नो ४० वर्षको अस्तित्वमा धेरै चुनौतीहरूलाई पार गर्दै आएको छ। यो संगठनको विकास हुनमा विशेषगरी आरम्भिक काल ताका  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्सले महत्वपूर्ण भूमिका खेलेको थियो र तेहरानले त्यसबेलादेखि नै एक प्रमुख प्रोक्सीको रूपमा यसलाई लिदै आएको छ। मुलतः हिजबुल्लाह एक क्षेत्रीय खेलाडी हो र यसका विशेषज्ञहरूलाई इराकका शिया मिलिशियालाई प्रशिक्षण दिन र यमनका हुथी विद्रोहीहरूसंग काम गर्न पठाइएको थियो ।

इजरायल–लेबनान सीमामा आफ्नो मुख्य आधार रहेको यो समूह हमास–इजरायल युद्धमा वाइल्डकार्ड रूपी  खेलाडी बन्न सक्ने र व्यापक क्षेत्रीय द्वन्द्व निम्त्याउन उत्तरदायी बन्न सक्ने भएकोले यसबारे व्यापक चर्चा भैरहेको छ।
अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायली हवाई आक्रमणबाट गाजामा ८ हजार भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ जसमा ३,३०० भन्दा बढी बालबालिका परेका छ्न।

हिंसाको इतिहास

सन् १९८२ मा  कट्टरपन्थी शिया धर्मगुरुहरूको एक समूहले मुख्यतया लेबनानमाथि भएको  इजरायली आक्रमणविरुद्ध लड्न यस संस्था जन्माएका हुन। तर  हिजबुल्लाह लेबनानमा इजरायलका विरुद्ध लड्ने दस्तामा मात्र सिमित रहेन। मध्यपुर्वमा पश्चिमा प्रभावलाई निस्तेज तुल्याउने कार्यमा समेत लागेको यस संस्थाले आतंकको पर्याय बन्दै अन्तर्राष्ट्रिय स्तरमा ठुल्ठुला रक्तरंन्जीत हिंसात्मक कृत्य घटाउन अग्रणी भुमिका निभाउन थाल्यो ।
आतङ्कवाद विज्ञको चक्षुमा त यिनिहरु सामूहिक हताहती र आत्मघाती आक्रमणका अग्रदुतका नै हुन।

लेबनानबाट इजरायललाई लखेटेर लेबनानमा ईस्लामिक गणतन्त्र स्थापना गर्ने सपनाका साथ स्थापित हिजबुल्लाहलाई समयान्तरमा अमेरिका, इजरायल , केही अरबिक र अन्य देशहरूले आतंकवादी संगठन घोषणा गर्‍यो । र हालमा लेबनानको अधिकांश शिया क्षेत्रहरू: दक्षिणी बेरुत, दक्षिणी लेबनान र पूर्वी बेका घाटीलाई नियन्त्रण गरेर यो संगठन बसेको छ।
हिजबुल्लाह र प्यालेस्टाइनी गुट हमास बीचको सम्बन्ध सदावहार सदभावपुर्ण भएको पाइदैन  । हमास सुन्नी मुस्लिम ब्रदरहुड आन्दोलनको एक शाखा हो भने हिजबुल्लाहको वैचारिक आधार इरानी क्रान्ति हो ।

सिरियामा गृहयुद्ध चलेको समयमा हमासले बशर अल असदको सरकारलाई समर्थन गर्न अस्वीकार गरेपछि यी दुई समूह बिच दरार आएको थियो । तर दुवै समुहका प्रतिनिधि र इरानी सुरक्षा अधिकारीहरू बीच नियमित रूपमा आपसी परामर्श भने हुने गर्दछ। यी जम्मै तप्काहरु इजरायललाई पृथ्वीबाट नै गलहत्याउने षडयन्त्रमा पुर्ण समर्पित छन् । र कुनै पनि मानेमा अरब वा मुस्लिम राज्यसंग इजरायलको सम्बन्ध सामान्य भएको फुटेको आँखाले समेत देख्न चाहदैनन् ।

प्रत्यक्ष संलग्नताजनित प्रमाणको अभाव भएता पनि अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको विभत्स हमलामा हिजबुल्लाहको प्रभाव देख्छन् विज्ञहरु।
‘हमासको हिजबुल्लाहसँग सम्पर्क थियो भन्ने कुरामा कुनै शंका छैन । यो सीधै हिजबुल्लाह प्लेबुकबाट आएको एउटा खेल  थियो,” वासिङ्टन इन्स्टिच्युट फर नियर इस्ट पोलिसीका म्याथ्यु लेविटले सिधै  भनेका छन् ।

हुन त लेबनानको यस हिजबुल्लाह मुभमेन्टले इजरायलविरुद्ध लड्न पूर्ण रुपमा तयार रहेको चेतावनी दिदै आएको छ।  प्यालेस्टाइनी सशस्त्र समूह हमासले अक्टोबर ७ मा करिब एक हजार चार सय व्यक्तिको ज्यान लिने विभत्स कत्लेआम घटाएपछि दिनहुँ जसो लेबनान र इजरायलको उत्तरी सिमा क्षेत्रमा दुई पक्ष बीच  गोलाबारी र रकेट प्रहार गरागर गर्ने क्रम सघन हुदै गएको छ। यसै मेसोमा हिजबुल्लाहले संग्रामको चेतावनी जारी गर्न छोडेको छैन।

अक्टोबर १७ तारीख मंगलबार लेबनानबाट प्रहार गरिएको एन्टी ट्यांक क्षेप्यास्त्र उत्तरी इजरायलको मेटुला शहरमा खसेको थियो । तुरुन्तै इजरायली डिफेन्स फोर्सेजले पनि  तोप र हवाई आक्रमण गरेर जवाफ दिएको थियो  । सीमाभन्दा दक्षिणका दर्जनौँ इजरायली गाउँखाली गरिएका थिए ।

हिंसा बढ्दै जाँदा हिजबुल्लाहले आफ्ना नेता र उनीहरूका इरानी समर्थकको इसारामा इजरायलविरुद्ध नयाँ मोर्चा खोल्न सक्ने पर्यवेक्षकहरूको आशंका छ। यो परिदृश्यले पक्कै पनि गाजामा रहेका हमास र संकट ग्रस्त सर्वसाधारणको तनाव कम गर्न सक्ला अपितु त्यस्तो अवस्था आएमा यो लेबनानका लागि विनाशकारी र इजरायलका लागि महँगो हुनेछ, विश्लेषकहरूले अल जजिरालाई बताए।
त्यसमाथि अझ यदि हिजबुल्लाहका नेताहरू (सम्भवतः तेहरान पनि) ले वर्तमानमा लो प्रोफाइलमा रहेकोे शत्रुतालाई थप उचाइ दिने पक्षमा निर्णय गर्‍यो भने यसले इजरायललाई दुई वटा युद्ध मोर्चा संग जुध्नु पर्ने स्थितिमा पुर्याउनेछ जुन इजरायलको लागि थप रक्तपातपूर्ण र कठिन हुने निश्चित छ। र सम्भवतः उक्त युद्धमा सिरिया, इरान, अमेरिका र अन्य खेलाडीहरू पनि संलग्न हुनेछन् फलतः यो युद्ध क्षेत्रीय द्वन्द्वमा परिणत हुनेछ।

हिजबुल्लाहको सैन्य क्षमता बारे केही कुरा

के हिजबुल्लाहले पहिले पनि इजरायलसँग युद्ध लडेको थियो ?

जुलाई २००६ मा हिजबुल्लाहले आफ्नो सीमामा दुई जना  इजरायली लडाकुहरूलाई पक्रेको थियो जसको प्रतिक्रिया स्वरूप इजरायलले व्यापक सैन्य कार्वाही  सुरु गरेको थियो । यो युद्ध ३४ दिनसम्म चलेको थियो जसमा १,१०० जना भन्दा बढी लेबनानी नागरिक र १६५ जना इजरायली नागरिकको मृत्यु भएको थियो।

यस द्वन्दमा कसैको पनि स्पष्ट जीत हुन सकेन। तर लेबनानी नागरिकहरूले अधिक क्षति व्यहोर्नुपरेको थियो । अन्तर्राष्ट्रिय रेडक्रस समितिका अनुसार इजरायलको हमलाबाट  लेबनानको करिब ३० हजार घर, १०९ वटा पुल र ७८ वटा स्वास्थ्य संस्था ध्वस्त या क्षतिग्रस्त भएको थियो ।

वासिङ्टन डिसी निवासी थिंक ट्यांक एवं एटलान्टिक काउन्सिलसंग आबद्ध हिजबुल्लाह विज्ञ निकोलस ब्लानफोर्डले दिएको जानकारी अनुसार त्यसबेला इजरायलमाथि प्रहार गर्न यो समूहसँग तीन हजारदेखि पाँच हजार फाइटर र छोटो दूरीका क्षेप्यास्त्रहरु थिए ।

तर पछिल्लो १७ वर्षमा हिजबुल्लाहले आफ्नो सैन्य क्षमतामा उल्लेखनीय सुधार गरेको छ ।

ब्लानफोर्डले अल जजिरासँग भने, ‘मलाई लाग्छ, हिजबुल्लाहसँग सन् १९४८ मा जब यहूदी राज्यको स्थापना भयो तब यता इजरायललाई सबैभन्दा ठूलो क्षति पुरयाउने हैसियत संचय गरिसकेको छ ।

आजभोलि  हिजबुल्लाह कत्तिको शक्तिशाली छ?

ब्लानफोर्डका अनुसार अहिले हिजबुल्लाहसँग कम्तीमा ६०,००० लडाकुहरू छन्, जसमा पूर्ण-कालिक  र आरक्षित (रिजर्भिस्ट) लडाकु पनि समावेश छन्। यो समूहले क्षेप्यास्त्रको भण्डार पनि बढाएको छ । सन २००६ मा क्षेप्यास्त्रको संख्या १४ हजार थियो भने अहिले एक लाख ५० हजार पुगेको उनले बताए ।

हिजबुल्लाहसँग छोटो दुरीका मिसाइलका अलावा  ३०० किलोमिटर (१८६ माइल) को दूरीसम्म प्रहार गर्ने क्षमता भएको इरान उत्पादित सटीक लक्ष्यभेदी क्षेप्यास्त्रहरू पनि छन्। ब्लानफोर्डको बुझाइमा हिजबुल्लाहसंग एउटा यस्तो ‘विशेष लडाकु बल’ पनि छ जसले यदि युद्ध नै भइहालेमा इजरायलको भित्री तहसम्म दखल पुर्याउने क्षमता राख्दछ।
उनले अल जजिरासँगको कुराकानीमा भने, ‘इजरायली अधिकारीहरूले विगत केही वर्षदेखि हिजबुल्लाहलाई आफ्नो प्राथमिक खतरा मानेका छन्।´

मिडल इस्ट इन्स्टिच्युटका कन्फ्लिक्ट एन्ड रिजोलुसन प्रोग्रामका निर्देशक रान्डा स्लिमले पनि अल जजिरालाई बताए अनुसार सिरियाली युद्धले यो समूहको रणकौसलमा सुधार ल्याउन भरपुर सहयोग गर्‍यो । सिरियाली युद्धमा  हिजबुल्लाहले राष्ट्रपति बशर अल असदको पक्षमा लडेका थिए ।

“सिरियामा भएको त्यो लामो युद्धमा उनीहरूले शहरी युद्ध र खुफियातन्त्रको मामलामा नयाँ कौशल हासिल गरे। उनीहरूको गुप्तचर प्रणालीमा निकै सुधार आएको छ,’ उनले अल जजिरासँग भनिन्।

हिजबुल्लाह र इस्राएलबीच युद्ध हुने सम्भावना कत्तिको छ?

इजरायल र हिजबुल्लाहबीच यदाकदा सीमा एरियामा हिंसा घट्नु असामान्य होईन तर अहिलेको अवस्था ज्यादै गम्भीर छ भन्छिन  मिडल इस्ट इन्स्टिच्युटसंग आबद्ध स्लिम। उनका अनुसार हिंसा बढ्ने खतरा प्रचण्ड  छ।

हिजबुल्लाह र इरानले गाजामा भएको ज्यादतीको स्तरको आधारलाई नियालेर  इजरायलविरुद्ध दोस्रो मोर्चा खोल्ने निर्णय गर्न सक्ने उनले बताइन्। यदि हमास पत्ता साफ हुने स्थितिको नजिक पुगेमा यस युद्धमा हिजबुल्लाहको संलग्नता हुन सक्ने उनको आँकलन छ।

हिजबुल्लाह अखडा , लेबनान

“इरानले आफ्नो ‘प्रतिरोध अक्ष’ मजबुत  बनाउन समकक्षी खेलाडीहरूलाई खुकुलो तवरले एक ढिक्का बनाउन सफल भएको छ र उनीहरुको अवस्था अहिले एक एकीकृत मेशिन जस्तै छ” स्लिमले भनिन। “हिजबुल्लाहले यस बारेमा बोली पनि सकेको छ । यसलाई उसले  मोर्चाहरूको एकीकरण भनेको छ। यसको काम नेटोको आर्टिकल ५ जस्तै छ : एकमाथि आक्रमण सबैमाथिको आक्रमण हो। तर विगतको अवस्था भने यस्तो थिएन।

विद्यमान जोखिमका बावजुद पनि इरान र हिज्बुल्लाहले सकेसम्म संयमता अपनाउनेछ ब्लानफोर्डको विश्वासमा । उनका अनुसार यदि इरानमाथि आक्रमण गर्ने इजरायल र अमेरिकाको कुनै पनि सम्भावित योजना भएमा त्यसको विरुद्ध सर्वप्रथम प्रमुख प्रतिरोधक भएर हिजबुल्लाह उभिनेछ ।
ब्लानफोर्डले भने, ‘यदि लेबनानमा युद्ध भयो भने हिजबुल्लाह ध्वस्त हुनेछ र इरानले प्रतिरोधको प्रमुख माध्यम गुमाउनेछ ।
यद्यपि, उनले युद्धको सम्भावनालाई इन्कार भने गरेका छैनन् । इरानले इजरायलमाथि आक्रमण गर्ने सबैभन्दा उपयुक्त समय अहिले नै भएको ठानेमा इजरायलविरुद्ध आफ्ना प्रोक्सीहरू सक्रिय पार्न सक्ने उनले बताए ।

अहिले सिर्जित द्वन्दबारे अमेरिकाको सचेतता अर्थपूर्ण  देखिन्छ । त्यसैले इरान समर्थित समूहबाट इजरायल माथी हुने संभावित आक्रमणलाई रोक्न अमेरिकाले पूर्वी भूमध्यसागरमा दुईवटा विमानवाहक पोत पठाएको छ । ब्लानफोर्डले भने, ‘अमेरिकी कुटनीतिक प्रयास र सेनाको फाइदा उठाउँदै हिजबुल्लाहमाथि इजरायल आफैले पहिला आक्रमण गर्न पनि सक्छ।´

के हिजबुल्लाहले इजरायललाई हराउन सक्छ?

`हिजबुल्लाहसँग ‘इजरायललाई भयानक मूल्य चुकाउने’ स्तरमा पुर्याउने क्षमता छ, तर अझै पनि यो शक्ति इजरायलको समतुल्य अवस्थामा भने पुगेको छैन,´ स्लिमले  भनिन् ।
उनको विश्वासमा यो समूहले इजरायलमाथि आक्रमण गरेर बेन-गुरियन विमानस्थल र प्रमुख विद्युत ग्रिड जस्ता देशका महत्वपूर्ण पूर्वाधारहरूलाई  ध्वस्त पार्न सक्छ । तर अन्तमा इजरायलले जवाफी हमला स्वरूप लेबनानको अधिकांश भागलाई भग्नावशेषमा परिणत गराइदिन सक्छ ।

‘सिरियाको युद्ध भने फरक थियो । हिजबुल्लाह त्यसबेला केही अरब देशको आर्थिक सहयोगमा संचालित विभिन्न मिलिशियाहरू विरुद्ध लडिरहेको थियो तर इजरायली सेनाको शक्तिशाली मेशिनको तुलनामा हिजबुल्लाहको हैसियत नगण्य नै थियो ,” स्लिमले भनिन् ।

कुनै पनि किसिमको व्यापक द्वन्द्वमा इजरायलले सम्भवतः “दहिया डक्ट्रिन” लाई प्रयोग गर्नेछ। हिजबुल्लाको गढको रूपमा परिचीत दक्षिण बेरुतमा पर्ने एउटा नागरिक वस्तीको नाममा यस सिद्धान्तको नामाकरण भएको हो। जसले नागरिक र सैन्य पूर्वाधारलाई लक्षित गरि असमान स्तरको बल प्रयोग गर्दछ।
लेबनानी अमेरिकन युनिभर्सिटीका राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय मामिलाका एसोसिएट प्रोफेसर इमाद सलामीले हिजबुल्लाह विरुद्धको युद्धले आर्थिक र राजनीतिक सङ्कटबाट गुज्रिरहेको लेबनानमा गृहयुद्ध निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

अधिकांश शिया लेबनानी नागरिक उत्तरमा रहेका बहुसंख्यक क्रिश्चियन र सुन्नी शहरमा बसाइँ सरेमा त्यसले साम्प्रदायिक तनाव निम्त्याउन सक्ने तर्क उनले पेश गरेका छन् । समान किसिमको दृष्टिकोण अन्य पर्यवेक्षकहरुले पनि पेश गरेका छन् ।
हिजबुल्लाहका आलोचक र विरोधीहरूले पनि ऐन अवसरमा हिजबुलाह समूह र यसका कथित समर्थकहरूलाई पहिले नै संकटमा परेको देशलाई युद्धमा तानेको आरोप लगाउन सक्छन्।
तर हिजबुल्लाहसंग ‘यदि युद्ध भयो भने त्यो सन् २००६ को जस्तो भने हुनेछैन,’ सलामीले अल जजिरासँग भने। “घरेलु स्तरमा समुदायहरूबीच लडाइँ र प्रतिरोध हुनेछ। “

केही विश्लेषकहरूको विश्वास अनुसार हिजबुल्लाह, इजरायलको समुल विनाशको लागि पुर्ण रूपमा समर्पित भए तापनि आफ्नो राजनीतिक र व्यापक व्यापारिक हितलाई दाउमा राखेर टोटल वारमा जाने जोखिम उठाउन सक्ने अवस्थामा छैन । गुमाउनु पर्ने धेरै कुरा उसंग भएकोले उसले यस्तो कदम उठाउनु आत्मघाती हुनेछ।  त्यसो त हिजबुल्लाह केही समय यता देखि छोटो र सीमित स्तरको युद्ध भड्काउन उद्यत भैरहेको तर ठूलो पैमानाको द्वन्द्वबाट बच्न चाहेको बुझिएकछ । हालको तनावपूर्ण वातावरणमा जतिसुकै चातुर्यातापुर्ण गणितका साथ निकालिएको निष्कर्ष ठानेर उठाइएको कदम  गलत साबित हुनसक्ने जोखिम उत्तिकै छ भन्ने कुरामा सबै सहमत छन्।
अर्कोतिर हिजबुल्लाह र यसका संरक्षक तेहरानलाई तर्साउने स्पष्ट मनसायका साथ अमेरिकाले हालैमा पूर्वी भूमध्यसागरमा तैनाथ पारेको बिशाल अमेरिकी सैन्य शक्ति अहिलेको तरल स्थिति निर्माण गर्ने अर्को अतिरिक्त कारक तत्व भएर बसेको छ।
“कसैले पनि, इभन एक सार्वभौम राष्ट्रले समेत दुई विमान वाहक समूहको उपस्तिथिलाई  बेवास्ता गर्न सक्दैन । हुन त यसले उनीहरूलाई स-साना आक्रमणहरू गर्नबाट रोक्दैन तर यसले हिजबुल्लाहलाई कुनै पनि ठूलो किसिमको आक्रमणको योजना बुन्नु अघि  धेरै सावधानीपूर्वक सोच्नुपर्ने बाध्यतामा भने अवश्य पार्नेछ,” लेविटले भने।

अक्टोबर १० ,पुर्वी भुमध्य सागर पुगेको अमेरिकी एयरक्र्याफ्ट क्यारियर – यूएसएस जेराल्ड आर फोर्ड

गाजामा यदि इजरायली सैनिकले सन्निकट अपेक्षित स्थल आक्रमण सुरु गर्‍यो भने  के हुन्छ भन्ने अर्को प्रश्न त छ्दैछ। त्यसो त केहि मिडियाले हमासको पतन पस्चात गाजा कसले चलाउछ भन्ने प्रश्न पनि  उठाउन थालेका छ्न।
तर  हिजबुल्लाहको आँखामा खास खेल अझै शुरु भएको छैन । हिजबुल्लाह प्रवक्ताले अहिलेसम्मको आक्रमणलाई इजरायललाई दिएको  `चेतावनी’ मात्र हो भनेको छ। हिजबुल्लाहका वरिष्ठ अधिकारीहरूले त आफूहरू चुप लागेर नबस्ने कुरा बारम्बार दोहोर्याउदै आएका छन् । इरानका विदेशमन्त्रीले  ‘अन्य कतिपय मोर्चाहरुमा युद्धको गति रोक्न नसकिने चरणमा पुगेको’ चेतावनी दिइसकेका छन्।


अक्टोबर ७ को आक्रमणपछि जसरी परिस्थितिमा नाटकीय परिवर्तन आएको छ त्यसरी नै हमास वा हिजबुल्लाह जस्ता संगठनहरूको व्यवहारबारे परम्परागत पुर्व बुझाइ असत्य साबित भैसकेको छ। अतएव उनीहरूले भविष्यमा कस्ता घातक निति अपनाउछ्न भन्नेबारे पुर्वानुमान गर्न अति कठिन भएको छ र खतराको पेन्डुलम विश्व सामु अहिलेको हल्लिरहेकोछ।

तपाईको प्रतिक्रिया